नियात्रा : रमितेडाँडामा खगेन्द्र दाइ

 केदार सङ्केत

ramiteबेलायतमा खोलानाला, डाँडाकाँडा, पहाड–पर्वतहरू धेरै छन् तर हिमाल छैन । चिसोमा धेरै चिसा ठाउँहरू छन् तर तिलिचोजस्तो अग्लो पहाडको बीचमा ताल छैन । धेरै कोशीहरू छन् तर दूधैजस्तो हिमालको फेदीबाट छचल्किँदै बग्ने दूधकोशी छैन । यहाँ मात्र त्यस्ता मानिस छन्, जहाँ गुराँस नफुले पनि गुराँसजस्तो पलाँसै भए पनि फुलाउन हरप्रयासमा जीवन अर्पिन्छन् ।
यस्तो ठाउँमा खगेन्द्र सङ्ग्रौला दाइ जनजाति महासङ्घको सम्मेलनमा प्रमुख अतिथि भएर आउँदै हुनुहुन्छ भन्ने सुनेपछि महासङ्घको कार्यक्रमभन्दा पनि दाइलाई मेरो घरमा स्वागत गर्नेतर्फ चौपट्टै तयारी गर्न लागेँ । रमितेडाँडामा हाइकिङ गराउँदै लान्छु भन्ने पनि मनमनमा रहर पाल्न थालेँ ।
नभन्दै एक साँझ कोभको सङ्केत कुटी (बेलायतको कोभ भन्ने ठाउँको मेरो घर) खगेन्द्र दाइ, जङ्ग सुनुवार, होम दशुचासँग बसेर रमाउने मौका मिल्यो । बेलायतको घरका साइज प्रायः साना हुन्छन् । त्यसैमा भान्साकोठा, बैठक कोठा, सुत्ने कोठा सप्पै थप्दा झन् साँगुरो हुने नै भयो । यस्तैमा पार्वतीजीले श्रीमान्का मित्रहरू आउने भएपछि नयाँ र मिठै परिकार पस्केर दिउँ भन्ने चाहन्छिन् । उनको यो दिलदार स्वभावका लागि म मनमनै श्रद्धाले झुकिरहेको हुन्छु ।
निर्धारित समय बेलुकीको पाँच बज्दा पनि बेलायतका जनजाति महासङ्घका अध्यक्ष जङ्गजीको अत्तोपत्तो नलागेपछि फोन गरेँ । बाटोमा छौैँ, आउँदैछौँ भन्ने क्रम जारी नै रहेकाले पर्खिनैप¥यो ।
दुई÷तीन घण्टाअघि मात्र अल्डरसट भन्ने नेपालीको घनाबस्ती भएको सहरमा जनजाति महासङ्घको सम्मेलनमा खगेन्द्र दाइसँग भेट भए पनि त्यो सपनाजस्तो थियो । हल्लाखल्ला चर्काे थियो । कसले, कसका लागि, के बोले भन्ने कसैलाई मतलव थिएन ।
कार्यक्रम सकिएपछि खाजा खाँदै गर्दा गफको क्रममा खगेन्द्र दाइलाई सोधेंँ– ‘हन महासङ्घको भेलामा खगेन्द्र सरको जब पालो आयो तब अलिकति हल शान्त भयो, मानौँ, मञ्चमा एकदम अद्भुत शक्तिशाली व्यक्ति प्रकट भयो । स्वयं तपाईंलाई चाहिँ कस्तो महसुस भयो दाइ ?’
जवाफमा उहाँले भन्नुभयो– ‘मैले ठिकै मात्र बोलेंँ । जमेर बोल्न पाइएन । फेरि बेलायतका राजदूत नै चाँडै हिँडेपछि केही कुरा राख्नै पाइएन ।’
कार्यक्रम जुधे पनि नजुधे पनि राजदूतले भाषण सुनाएपछि अरूको सुन्नै चाहँदैनन् । अरूका गुनासा र अनुरोध बेमूल्यका ठहरिन्छ । राखिएका समस्यालाई सम्बन्धित निकायसम्म पु¥याएर सहयोग गर्नुपर्ने राजदूतको काम होला तर आफ्नो काम अरूले सुझाइदिँदा पनि नबुझेजस्तो गर्ने दूतावासको पुरानै चलन हो ।
जे होस्, खगेन्द्र दाइ गैरजनजाति भए पनि गुरुङको ज्वाइँ हुनुहुन्छ । गुरुङ समुदायमा हुर्कनुभएको हो । जनजातिमाथि उहाँको सद्भाव छ । समय मिलेको भए हाम्रालागि धेरै राम्रा कुरा बोल्नुहुने थियो होला । सुनुवार÷किराँतको बारेमा झन् उहाँसँग निक्कै रहस्यमय तथ्य थिए होलान् तर समय ज्यादै छोटो भयो । गैरकिराँतबाट सुनुवार÷किराँतको अनुहार कस्तो देखिएला ? कुतूहल बढिरहेको थियो र पनि हामीले चित्त बुझायौँ ।
भाषणमा खगेन्द्र दाइले समाजवादका मुजा खोल्दै कार्लमाक्र्स बसेको देशमा आउन पाउँदा गौरव अनुभव भएको अभिव्यक्ति दिनुभयो ।
दाइ ठोस खानेकुरा खान त्यति मन नगर्ने हुनुहुँदोरहेछ । जल भने घुटुघुटु निल्न सजिलो मान्ने । उहाँलाई जल थपिदिन मलाई पो निक्कै हम्मे परिरहेको थियो । श्रीमती पार्वतीले बनाएको अचार, आलुदम, प्याजी, केके परिकारले टेबुल भरिभराउ थियो । तर ती अभागी परिकारले दाइको जिब्रोसम्म पुग्ने अवसर कमैले मात्रै पाए । बरु गिलासको जलचरीले भने पखेटा फिँजाइरह्यो । जतिपल्ट भरे पनि दाइको गिलास खालीको खाली !
जलपानले तताउँदै लगेपछि कार्यक्रमको निम्तो पाउँदाको रोचक प्रसङ्ग निकाल्नुभयो दाइले– ‘बेलायतबाट अध्यक्ष जङ्ग सुनारको फोन आयो । जनजाति महासङ्घको अध्यक्ष सुनार (दलित)? अचम्मको कुरा सुनेर अचम्मै बोकी बेलायत आइपुगेँ ।
उहाँको कुरा सुनेर उहाँलाई नै जल थप्न लागेको बोतल झण्डै खस्या’थ्यो मेरो हातबाट । हामी कस्तरी झस्कियौंँ ? मानौँ, यार्सागुम्बा भनेर झुसिल्कीरा समातेका रहेछौँ ।
जङ्ग सरले आक्रोश पोख्नुभो– ‘रेडियो प्रस्तोता पाण्डव सुनुवारलाई पनि दलित नै सम्झनु भा’छ होला, होइन ?’
‘हँ’ के उनी पनि किराँत नै हुन् ?’
हामी स्तब्ध भयौँ । दिक्दारीपनको लामोलामो श्वास फाल्यौँ । तर खगेन्द्र दाइले नढाँटिकन भन्नुभयो– ‘हो त । म अञ्जान रहेँछु । नरेश काङमाङ भाइले बेलायत आएपछि भन्नुभो, अनि पो झसङ्ग भएँ । सुनार र सुनुवार फरक जाति रहेछन् । किराँतमध्ये लिम्बू, याख्खा, देवान, जिरेल, सुरेल भनेजस्तै सुनुवार पनि एक वंश रहेछ । मलाई माफ गर्नुहोस्, म भ्रममा रहेँछु ।’
किराँती सौन्दर्यमध्येको ‘नढाँट्नु’ एक सुन्दरता हो । खगेन्द्र दाइले ‘नढाँट्नु’ को सुन्दरता हामीसँग मिलाएकाले उहाँलाई माफी दियौँ र तुरुन्तै माया गर्न थालिहाल्यौँ ।  
अघि झण्डै खसेको बोतलको रक्सी थपिदिँदै भनेँ– ‘भोलि म तपाईंलाई यस्तो ठाउँमा लैजाँदैछु, जहाँ नेपालबाट आउने पाहुनाले आजसम्म पुग्ने अवसर पाएकै छैनन् ।’
‘आजै जाऔँ न’ उहाँ त तयार पो हुनुभयो !
समरमा रातको नौ÷दश बजेसम्म पनि घाम बेलायती आकाशमै आलटाल गरिबस्छन् । नेपालमा जस्तो रात पर्नेबित्तिकै लुकिजाँदैनन् । यसैले रातलाई दिन नै मान्नुभयो उहाँले ।
खाँटी कुराले सारांशमा समेट्नुपर्दा बेलायतका जनजाति महासङ्घको सम्मेलनमा गैरजनजाति परेर नै हुनुपर्छ, उहाँको भाषणमा न बेलायतवासी विशेषतः, भूतपूर्व गोर्खालीको काँचो मुद्दाको बारेमा टिप्पणी गर्नुभयो, न नेपालमा भएका जनजाति समाजको उत्थान तथा हितकर मामिलामा बोल्नुभयो । त्यसैले सप्पै मानिस सबै चिजमा पोख्त, दक्ष या विज्ञ हुँदैन, कुनै एक विषयको गोहोमा हिँडेका व्यक्तिले अरू विषयमा अध्यापन या दखल छोड्न सक्दैन भन्ने धेरैलाई हेक्का भयो ।  
भोलिपल्ट बिहान पाँच बजे म आफैँ उहाँहरूलाई ब्युँझाउन पुगंँे जङ्ग सरको घरमा ।
मेरो हल्लाले काम ग¥यो ।
हतारहतार रमिते डाँडातिर बत्तियौँ मेरो थोत्रे जिपमा । दश मिनेटको ड्राइभिङपछि कार पार्क गरेर हामी उकालो लाग्यौँ । मैले ब्याग भिरेँ । रित्तै जाऊ भन्दैथे साथीहरूले । २४ घण्टासम्म पुग्ने खाजा, पानी र ओखती भएको ब्याग म कहिल्यै बिर्सिन्न । यो ब्याग मेरो चिहानमा पनि लगाइदिने भनेका छन् आफन्तले !
खगेन्द्र दाइ वायुपङ्खी घोडाजत्तिकै तयार भएर बोल्नुभयो– ‘बाटो कता हो सङ्केतजी ?’
बाटो सडक छोड्दै उकालोतिर मोडिन थालेकाले उहाँ अगाडि बत्तिनुभएथ्यो ।
७३ वर्ष पुगेका दाइको उकालो हिँड्न सक्ने क्षमता देखेर हामीले ‘मास्तिर पुगेपछि सानो ताल छ । हो, त्यहाँ पुगेर अडिनु होला’ भन्यौँ ।
त्यो तालमा पानीहाँस छन् । सम्भवतः माछा पनि होलान् तर बल्लतल्ल खगेन्द्र दाइलाई भेट्टायौंँ । उहाँ पुगेर पनि फोनको क्यामेराले तालको फोटो खिच्दै हुनुहुन्थ्यो ।
हामी पुग्नासाथ उहाँले भन्नुभो– ‘अनि सङ्केत ब्रो यो तालको नाम चैँ के हो नि ?’
‘था’ छैन सर, यो साधारण ताल हो । मे बि स्टिल नेमलेस ।’
‘उसो भए हामी यसको नामकरण गरौंँ’ उहाँले भन्नुभयो । मैले एकछिन घोरिएर भनेँ– ‘लु त्यसो भए सङ्ग्रौला ताल राखम्, जे पर्ला पर्ला ।’
मेरो कुरो सुनेर उहाँ मरुञ्जेल हाँस्नुभयो । काँधमा बोकेको खकने झोला सुर्केर कुहिनोमा पुग्यो । जङ्ग सरको जोडी खित्काले नजिकका सेता पानीहाँसका बथान झन् ओरओर आए । ख्यालख्यालमा यो तालको नाम सङ्ग्रौला ताल राख्यौँ ।
नेपालका सरकारी वा गैरसरकारी सङ्घ–संस्थाले खगेन्द्र सङ्ग्रौलाको नाममा केही नामकरण नगरे पनि बेलायतवासीले उहाँको सम्झनामा तालको नाम त राख्यौँ भन्दै रमाइलो ग¥यौँ ।
फेरि हाम्रा पाइला अघिबढे । रमिते डाँडा पुग्न बाँकी नै थियो । रमिते डाँडा पुग्नुअगाडि तलतिरका होचा पहाड उक्लन बाँकी नै थियो । मझौला खालका पहाडलाई लेभेन्डरका फूलले शोभनीय बनाएका थिए । उकालो चढ्न छोडिएन । फोक्सो मुखाँ आउलाजस्तो भयो तर खगेन्द्र दाइ आनन्दले हिँडिरहनुभयो । उहाँको फोक्सो हाम्रोभन्दा धेरै राम्रो रहेछ !
एक जोडी नेपाली बाजेबजु मर्निङवाक गरेर फर्किदै थिए । स्वास्थ्यका लागि यत्तिको हिँडडुल गर्नु रामै्र हो । यो जम्काभेटमा केही फोटो खिचेर हामी छुट्यौँ ।
हामी रमिते डाँडा (भ्यू पोइण्ट) पुग्यौँ । जहाँबाट फार्नब्रो बिजनेस एर्पाेट, विशाल वाटर ड्याम्प, बोर्ली ताल लगायत वरिपरिका सबै सहर राम्ररी देख्न सकिन्छ । यहाँको यात्रामा खासै खाजा नबोकी जाँदा पनि हुन्छ, किनकि पहाडको फेदीको नजिकै अल्डरसट सहरमा नेपालीको एक घना बस्ती छ । जहाँ नेपालमा पाइने खानाका सबै परिकार पाइन्छन् । हामी पनि रमिते डाँडाको रमिता हेरेर त्यसैलाई ताकेर ओरालो झ¥यौँ ।
खगेन्द्र सरको उकालो–ओरालो हिँडाइले हामी तीन जनालाई छक्कै बनायो । यो उमेरमा पनि युवा क्षमता देखेर उहाँको निक्कै लामो आयु हुनसक्ने अनुमान ग¥यौँ । ‘भन्नलाई सबैले यसै भन्छन् तर भगवान्को कानमा नपरोस्, केदार ब्रो’ यति भन्दै उन्यू घारीको डाँडामा एकछिन अडिनुभयो र आकाशतिर हेर्नुभयो ।
यी यथार्थवादी लेखकको पनि यतिबिघ्न भगवान्प्रति आस्था रहेछ । अनि भगवान् आकाशमै बस्दारहेछन् भन्ने पनि देखियो उहाँको हेराइको आशय ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds