• १३ वैशाख २०८१, बिहिबार

स्थानीयवासी त्रसित, सुरक्षाकर्मी सक्रिय

blog

मधेश प्रदेश ब्युरो

जनकपुरधाम, साउन २५ गते । वर्षाजन्य प्रभावित क्षेत्रमा क्षति न्यूनीकरणका लागि सुरक्षाकर्मी सव्रिmय भएको छ । बाढीमा फसेका व्यक्तिलाई उद्धार गर्न, सुरक्षित स्थानमा व्यवस्थापन गर्न, तटबन्ध कटान रोक्नलगायतका कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली सव्रिmय भएका छन् । 

यता लगातार तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढी नगर बस्तीमा पस्दा जनजीवन प्रभावित भएको छ । मधेश प्रदेश अन्तर्गत विभिन्न जिल्लाका विभिन्न नदीको बाढीले तटबन्ध कटान सुरु गरेको छ भने कतै बाढीमा फसेका मानिसलाई सकुशल उद्धार गरिएको छ । बाढीले बगाएका केही मानिसको अवस्था अझै अज्ञात रहेको छ । 

बाढीमा फसेका ३५ जनाको उद्धार 

सर्लाही समाचारदाताका अनुसार धनकौल गाउँपालिका–४, महिनाथपुरमा बागमती नदीको बाढीमा फसेका ३५ जनाभन्दा बढी गोठाला, घाँस काट्न गएका महिला र किसानलाई मङ्गलबार साँझ सकुशल उद्धार गरिएको छ । 

बागमती नदी किनारमा मङ्गलबार दिउँसो बाख्रा चराउन गएका तथा घाँस काट्न गएका एक्कासि बाढी आएपछि बिचमा फसेका थिए । तीमध्ये १५ जना पौडी खेलेर घर फर्किएका थिए । बाँकी ३५ जनाभन्दा बढीलाई रौतहटतर्फको प्रहरीले मङ्गलबार साँझ अबेर सकुशल उद्धार गरेको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

“हामीले सर्लाहीतर्फबाटै उद्धार गर्न खोज्यौँ तर यताबाट असम्भव देखिएपछि रौतहट प्रहरीको सहारा लिएर सबैको सकुशल उद्धार ग¥यौँ,” उहाँले भन्नुभयो, “उद्धार गरिएर रौतहटतर्फ लगिएकालाई घरसम्म आउनका लागि यताबाट गाडी पठाइसकेका छौँ ।” उद्धार गरिएका सबैलाई पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर निकालेर नयाँरोड–मधुवनी सडक हुँदै घरतर्फ ल्याइने प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो । ठुलो सङ्ख्यामा किसान तथा गोठाला बाढीमा फसेको सूचना पाएपछि जिल्लास्थित सुरक्षा प्रमुखसहितको सुरक्षाकर्मीको टोली महिनाथपुर पुगेको थियो । 

प्रहरीका अनुसार एकादशी खोलाको बाँधसमेत फुटेर बाढी आउँदा बागमती नदी किनारमा गोठाला तथा घाँस काट्न गएका बाढीमा फसेका थिए । सर्लाही र रौतहटको सीमा भएर बस्ने बागमती नदी वारिपारि दुवै जिल्लाका किसान खेतीपाती तथा घाँस काट्न र बस्तुभाउ चराउन आउजाउ गर्ने गरेका छन् । 

कटान नियन्त्रण प्रयास

ढल्केबर समाचारदाताका अनुसार धनुषा र सिरहा जिल्लाको सीमा क्षेत्रमा रहेको कमला नदीमा आएको बाढीले तटबन्ध कटान गर्न थालेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित कमला नदीको तटबन्ध बाढीले कटान गर्न थालेको प्रहरीले जानकारी दिएको छ । केही दिनदेखि भइरहेको वर्षाका कारण कमला खोलामा आएको बाढीले कमला ब्यारेजदेखि दुई सय मिटर पश्चिमतर्फको बाँध मङ्गलबार दिउँसोदेखि कटान सुरु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक विव्रmम साहले बताउनुभयो । कटान रोकथाम गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको छ । अहिले कटान क्षेत्रमा तारजाली र बोरामा बालुवा तथा माटो राखेर नियन्त्रणको प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

तटबन्ध कटान भइरहेको ठाउँमा धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रहरी उपरीक्षक विश्वराज खड्कालगायत अन्य सुरक्षा निकायका प्रमुखसहितको टोलीले मङ्गलबार साँझ स्थलगत अनुगमन गर्नुभएको थियो । कमला नदीमा आएको बाढीले बगाउँदा बेपत्ता दम्पतीमध्ये श्रीमतीको शव भेटिएको छ । गणेशमान चारनाथ नगरपालिका–९, बरमझियास्थित कमला नदीमा बुधबार शव फेला परेको प्रहरीले जानकारी दिएको छ । 

पोर्ताहास्थित कमला नदीमा आएको बाढीले गणेशमान चारनाथ नगरपालिका–७ का ३५ वर्षीय साजन परियार र उहाँकी श्रीमती ३० वर्षीय माया पजियारलाई मङ्गलबार दिउँसो बगाएपछि बेपत्ता हुनुभएको थियो । बेपत्तामध्ये श्रीमती मायाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विव्रmम साहले बताउनुभयो । “बगेको स्थानबाट झन्डै सात किलो मिटर दक्षिणमा शव भेटिएको छ, बाढीमा बगेर आएको दाउरा सङ्कलन गर्ने व्रmममा दुवै जनालाई बगाएको थियो, श्रीमान् साजनको अवस्था अझै अज्ञात रहेकाले खोजी कार्य भइरहेको छ,” उहाँले भन्नुभयो ।  

पक्की पुल क्षतिग्रस्त

बर्दिबास समाचारदाताका अनुसार लामो खडेरीपछि सोमबारदेखि परेको अविरल वर्षाका कारण रातु खोलामा आएको बाढीले बर्दिबास–३, पाटु गाउँका सार्वजनिक संरचनालाई कतै क्षति कतै जोखिममा पारेको छ । बाढीको वितण्डाले खानेपानीको मुहानसमेत जोखिममा पारेपछि ५० हजार नगरवासी त्रासमा छन् । बस्तीहरू पनि डुबानमा पारेकाले जनजीवन अस्तव्यस्त छ । 

रातु खोलाको बाढीले पाटु गाउँमा भर्खरै निर्माण गरिएका ८० लाख रुपियाँको पक्की कुलो र नजिकै रहेको झोलुङ्गे पुलमा क्षति पु¥याएको छ । वडाध्यक्ष विराट विष्टका अनुसार पश्चिमतर्फ सोझिएको खोलाले सुरक्षा स्पर र तारजाली बगाएपछि तटवर्ती इलाकाका चार वटा रिचार्ज पोखरी र बर्दिबास खानेपानीको मुहानलाई पनि जोखिममा पारेको छ । पोखरी बगाएपछि खानेपानीको निर्विकल्प स्रोतलाई पनि क्षति पु-याउने हुँदा तत्काल संरक्षण नगरे नगर क्षेत्रमा जल सङ्कटको विकराल अवस्था आउने चिन्ता उहाँले व्यक्त गर्नुभयो । कारेभोगटे सामुदायिक वनका अध्यक्ष रमेश क्षेत्रीका अनुसार अविरल वर्षा र बाढीले चुरेको जङ्गली क्षेत्रमा पर्ने भोगटे खोला आसपासका क्षेत्रमा पहिरो जान थालेकाले पनि संरचना जोगाउन जोखिम बढेको हो । रातु र बढहरी खोलाको बाढी पसेपछि दक्षिणी भेगका वडा नं. ७ र ९ मा नयाँ समस्या थपिएको छ ।

अविरल वर्षाका कारण पश्चिमबाट सडक नालाको पानी र पूर्वतर्फबाट धान खेतको भँगालो बस्तीतर्फ उर्लिएपछि वडा नं. २ र १४ जलमग्न छन् । पीडितका अनुसार ती वडाका करिब १५० परिवार रातिदेखि नै डुबानमा छन् । सार्वजनिक सडकबाट वर्षे भल बग्नाले बिहानैदेखि सहज आवागमन बाधित छ । अविरल वर्षाले जनजीवन अस्तव्यस्त पारेपछि स्थानीय तथा जिल्ला विपत् व्यवस्थापन समितिको बर्दिबासमा संयुक्त रूपमा बसेको आकस्मिक बैठकले बाढी प्रभावित संरचना र मानव बस्ती संरक्षणका लागि पाँचबुँदे निर्णय गरेको छ । बर्दिबास नगर प्रमुख प्रह्लाद क्षेत्रीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी दीपक पहाडीको सहभागितामा बसेको आपत्कालीन बैठकले जोखिममा परेका संरचना संरक्षण तथा नदी नियन्त्रणका लागि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र जनताको तटबन्ध फिल्ड कार्यालय जलेश्वरलाई आग्रह गर्ने सर्वसम्मत निर्णय गरेको छ । 

यसैबिच अविरल वर्षाका कारण मडाहा खोलामा आएको बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् । बजार भर्न गौशालातर्फ गएका सोनमा गाउँपालिका–१ का ३८ वर्षीय जाविर अन्सारी मङ्गलबार रातिदेखि सम्पर्कमा नआएको परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवका अनुसार गौशाला बजारबाट साँझतिर घर फर्कने क्रममा बिचमा पर्ने मडाहा खोला तर्न खोज्दा अन्सारीलाई बगाएको आशङ्का गरिएको छ । तथापि गाउँले र प्रहरीले खोजी गर्दा शव भने अझै फेला पर्न सकेको छैन् । 

गौर बजार उच्च जोखिममा

गौर समाचारदाताका अनुसार तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण रौतहटको बागमती, झाँझ र लालबकैया नदीमा आएको बाढीकोे त्रासले यहाँका बासिन्दा चिन्तित छन् । बागमती नदी तथा झाँझ खोलाको बाढीले मङ्गलबार राति गौरको बरहवा खोला, भन्सार क्षेत्र तथा गौरदेखि मुडबलवा मोडसम्म जलमग्न रहेको तथा बुधबार बिहानदेखि लालबकैया नदीको बाढी सवगढा डाइभर्सन हुँदै गौर क्षेत्रभित्र प्रवेश गर्न थालेपछि नगरवासी चिन्तित भएका स्थानीय सोभेन्द्र साहले बताउनुभयो ।

बागमती, लालबकैया र झाँझ खोलाको बाढी गौर नगरपालिकाको चारैतिर जलमग्न रहेको तथा गौर बजारभित्र भन्सार क्षेत्रमा सामान्य रूपले प्रवेश गरेपछि सम्भावित बाढीको त्रासले त्रसित बनाएको गौर नपाका रमेश सिंहले बताउनुभयो । यसै गरी बागमती नदी तथा झाँझ खोलाको बाढीले दुर्गाभगवती गाउँपालिका–५, बडहर्वाका सय घर डुबानमा परी बागमती नदीको बाँधमा आश्रय लिएको वडाध्यक्ष धर्मनाथ चौधरीले बताउनुभयो । बाढीले बर्सेनि बडहर्वावासी पीडित बन्दै आइरहेको समेत उहाँले बताउनुभयो ।

जिल्ला विपत् व्यवस्थापन समिति रौतहटले बडहर्वाका बाढीपीडित ५० घरपरिवारलाई तत्काल चामल २५ किलो, दाल पाँच किलो, चिउरा पाँच किलो, आलु पाँच किलो, खाने तेल दुई लिटर, नुन दुई किलो, चिनी एक किलो र झुल एक थानका दरले वितरण गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो । 

(सर्लाहीबाट जनार्जन खत्री, गौरबाट सञ्जयकुमार मिश्र, ढल्केबरबाट विजयकुमार साह, बर्दिबासबाट रवीन्द्र उप्रेतीको सहयोगमा)