• ८ वैशाख २०८१, शनिबार

आगजनी आरोपित सार्वजनिक

blog

जुम्ला समाचारदाता

जुम्ला, साउन २५ गते । जुम्लामा सात घरसहित शृङ्खलाबद्ध आगजनी गराएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाले मङ्गलबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो। 

साउन ५, ६ गते र विभिन्न समयमा सात घर, ट्याक्टर र अटो रिक्सा जलाएको घटनामा जुम्ला गुठीचौर–४, उखाडी घर भई चन्दननाथ नगरपालिका–२, भण्डारीवाडामा घरज्वाइँ बस्ने वर्ष ३० का रत्नबहादुर अधिकारी संलग्न भएको प्रहरीले जनाएको छ। अभियुक्त रत्नप्रसाद अधिकारीले आफू गरिब भएकाले कसैले पनि ऋण र उधारो नपत्याएको रिसमा आगजनी गरेको बयान दिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीका अनुसार २०८० साउन ५ गते राति र ६ गते बिहान गरी अज्ञात समूहबाट जलाइएको भनिएका सात वटा घरको घटनामा रत्नबहादुर अधिकारी संलग्न थिए। 

विसं २०८० साउन ५ गते राति चन्दननाथ नगरपालिका–१ स्थित डुडाखोचका रतनबहादुर बुढा, गुठीचौर गाउँपालिका–४, बिगारेका भीमप्रसाद जैसी, २०८० साउन ६ गते गुठीचौर गाउँपालिका–४, खल्लावाडाका लालचन्द्र सार्कीको घरमा आगलागी भएको थियो। गुठीचौर गाउँपालिका–४, डाँडावाडा (क) का कविदत्त न्यौपाने र गुठीचौर गाउँपालिका–४, डाँडावाडा (ख) का कविदत्त न्यौपाने, गुठीचौर गाउँपालिका–४, धवलपुरका खडानन्द पाण्डे, गुठीचौर गाउँपालिका–४ का प्रेमप्रसाद न्यौपानेको घरमा आगलागी भएको थियो।

प्रहरीका अनुसार अभियुक्त अधिकारीले २०८० साउन ६ गते बिहान अन्दाजी ३ बजे नै विभिन्न घरमा आगजनी गर्दै गुठीचौर गाउँपालिकाको कार्यालयतर्फ जाने मूल सडक प्रयोग गरी गाउँपालिका नजिकैको फलामे पुल तरेर वडा नम्बर ५ प्रवेश गरी झारज्वालादेखि जुम्ला बजारतर्फ आउने मूल सडकबाट धिता गाउँनजिकै सडक स्तरोन्नतिका लागि पार्किङ गरिराखिएको लु. ५ त १२४४ नम्बरको ट्याक्टर आगजनी गरेका थिए। २०८० साल असार २७ गते गुठीचौर निवासी कृष्णबहादुर अधिकारीको पार्किङ गरी राखिएको अटो रिक्सा अन्दाजी राति ३ बजे अधिकारीले नै जलाएको आरोप प्रहरीको छ।

अधिकारीले साउन २ गते चन्दननाथ नगरपालिका–१ का साउनेखर कामीको गुठीचौर गाउँपालिका–५ स्थित गोठसमेत जलाएको प्रहरीले जानकारी दिएको छ। 

शृङ्खलाबद्ध आगजानीको घटना गराएको आरोपमा साउन ६ गते रत्नप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो। अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका अधिकारीले आगजनीको घटना आफूले गराएको प्रहरीसमक्ष स्वीकार गरेका थिए। 

विसं २०८० साउन ६ गते राति चन्दननाथ नगरपालिका–१, रानामा मुखमा कालो मास्क लगाएका अन्दाजी चार फिट लामो लाठी बोकेका व्यक्तिले स्थानीयको घरमा गई ढोका ढकढक्याएको खबर प्रहरीले पाएपछि घटनास्थलमा तत्काल प्रहरी पुगेको थियो। ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा अपशब्द बोल्दै प्रहरीमाथि नै प्रहार गर्न खोजेका थिए। प्रहरीका अनुसार रत्नप्रसाद अधिकारी नेपाली सेनामा भर्ना भई पछि छोडेका थिए।