• ५ वैशाख २०८१, बुधबार

प्रचार अभावमा वाग्मा पोखरी ओझेलमा

blog

पूर्वाधार विकासको पर्खाइमा रहेको साँवास्थित वाग्मा पोखरी । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन २४ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको वाग्मा पोखरी ओझेलमा परेको छ । मिक्वाखोला गाउँपालिका–४ साँवामा रहेको वाग्मा पोखरी आवश्यक संरक्षण तथा प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।

धार्मिक दृष्टिकोणले प्रसिद्ध मानिने मानाभराको काखमा रहेको वाग्मा पोखरी पूर्वाधार, संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार यो पोखरी करिब पाँच रोपनी बराबरको क्षेत्रफलमा फैलिएको छ । मानव बस्तीभन्दा केही टाढा हरियाली वनको बिचमा एकान्त वातावरणमा रहेको पोखरी यतिबेला पर्यटक र पूर्वाधार विकासको पर्खाइमा छ ।

निकै सुन्दर र आकर्षकसमेत देखिने वाग्मा पोखरी पर्यटकीय सम्भावना बोकेको भए पनि पोखरीको प्रवर्द्धनका लागि तीनै तहका सरकारले प्राथमिकता नदिएको पाइएको छ । पोखरीलाई पर्यटकीय गन्तव्य बनाउने योजनासँगै आवश्यक संरक्षण र प्रचारप्रसार अभावमा ओझेलमा परिरहेको स्थानीयवासी बताउँछन् । 

पोखरीको प्रवर्द्धनका कार्य र प्रचारप्रसार गर्न सकेमा पर्यटकको बाक्लो उपस्थिति हुनसक्ने सम्भावना रहेको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले बताउनुभयो । 

उहाँका अनुसार मिक्वाखोला गाउँपालिका–४ साँबामै रहेको जिल्लाकै स्थापित पर्यटकीय गन्तव्य फुङफुङ्गे झरना, वडा–५ पापुङको तोक्पेगोला लोदेन क्षेत्रसँगै वाग्मा पोखरीलाई पनि पर्यटकीय गन्तव्य बनाउन सकिने अवस्था छ ।

उहाँले पर्यटकीय शृङ्खलाअन्तर्गत तोक्पेगोला लोदेन क्षेत्र, फुङफुङ्गे झरना तथा वाग्मा पोखरीलाई जोड्न सकिने भए पनि विकास र प्रवर्द्धनको कार्य हुन नसकेको बताउनुभयो । गाउँपालिकाले भने आफ्नो नीति कार्यक्रममार्फत वाग्मा पोखरीलाई समेत समावेश गरी मिक्वाखोलालाई पर्यटकीय हबका रूपमा विकास गर्नेगरी योजना बनाइरहेको उहाँले बताउनुभयो । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका योजना बनाइरहँदा बजेट अभावले योजना कार्यान्वयनमा समस्या रहेको उहाँले बताउनुभयो । 

वाग्मा पोखरीसहितका पर्यटकीयस्थलको विकासका लागि सङ्घ र प्रदेश सरकारसमक्ष योजना प्रस्ताव गरिदैआएको, तर सोचेअनुसार प्रगति नभइरहेको पनि स्वकीय सचिव थापाले जानकारी दिनुभयो । वाग्मा पोखरी पुग्ने पदमार्गको स्तरोन्नति गर्नुपर्ने, सडक पुगाउनुपर्ने र अन्य संरचना तथा पूर्वाधारहरू निर्माण गर्नुपर्ने आवश्यक देखिएको छ । आवश्यक संरक्षण, प्रचारप्रसारसँगै पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्नका लागि पूर्वाधार समेतको अभाव हुँदा प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको छ ।

जिल्लाको एक पर्यटकीय स्थलका रूपमा रहेको वाग्मा पोखरी पुग्नलाई सदरमुकाम फुङ्लिङदेखि दोभान सान्थाक्रा तथा खोक्लिङ लिबाङ हुँदै गाउँपालिकाको प्रशासकीय केन्द्र थलङ र थलङ, साँवा सिरान हुँदै जान सकिन्छ । त्यस्तै फुङ्लिङदेखि फक्ताङ्लुङ गाउँपालिकाको लिङ्खिम सिँवाबजार, खेजेनिम, सिबुक हुँदै पनि वाग्मा पोखरी पुगिन्छ ।

मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की र उपाध्यक्ष डण्ड लामासमेत लागेर पोखरीलाई पर्यटकीय गन्तव्य बनाउनलाई बजेट तथा योजनाका लागि पहल गर्दै आउनुभएको छ ।