• ७ वैशाख २०८१, शुक्रबार

सरकारी असहयोगले लगानी झिक्दै उद्यमी

blog

बुलबुले समाचारदाता

सुर्खेत, साउन २५ गते । पश्चिम सुर्खेतको चौकुनेस्थित सूर्यतारा सिमेन्ट उद्योग स्थापना कार्य अहिले ठप्प छ। लगानीमैत्री वातावरण नभएको भन्दै निर्माणको जिम्मा पाएको सूर्यतारा इन्भेस्टमेन्ट कम्पनी हात झिक्ने अवस्थामा छ। दुई वर्षभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित २०७७ सालमा लगानी बोर्डबाट उद्योग सञ्चालन स्वीकृति पाएको कम्पनीले पूर्वाधार निर्माणका प्रारम्भिक कामसमेत सम्पन्न गरिसकेको छ।

सरकारी तहबाट पर्याप्त सहयोग नभएपछि अहिले काम नै रोकिएको हो। उद्योग स्थापना स्थलसम्म पहुँच मार्ग र विद्युत् विस्तार नहुँदा समस्या निम्तिएको हो। सूर्यतारा इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाका अनुसार पूर्वाधार अभावका कारण उद्योग सञ्चालन गर्न कठिनाइ भएको हो। पूर्वाधार तयार नहुँदा उद्योग सञ्चालन गर्न नसकिने अवस्था छ। पूर्वाधार निर्माणमा सरकारले थप पहल नगरे आयोजनाबाटै हात झिक्ने अवस्था आउने तिमिल्सेनाले बताउनुभयो।

उहाँले भन्नुभयो, “उद्योग सञ्चालन गर्न अवरोध नै अवरोध भयो। काम गर्ने वातावरण भएन। सरकारले उद्योग सञ्चालनका निमित्त पूर्वाधारको व्यवस्था गरेन।”

उद्योगका लागि जग्गा प्राप्ति, संरचना निर्माणलगायतका धेरै काम अघि बढिसकेको छ तर समन्वयको अभावका कारण अन्य काम हुन सकिरहेको छैन। करिब १५ अर्ब रुपियाँ बराबरको लगानीमा उद्योग सञ्चालन हुन लागेको थियो। उद्योग सञ्चालनका लागि लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाखको लगानी स्वीकृत गरिसकेको छ। अध्यक्ष तिमिल्सेनाका अनुसार बराहताल गाउँपालिका–७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुङ्गा उत्खनन गर्ने र चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ बिघा जमिन खरिद गरिएको छ। 

चार दशकअघि नै अध्ययन गरिएको सुर्खेत सिमेन्ट (चौकुने) उद्योग पनि अलपत्र छ। उद्योग सञ्चालनका लागि २०६६ सालमा मुक्ति श्री प्रालिलाई जिम्मा दिइएको थियो तर सरकारबाट अनुमति पाएको डेढ दशक बितिसक्दासम्म पनि उक्त उद्योग स्थापना हुन सकेको छैन। उद्योग स्थापनास्थलमा सम्पर्क कार्यालय राख्नेबाहेक निर्माणको कुनै काम अघि बढेको छैन।

सिमेन्ट उद्योग मात्रै होइन, कर्णालीमा यस्ता कुनै पनि ठूला उद्योग सञ्चालनमा आउन सकेको छैन। सूर्यतारा इन्भेस्टमेन्टका अध्यक्ष तिमिल्सेना कर्णालीमा लगानीमैत्री वातावरण नहुँदा समस्या भएको बताउनुहुन्छ। प्रदेश सरकारले आवश्यक ठोस नीति निर्माण गर्न सकेको छैन। पहुँच मार्गको अभाव छ। विद्युत् विस्तार हुन सकेको छैन। यस्ता अनेक कारणले लगानीमैत्री वातावरण बन्न नसकेको अध्यक्ष तिमिल्सेनाले बताउनुभयो। 

कर्णाली प्रदेश सरकारले पहुँच मार्ग निर्माण गरे उद्योगप्रतिको आकर्षण बढ्ने देखिन्छ। उद्योग सञ्चालनका लागि बाटो, विद्युत् बाधक बनेको लगानीकर्ताले बताउने गरेका छन्। अन्तरदेशीय तथा कर्णाली प्रदेशभरि सडकको सहज पहुँच छैन। यसले गर्दा यहाँ उत्पादित सामग्रीले बजार पाउन सकेको छैन। ठूला उद्योगका लागि आवश्यक कच्चा पदार्थ प्रशस्त भए पनि उद्योगीले कर्णालीमा लगानी गर्न सकेका छैनन्। लगानी सुरक्षित नहुँदा ठूला उद्योग सञ्चालनमा समस्या हुने गरेको बताइएको छ।

नीतिगत समस्या

सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले नीतिगत समस्याले गर्दा पनि उद्योग सञ्चालनमा चुनौती रहेको बताउनुभयो। उहाँका अनुसार सरकारले नीतिगत बाधा नफुकाउने हो भने अधिकांश उद्योग बन्द हुने अवस्थामा पुग्ने छ। सरकारले निजी क्षेत्रलाई असहयोग गर्ने, लगानीमैत्री वातावरण नबनाइदिने र खरिद ऐन अव्यावहारिक हुँदा उद्योग सञ्चालन हुन नसकेको हो। उहाँले भन्नुभयो, “लुम्बिनी प्रदेशको कोहलपुर र नेपालगन्जमा ठूला उद्योगको आकर्षण बढ्ने, कर्णालीमा लगानी गर्न नआउने कारण पूर्वाधारको अभाव हो, यसैमा सरकारले ध्यान दिनु पर्छ।”

प्रदेश सरकारले औद्योगिक विकासलाई प्राथमिकतामा राखिएको दाबी गर्दै आएको छ। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले उद्योग स्थापनाका लागि प्रदेश सरकारले पूर्वाधार निर्माण गर्ने नीति तय गरेको बताउनुभयो। उहाँले लगानीमैत्री वातावरणका लागि पहल थालिएको र पूर्वाधार निर्माण सरकारले नै गर्ने गरी नीति तयार पारेको जानकारी दिनुभयो। उहाँले ठूला उद्योग सञ्चालन र लगानी भित्र्याउन कर्णाली प्रदेश सरकारले प्रादेशिक व्यावसायिक ऐन जारी गरेको जानकारी दिनुभयो।

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले प्रदेशमा लगानी भित्र्याउन लगानी सम्मेलन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार अबको केही दिनमा सम्मेलनको मिति तोक्ने तयारी छ।