• १६ चैत २०८०, शुक्रबार

ग्राण्डीमा ९ घण्टा लगाएर हात्तीपाइले रोगको सफल शल्यक्रिया

blog

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल

काठमाडौं, साउन २४ गते। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हात्तीपाइले रोगको शल्यक्रिया सफल भएको छ। गत साउन २ गते अस्पतालमा कार्यरत प्लास्टिक सर्जन प्राध्यापक डा. जयनमान श्रेष्ठको नेतृत्वमा ३५ वर्षीय एक युवकको बायाँ खुट्टामा भएको हात्तीपाइलेको ९ घण्टा लगाएर गरिएको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। 

म्याग्दी बेनी घर भएका युवकको दुवै खुट्टाको आकार तथा वजन बढ्दै गएर एउटै खुट्टाको वजन ४८ केजी थियो। उहाँलाई २० वर्ष अघि नै हात्तीपाइलेको समस्या देखिएको थियो। प्रा.डा. श्रेष्ठले प्लाष्टिक सर्जरी विधिबाट खुट्टाको शल्यक्रिया भएको जानकारी दिनुभयो। उहाँले  अप्रेसनका लागि ९ घण्टा समय लागेको बताउनुभयो। 

डा.श्रेष्ठले भन्नुभयो, ‘जो बिरामी हुनुहुन्छ। उहाँ ३५ वर्षे युवक हुनुहुन्छ। उहाँको हात्तीपाइलेको रोग करिब २० वर्षअघि नै सुरुवात भएको रहेछ। २० वर्षको अवधिमा खुट्टाहरु धेरै नै सुन्निएको कारणले जटिल अवस्थामा पुगेको रहेछ। उहाँको दुवै खुट्टा धेरै गह्रुङ्गाे र धेरै ठूलो भएका कारण उहाँलाई हिँड्नलाई पनि धेरै मुस्किल अवस्था थियो। बेलाबेलामा खुट्टामा इन्फेक्सन हुने, घाउ हुने भएको थियो। उहाँलाई परिवारका लागि र आफ्ना लागि निकै भार परेको थियो। उहाँ उपचारका लागि भनेर भारत पनि जानुभएको थियो। ग्राण्डी अस्पतालमा आइसकेपछि उहाँको उपचार भएको हो। खुट्टा पनि निकाल्नुपर्ने अवस्था थियो। प्लाष्टिक सर्जरी गरेर खुट्टालाई जोगाउने हिसाबले अप्रेसन गरेको हो। खुट्टा ठूलो भएकाले उहाँलाई राख्न नसकेर दुई वटा टेबल जोडेर अप्रेसन गर्नुपर्ने अवस्था थियो। अप्रेसन गर्दाखेरी ठूला ठूला नशाहरु छुने बित्तिकै रगत निस्किने भएकाले पनि यो एक प्रकारको जटिल अप्रेसन हो। लगभग ९ घण्टा लगाएर अप्रेसन गर्‍यौं। हामीले यसलाई सफल अप्रेसनका रुपमा लिएका छौँ। एउटा खुट्टाको हात्तीपाइलेको खुट्टा निकाल्यौं। र, त्यसको वजन भनेकै ४८ केजीको भएको देखिएको छ।’’ 

डा.श्रेष्ठको नेतृत्वमा प्लास्टिक सर्जन डा.समित शर्मासहितको टोलीले ती युवकको शल्यक्रिया गर्नुभएको हो। अहिले बिरामीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको डा. श्रेष्ठले बताउनुभयो। उपचारपछि युवकलाई बुधवार डिस्चार्ज गरिएको छ।