इतिहासपुरुषको सम्झना

 डा. विष्णु न्यौपाने

 


daimondइतिहासपुरुष डायमनशमशेर राणाको भौतिक शरीर वि.सं. २०६७ फागुन २० बाट यो धरतीमा नरहे पनि राणाकाल, पञ्चायतकाल, बहुदयीय प्रजातन्त्रको अनुभव गरेका तथा २००७, २०४७ र २०६२÷६३ को आन्दोलनमा सक्रिय सहभागी हुनुभएका राणाको स्मरण प्रत्येक देशभक्त नेपालीले गरिरहेका छन् र गरिरहनेछन् ।
राणाशासन कालमा शासकहरू एकातिर सत्तालोलुपता, हत्या, भोगविलास र स्वार्थमा लिप्त थिए भने अर्कातर्फ सर्वसाधारण जनता श्रमिक, मजदुरीको पशुवत् निम्नस्तरको कष्टपूर्ण जीवनयापन गरिरहेका थिए । यो विभेदबाट नै डायमनशमशेरमा राणाशासनप्रति वितृष्णा उत्पन्न भई जनमुखी शासन व्यवस्थाको अङ्कुरण भएको थियो । प्रजातन्त्र र स्वतन्त्रताका लागि क्रान्ति गर्नैपर्छ भन्ने निष्कर्षमा पुग्नुभएको थियो । यो क्रान्ति घरभित्रैबाट गर्नुपर्ने पनि उहाँलाई थाहा थियो । “म त्यो सम्पन्न राणा परिवारको, एक हिसाबले हाम्रो आफ्नै राणा परिवारको शासन व्यवस्था हो तर त्यसलाई मैले जनमुखी देखिनँ । शासन त जनमुखी हुनुपर्छ भन्ने मेरो मान्यता हो”, उहाँको भनाइ थियो ।
डायमनशमशेर हिम्मतिलो र आँटिलो व्यक्तित्व हुनुहुन्थ्यो । ‘इतिहास कि गर्नेको रचिन्छ कि मर्नेको’ भन्ने सोचेर सम्पूर्ण नेपाली जनताको मुक्तिका लागि आफ्नो जीवनलाई तरबारको धारमा हिँडाउनुभएको थियो । आफ्नो सम्पूर्ण सुखसयललाई तिलाञ्जलि दिएर, राणाकालीन वैभवलाई त्यागेर जनताको मुक्तिका लागि आन्दोलनमा सहभागी हुने मात्र होइन, नेतृत्व गर्ने कार्यमा पनि अग्रसर हुनुभयो । राणाशासन विरुद्धको पहिलो जुलुसको नेतृत्व उहाँले गर्नुभएको थियो ।
राणाशासनविरुद्धको अभियानमा संलग्न भएको आरोपमा उहाँलाई जुलुसबाटै गिरफ्तार गरी सिंहदरबार जेलमा राखिएको थियो । ती दिन डायमनशमशेरका कठोर र निराशाका दिन थिए । हुन त जेलजीवन कसका पो सुखद हुन्छ र ! त्यसमाथि उहाँलाई राजद्रोहको अभियोग भएकाले जीवन नै धरापमा थियो । जेलमा उहाँलाई केरकार गर्न दिनहुँ जासुसहरू आई धम्की दिइरहन्थे । देश र जनताको मुक्तिका लागि लडेको व्यक्ति मृत्युदेखि डराउने कुरै भएन । आपूmले क्रान्ति नगरे अझै कैयौंँ पुस्ताले कमारा–कमारीको तथा दास–दासीका अमानवीय व्यवस्था भोग्नुपर्ने भएकाले प्रजातन्त्रको उदय र जनताको मुक्तिको सपनालाई विपनामा परिणत गर्न आँटका साथ लागिपर्नुभएको थियो ।
डायमनशमशेर लगायतकाहरूको माग भनेको राणाशासनको अन्त्य, प्रजातन्त्रको बहाली र लोकतान्त्रिक समाजवादी व्यवस्थाको प्रारम्भ मूल थिए । उहाँलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । यो खबरको विरुद्धमा तत्कालीन जर्नेल र लप्टनसम्मका ४५ जना राणा अफिसरले राजिनामा दिएका थिए । नेहरूको नेतृत्वको भारतीय सरकार पनि नेपालमा प्रजातन्त्रको आवश्यकता महसुस गर्दै पद्मशमशेर र मोहनशमशेरलाई प्रजातन्त्रको घोषणा गर्न सल्लाह दिइरहेको थियो । अन्ततः चारैतिरबाट दबाब आएपछि राणासरकार गल्यो र भारतको मध्यस्थतामा राजा त्रिभुवन, राणा र नेपाली काँग्रेसको बीचमा त्रिपक्षीय दिल्ली सम्झौता भयो । वि.सं. २००७ फागुन ७ गते राणाशासनको अन्त्य र बहुदलीय प्रजातन्त्रको घोषणा भयो । यो घोषणपछि राणाशासनविरोधी गतिविधिमा संलग्न भएका डायमनशमशेर लगायतका राजबन्दीहरू थुनामुक्त भए ।
प्रजातन्त्रको स्थापना भएपछि मुक्तिसेनाका हतियार सरकारको नियन्त्रणमा लिनुपर्ने आवश्यकताबोध भई यस कार्यमा डायमनशमशेर खटिनुभएको थियो । उहाँले यो काम सफलतापूर्वक फत्ते पनि गर्नुभएको थियो । नेपाली सेनामा प्रजातान्त्रिक पुनर्गठनको काम पनि उहाँले सफलतापूर्वक, बिनाभेदभाव सम्पन्न गर्नुभएको थियो । वि.सं. २०१४ मा भएको ‘भद्रअवज्ञा आन्दोलन’मा उहाँको सक्रिय सहभागिता थियो । वि.सं. २०१५ को आमनिर्वाचनपछि बीपी कोइरालाको नेतृत्वको सरकारले बिर्ता उन्मूलन घोषणा गरेको थियो । यस कार्यमा तत्कालीन उपप्रधानमन्त्री सुवर्णशमशेरले आफ्नो १२ हजार बिघा जग्गा सरकारलाई बुझाउने प्रस्ताव गर्नुभयो । यसको समर्थन डायमनशमशेरले गर्नुभएको थियो । यस्तै डायमनशमशेरले पनि आफ्नो एक हजार बिघका जग्गा सरकारलाई बुझाउने प्रस्ताव गर्नुभयो र यसको समर्थन सुवर्णशमशेरले गर्नुभयो । उहाँहरू आफूले बोलेका कुरालाई व्यवहारमा उतार्न सक्रिय भएर लागिपर्नुहुन्थ्यो ।
वि.सं. २००७ देखि २०१७ बीचको समयमा राणा र शाहहरू आफ्नो गुमेको अधिकार फिर्ता ल्याउने प्रयासमा लागिरहे । नेताहरूमा पनि पदलोलुपता छँदै थियो । नेताहरू पदका लागि पार्टी परिवर्तन गर्ने, नयाँ पार्टी खोल्ने, शक्तिकेन्द्र धाउने काममा मग्न थिए । नेताहरूमा राजनीतिक परिपक्वता देखिएको थिएन । राजा महेन्द्र पनि शक्ति हत्याउने दाउमा थिए । महेन्द्रको ‘कु’ को हल्ला जताततै फैलिइरहेको थियो । यस कार्यमा आपूm जिम्मेवार बन्नुपर्ने डाममनशमशेरलाई महसुस भयो र तुरुन्तै सेनामा आफ्नो गतिविधि बढाई महेन्द्रलाई कब्जामा लिई ‘सेरेमोनिल किङ’ बनाउने योजना बुन्नुभयो । सेनाबाट यस कार्यका निम्ति ‘ग्रीनसिग्नल’ पनि आयो तर प्रधानमन्त्रीको तर्फबाट अनुमोदन हुन बाँकी नै थियो । प्रस्ताव लिएर उहाँ बीपीकहाँ जाँदा बीपीले ‘प्रजातन्त्रवादीले यस्तो गर्न हुँदैन’ भनेपछि डामनशमशेरको योजना असफल भएको थियो ।
वि.सं २०१७ मङ्सिर २८ गते तत्कालीन राजा महेन्द्र डायमनशमशेरको घरमै गएर डायमन तिमीले मलाई सघाउनुपर्छ, राजदूत वा मन्त्रीमध्ये एक बनाउँछु भनेका रहेछन् । आफ्नो राणकालीन वैभवलाई समेत तिलाञ्जलि दिएर सर्वसाधारण नेपालीसरह जीवनयापन गर्न चाहेका डायमनशमशेरलाई राजाको यो प्रलोभनले किञ्चित् प्रभाव पारेन । उहाँलाई अब भने राजाले साँच्चै ‘कु’ गर्दैछन् भन्ने भयो । नभन्दै वि.सं. २०१७ पुस १ गते थापाथलीमा भइरहेको तरुणदलको सभामा भाग लिन जानुपूर्व नै उहाँ पक्राउ पर्नुभयो । यसै दिन जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालगायत अरू नेता पनि पक्राउ परेका थिए । पक्राउ पर्नुपूर्व डा. तुलसी गिरीले डायमनशमशेरलाई बीपीतिर नलाग्नु, दुःख पाउनुहुन्छ, राजासित म कुरा मिलाउँछु भनेका
रहेछन् । निष्ठावान् राजनीतिका धरोहर डायमनशमशेर यस्ता सानातिना प्रलोभनमा परेर आफ्नो स्वाभिमान गुमाउन चाहनुहुन्नथ्यो । राष्ट्रिय स्वार्थलाई महŒव दिने कुशल राजनीतिज्ञले यस्ता सानातिना स्वार्थमा सीमित हुने कुरै थिएन ।
राजनीतिक अभियोगमा डायमनशमशेरले वि.सं. २०१७ साल पुस १ गतेदेखि २०२३ सालसम्म ६ वर्ष नख्खु कारागारमा कष्टपूर्ण जेलजीवन बिताउनुभयो । दरबारबाट थुनुवाहरूलाई ६÷६ महिनामा म्याद थपिन्थ्यो । म्याद थप्नुभन्दा अगाडि थुनुवाहरूलाई राजाबाट विभिन्न प्रलोभन आइरहन्थे । राजाको समर्थन जुटाउने प्रयास गरिन्थ्यो । जसले राजाको कदमको समर्थन गर्छ, उसलाई जेलबाट छुट्कारा दिइन्थ्यो र कतिलाई मन्त्री पनि बनाइएथ्यो । धेरै नेता यसैगरी छुटेका पनि थिए र मन्त्री पनि बनेका थिए तर स्थिरताको राजनीति गर्ने डायमनशमशेरले राजाका खराब कामको समर्थन गर्नुभएन बरु उहाँले ‘बीपी कोइराला जे भन्नुहुन्छ, मेरो पनि त्यही धारणा हो’ भनिदिनुभयो । यो सच्चा राजनीति गर्नेको इमानदारी थियो । उहाँले राजनीतिक बेइमानी कहिल्यै गर्न जान्नुभएन । त्यसैले उहाँ त्यति छिट्टै जेलबाट पनि छुट्नुभएन । छुटेपछि पनि पटकपटक जेल परिरहनुभयो ।
डायमनशमशेरको सबैसँग मित्रवत् व्यवहार हुन्थ्यो । उहाँ जानीजानी कसैको मन दुखाउन चाहनुहुन्नथ्यो । थुनामुक्त भए पनि जासुसहरू अघि र पछि भएका कारण उहाँको जेलपछिको जीवन पनि त्यति सहज हुन पाएन । तराईको रौतहटको परगन्ना मिठुवा जहाँ उहाँको ४५ बिघा जग्गाजमिन थियो, उहाँ उतै गएर बस्नुभयो । मिठुवा पुगेपछि उहाँलाई मोहीहरूले ठूलो सम्मान गरे । यसबाट उहाँमा अझ राणाकालीन सामन्तवादको बारेमा स्पष्ट हुने मौका मिल्यो । उहाँले त्यति सारो सेवा र सत्कार नगर्न अनुरोध गर्नुप¥यो । उहाँ आदर्शवादी भएकाले ‘जसको जोत, उसको पोत’ भन्ने आफ्नो राजनीतिक मूल्यअनुरूप मिठुवाको ४५ बिगाहा जग्गा तिनै मोहीहरूलाई रजिष्ट्रेशन पास गरिदिनुभयो । उहाँ जे बोल्नुहुन्थ्यो, त्यो व्यवहारमा गरेरै देखाउनुहुन्थ्यो । यो एउटा असल राजनेताको असली चरित्र पनि हो ।
डायमनशमशेरले घरपरिवारलाई त्यति समय दिन सक्नुभएन । घर, परिवार र आफ्नो मात्रै स्वार्थमा लाग्ने व्यक्ति ठूलो मानिस हुन सक्छ तर असल हुन सक्दैन । उहाँ ठूलो मानिसभन्दा पनि असल मानिस हुनपट्टि लाग्नुभयो । घरपरिवारमै सीमित रहनुभएको भए उहाँको अवसानपछि पनि यसरी चर्चामा आइरहनुहुन्नथ्यो ।
डायमनशमशेर जनताका नेता र जनताका साहित्यकार हुनुहुन्थ्यो । नेपाली साहित्यमा उहाँका सेतो बाघ, वासन्ती, अनिता, गृहप्रवेश, सत्प्रयास, प्रतिबद्ध र धनको धब्बा गरी सात उपन्यास कृति प्रकाशित छन् र सबै उत्तिकै चर्चित छन् । ‘सेतो बाघ’को त विश्वका विभिन्न भाषामा अनुवाद भएको छ र त्यति धेरै भाषामा अनुवाद हुने नेपाली साहित्यको एक मात्र कृति यही भएको छ । यसै कृतिको लेखस्वबाट आफ्नो खर्च धानिएको उहाँ बताउनुहुन्थ्यो । उहाँको इच्छा भनेको नेपालमा प्रजातान्त्रिक समाजवादसहितको समृद्ध नेपाल हेर्ने थियो । यो पूर्णरूपमा प्राप्त गर्न नसकेकोमा केही गुनासो उहाँमा थियो । २०४६ सालपछिको प्राप्तिलाई अर्धप्रजातन्त्र मात्र भन्नुहुन्थ्यो । साँच्चै पूर्ण प्रजातन्त्रका लागि २०६२÷६३ को आन्दोलन हुनै रहेछ । यसपछिका दिनमा पार्टी जनतामुखी भएनन्, आफ्नै पेट भर्न मात्र लागे भन्ने कुरामा उहाँ चिन्तित हुनुहुन्थ्यो । उहाँका हजुरबुबा शेरशमशेर जङ्गबहादुर राणा पाल्पाको गभर्नर हुनुहुथ्यो भने पिताजी बुद्धशमशेर जबरा सेनाको कर्नेल हुनुहुन्थ्यो । पिताजी पनि बडाहाकिम हुनुभएथ्यो । राणा परिवारमा जन्मिएर पनि उहाँमा सम्भ्रान्त र उच्चकुलको हुँ भन्ने घमण्ड कहिल्यै आएन । उहाँको जन्म वि.सं. १९७५ असार २१ मा पाल्पामै भएथ्यो । उहाँ एक सफल तथा दूरदर्शी राजनीतिज्ञ, लोकतन्त्रका पक्षधर, समाजवादी नेता भएको स्पष्ट हुन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds