छात्राहरुलाई पढाईमा प्रोत्साहन गर्न साइकल वितरण

लहान समाचारदाता
लहान, साउन २७ गते । लहान नगरपालिका २३ नम्बर वडाले समेत एसइइ परीक्षामा प्लस ए ल्याउने छात्राहरुको मनोवल उच्च बनाउन र उच्च शिक्षा हासिल गर्न सहयोग हुने उद्देश्यले साइकल वितरण गरेको छ ।  प्रदेश २ का सरकारले बेटी बचाउ, बेटी पढाउ कार्यक्रम अन्तर्गत छात्राहरुलाई साइकल वितरण गरिरहेको अभियानलाई पछ्याउँदै उक्त वडाले यस्तो कार्यक्रम आयोजना गरेको हो ।
१९ र २३ नम्वर वडाको सिमानामा रहेको श्री जनता माध्यमिक विद्यालय सोनमति गढाबाट यस वर्षको एसइइ परीक्षामा प्लस ए ल्याउने नौ जना छात्राहरुलाई साइकल वितरण गरेको लहान नगरपालिका २३ नम्वर वडाले जनाएको छ ।  
 छात्राहरुमा सन्तोषी कुमारी सिंह, सनम कुमारी चौधरी, अर्चना कुमारी चौधरी,आशा कुमारी गुप्ता,किरण कुमारी चौधरी,पूजा कुमारी गुप्ता ,पूजा कुमारी कामैत,सन्तोषी कुमारी गुप्ता र मन्जु कुमारी महतो रहेका छन् ।साइकल पाएका छात्राहरुले पाँच किलोमिटर रहेको लहान स्थित क्याम्पसमा उच्च शिक्षा हासिल गर्न उत्साहित गरेको भन्दै वडा कार्यालयका जनप्रतिनिधिहरुलाई सामुहिक रुपमा धन्यवाद दिँदै उच्च शिक्षा हासिल गरेर सवल नागरिक बनेर देश र समाजको लागि केहि गर्न सकिने हिम्मत जुटेको  धारणा व्यक्त गरेका थिए ।
वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी साइकल वितरण गर्दै वडाध्यक्ष कन्हैया प्रसाद गुप्ताले भन्नुभयो,‘लैंगिक समानता र सामाजिक विकासको लागि समाजमा रहेका दाइजो, छुवाछुत र विभिन्न विभेदहरुलाई हटाउन यस वडाले सबैको सहमतिमा जनपक्षीय काम गर्दै अघि वढनेछ ।’

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds