• ८ वैशाख २०८१, शनिबार

विद्यालयको लापरबाही, धरापभित्र पढ्दै विद्यार्थी

blog

झ्याल भत्किएर जीर्ण बनेको भवनभित्र अध्ययन गर्दै विद्यार्थीहरू । तस्बिर: गोरखापत्र

राजकुमार भट्टराई 

खोटाङ, साउन २५ गते । खोटाङको एक विद्यालयमा विद्यालय प्रशासन र व्यवस्थापन समितिको लापरबाहीको कारण विद्यार्थी जीर्ण भवन (धरापभित्र) बसेर अध्ययन गर्न बाध्य भएका छन् । जिल्लाको केपिलासगढी गाउँपालिका–१ फेदिस्थित पत्करु आधारभूत विद्यालयमा नयाँ भवन बने पनि पुरानै भवनमा विद्यार्थीलाई राखिएको पाइएको छ ।

कक्षा ८ सम्म पठनपाठन भइरहेको उक्त विद्यालयको २–५ कक्षा सम्मका विद्यार्थीहरू जीर्ण भवनमा बसेर अध्ययन गरिरहेका छन् । कक्षा ५ पठनपाठन हुने कोठाको झ्याल मक्किएर भत्किएको छ । झ्याल भत्किएर जीर्ण अवस्थामा रहेको कोठाभित्र विद्यार्थी अध्ययन गरिरहेको दृश्य केही दिन यता सामाजिक सञ्जालमा चर्चित भएको छ । उक्त तस्बिर सोही विद्यालयमा कार्यरत शिक्षक प्रकाशमान तामाङले लगाएका हुन् । तस्बिर हेर्दा जुनसुकै समयमा भवन पूरै भत्किन सक्ने देखिन्छ । निर्माण भएको करिब १५ वर्ष भएको उक्त भवनको झ्याल गत असारमा मक्किएर भत्किएको विद्यालयका प्रधानाध्यापक देशकुमार राईले बताउनुभयो । 

विद्यालयको तीनकोठे नयाँ भवन केही वर्ष अघि निर्माण सम्पन्न भएको छ । अर्को चारकोठे नयाँ भवन निर्माणाधीन अवस्थामा छ । नयाँ बन्दै गरेको भवनको सामान त्यस भवनमा राखिएकाले विद्यार्थीहरू पुरानै भवनमा रहेको प्रधानाध्यापक राईको भनाइ छ । बनिसकेको र हाल बन्दै गरेको भवन अहिले भएको विद्यालयभन्दा थोरै टाढा रहेकाले निर्माण सम्पन्न भएपछि एकैचोटी विद्यार्थी सार्ने योजना रहेको उहाँको भनाइ छ । 

गत आर्थिक वर्ष २०७९-०८० मा राष्ट्रपति शैक्षिक सुधारको रु. ३६ लाख रकमबाट चारकोठे भवन निर्माणाधीन छ । भवन निर्माणका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकराम राईले जिम्मा लिएको प्रधानाध्यापक राईको भनाइ छ । तर असार मसान्तमा निर्माण सम्पन्न हुनुपर्ने भवन अहिलेसम्म सकिएको छैन । एउटा भवन समयमै सम्पन्न नगर्नु र अर्को बनिसकेको भवनमा सामान राख्नु विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको ठुलो लापरबाही देखिन्छ । निरन्तर वर्षा भइरहेकाले हाल विद्यार्थीलाई राखिएको भवन अत्यन्त जीर्ण हुँदा विद्यार्थीको ज्यान जोखिममा देखिन्छ । 

वि.स २०२० सालमा स्थापना भएको पत्करु आधारभूत विद्यालय हाल ८ कक्षासम्म सञ्चालन भइरहेको छ । १ सय १५ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा ६ जना शिक्षक र १ जना कार्यालय सहयोगी छन् । भत्किएको भवनभित्र विद्यार्थी अध्ययन गरिरहेको तस्बिर सामाजिक सञ्जालमा चर्चित भएपछि केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईसहितको टोली बिहीबार अनुगमन गर्न गएको बुझिएको छ ।