गुणस्तरहीन मलको भरमा किसान

मुकुन्द सुवेदी

mal_1बर्दिया, साउन २७ गते । गुलरिया नगरपालिका–४, सानोबेचैपुरका कृषक कर्णबहादुर थारूले धानका लागि आवश्यक पर्ने युरिया मल खोज्न थालेको दुई हप्ता भयो । युरिया मल खोज्न धेरै सहकारी र एग्रोभेट पनि चाहार्नुभयो तर मल कतै पाइएन । मल कतै नपाइएपछि अन्तिममा उहाँले सीमावर्ती भारतीय क्षेत्र लौकाही नजिकबाट चार बोरा मल ल्याउनुभयो ।
यस्तै, बारबर्दिया नगरपालिका–५, धोबियाका कृषक लिली थारू पनि मलका लागि स्थानीय क्षेत्रमा रहेका सहकारी र एग्रोभेट पुग्नुभयो । मल कहीँ कतै मिलेन । उहाँले पनि अन्तिममा सीमावर्ती भारतीय बजारबाट नेपाल भित्रिने मलको भर पर्नुप¥यो । समयमै मल नपाउँदाको समस्या भोग्ने कर्णबहादुर र लिली मात्रै होइनन् अहिले यस्तो समस्या जिल्लाका अधिकांश कृषकले व्यहोरिरहेका छन् । कर्णबहादुर र लिली प्रतिनिधि किसान मात्रै हुन् । जिल्लामा रासायनिक मलको चरम अभाव छ । धानको सिजनमा कृषकहरू विशेषगरी युरिया मलका लागि भौँतारिइरहेका छन् । मलका लागि सयौँ कृषक कृषि सामग्री कम्पनी, सहकारी र एग्रोभेटमा पुगे पनि रित्तो हात फर्किन बाध्य छन् ।
रोपेको तीन हप्तामा धानका लागि युरिया मल छर्नु अति आवश्यक भए पनि मल अभावमा अधिकांश कृषक त्यसै बस्नुपरेको छ । धोबियाका कृषक लिली थारूले नेपालमा मल नपाइएपछि भारतीय मल प्रयोग गर्न बाध्य भएको बताउनुभयो । मल गुणस्तरीय रहे नरहेको भन्दा पनि धानका लागि मल पाइयो भनेर चित्त बुझाउनुपरेको उहाँको भनाइ छ । कृषि सामग्री कम्पनी लिमिटेड बर्दियाका अनुसार बर्दिया जिल्लाका लागि वार्षिक १२ हजार टन युरिया, १० हजार टन डीएपी र २५० टन पोटास रासायनिक मल आवश्यक हुन्छ तर कृषि सामग्री कम्पनीले जिल्लाका लागि यस वर्ष तीन हजार टन युरिया, २५ सय टन डीएपी र १२० टन पोटास मलको लक्ष्य राखेको छ । कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नरहरि पोख्रेलले जिल्लामा रासायनिक मलको आपूर्तिभन्दा माग धेरै भएकाले समस्या आएको बताउनुभयो । उहाँले असार र साउनमा मात्रै एक हजार ३७५ टन युरिया मल विभिन्न सहकारीमार्फत बिक्री भएको बताउनुभयो । रासायनिक मलकोे माग आपूर्ति भन्दा चार गुणाभन्दा बढी रहेको बताउँदै प्रमुख पोख्रेलले कम्पनीसँग मौज्दात सबै मल सकिएको जानकारी दिनुभयो । कृषि सामग्री कम्पनीसँग मौज्दात मल सबै बिक्री वितरण भइसकेको हुँदा भैरहवा कार्यालयबाट भदौको दोस्रो साता मात्रै मल आउन सक्ने सम्भावना रहेको उहाँको भनाइ छ । बर्दिया जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये ५० हजार २५० हेक्टर क्षेत्रफलमा धाने खेती हुने गर्दछ ।

भारतबाट दैनिक सयौँ बोरा
जिल्लामा मलको अभाव भएपछि सीमावर्ती भारतीय क्षेत्रबाट दिनहुँ सयौँ बोरा मल भित्रिँदै आएको छ । भारतीय क्षेत्र लौकाही, बलैगाउँ, तिकुनियाँबाट सयौँ बोरा रासायनिक मल जिल्ला भित्रिएको हो । सदरमुकाम गुलरिया, मधुवन, बढैयाताल, राजापुरलगायतका क्षेत्रबाट भारतीय मल साइकल तथा मोटरसाइकलमा राखेर ल्याउँदै गरेको देखिन्छ । यसरी नेपाल भित्रिने रासायनिक मल गुणस्तरीय रहे नरहेकोमा भने कसैले चासो देखाएको पाइँदैन । दिनहुँ भित्रिने मल कृषकले मात्रै प्रयोग गर्दैनन् । कतिपयले मल अभावको फाइदा उठाएर व्यापारसमेत गर्दै आइरहेको स्रोत बताउँछ । स्रोत भन्छ, भारतमा प्रतिबोरा २५० देखि ३०० भारतीय रुपियाँसम्म पर्ने मल नेपाली क्षेत्रमा सात सय रुपियाँदेखि एक हजार छ सय नेपाली रुपियाँसम्ममा प्रतिबोरा बिक्री हुने गर्दछ ।

सीमामा कडाइ गरिने
जिल्ला आपूर्ति तथा वितरण व्यवस्था समितिका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्बाङले वास्तविक किसानले आफ्नो खेतबारीमा प्रयोगका लागि आवश्यक एक÷दुई बोरा मल ल्याउन खासै कडाइ नगरिए पनि व्यापारिक प्रयोजनका लागि नेपाल भिœयाउने मलमा कडाइ गरिएको बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds