• ८ वैशाख २०८१, शनिबार

‘स्वास्थ्य क्षेत्रमा सुधारका काम सुरु’

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, साउन २५ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा सुधारका काम सुरु भएको बताउनुभएको छ । 

मन्त्रालयलेबुधबार धुलिखेलमा आयोजना गरेको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०७९ प्रादेशिक सार्वजनिकीकरण कार्यक्रममा उहाँले स्वास्थ्य क्षेत्रमा सुधारका कार्यक्रम भइरहेको बताउनुभएको हो । 

मन्त्री बस्नेतले सरकारले चिकित्सा क्षेत्रमा देखिएका बेथिति अन्त्य गर्न फार्मेसी, मेडिकल कलेज र औषधी गोदामको कडाइका साथ अनुगमन सुरु गरेको बताउनुभयो । उहाँले सरकारी क्षेत्रको स्वास्थ्य सेवा नसुध्रिएसम्म अन्य क्षेत्रलाई औँला उठाउन नसकिने भएकाले सरकारले सरकारी स्वास्थ्य क्षेत्रबाट नै सुधारको सुरुवात गरेको बताउनुभयो । 

“लामो समयदेखि विभिन्न बहानामा सुगम क्षेत्रमा काजमा बस्ने कर्मचारीलाई दरबन्दी भएको क्षेत्रमा पठाउने, अस्पतालले १० प्रतिशत श-या निःशुल्क छुट्याउने नियमलाई कडाइका साथ सुरु गरेको र लामो समयदेखि अस्तव्यस्त रहेको कर्मचारीको व्यवस्थापनमा केही सुधारका काम सुरु गरेका छौँ,” मन्त्री बस्नेतले भन्नुभयो । 

उहाँले सङ्घीय सरकार मातहतका अस्पतालले यो व्यवस्था गरेसँगै मधेश प्रदेशले समेत सुरु गरेको बताउनुभयो । 

जनशक्तिको व्यवस्था नगरी ठुला उपकरण खरिद गर्दा चलाउन जान्ने जनशक्ति नहुने र ती उपकरण त्यत्तिकै थन्किने गरेकाले अब मन्त्रालयले सरकारी अस्पतालका लागि ठुला स्वास्थ्य उपकरण खरिद नगर्ने उहाँले जानकारी दिनुभयो ।   

“२२ वर्षअघि म राज्यमन्त्री हुँदा देशको स्वास्थ्य क्षेत्रमा ३३ हजार जनशक्ति थियो, अहिले घटेर ३१ हजार भएको छ । यसले के देखाउँछ भने हामीले छात्रवृत्ति दिएर चिकित्सा शिक्षा अध्ययन गराउँदा आवश्यक पर्ने विधाको अध्ययन गर्नका लागि मात्रै छात्रवृत्ति दिनुपर्ने देखिन्छ,” मन्त्री बस्नेतले भन्नुभयो । उहाँले मुलुकमा आवश्यकता अनुसार जनशक्ति उत्पादन हुन नसकेको बताउनुभयो । 

कार्यव्रmममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश सरकारले प्रदेशभित्रका गरिब, विपन्न र सीमान्तकृत नागरिकका लागि १३ प्रादेशिक अस्पतालमा ८०१ श-या छुट्याएको बताउनुभयो । 

मन्त्री जोशीले प्रदेश सरकारले पछिल्लो समय देखिएको डेङ्गु रोग नियन्त्रणका लागि अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । 

सो अवसरमा सङ्घीय स्वास्थ्य सचिव डा. रोशन पोखरेलले बजेट अभावले स्थानीय तहमा निर्माण भइरहेका आधारभूत अस्पतालको काम नरोकिने बताउनुभयो ।