• १६ चैत २०८०, शुक्रबार

आर्थिक अनियमितताविरुद्ध अख्तियारमा उजुरी

blog

अमरगढी समाचारदाता

डडेलधुरा, साउन २४ गते । डडेलधुरा अस्पतालले खरिद गरेका विभिन्न उपकरण, औषधी, अध्यक्षका नाममा लिइएको पेस्की रकम र करारमा कर्मचारी नियुक्तिलगायत घटनामा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी परेको छ। 

सो उजुरीपछि अख्तियारले आवश्यक कागजपत्रसहित उपस्थित हुन अस्पताल प्रशासनलाई पत्र काटेपछि कर्मचारीहरू कागजपत्र मिलाउन व्यस्त रहेको बताइएको छ। आयोगले साउन १५ गते अत्यन्त जरुरी भन्दै कागजात, बिल, भौचर र तस्बिर मागेपछि अस्पतालका प्रशासनिक कर्मचारी कागजात मिलाउनमा व्यस्त भएका हुन्।  अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले २०७९ असार महिनामा स्वास्थ्य शिविर सञ्चालन गर्न आफ्नो नाममा पेस्की लिएको स्वीकार गर्नुभएको छ। अध्यक्षले पेस्की लिन नपाइने प्रावधान हुँदाहुँदै पनि पेस्की लिएको उहाँले स्वीकार गर्नुभयो। 

गत आर्थिक वर्षको साउन महिनामा डडेलधुरा अस्पतालले सुषमा कोइराला मेमोरियल अस्पताल काठमाडौँसँगको प्राविधिक सहयोग र ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) समन्वयमा  शल्यक्रिया शिविर सञ्चालन गरेको थियो।

शिविर सञ्चालनका लागि अध्यक्ष ओझाले आफ्नो नाममा २१ लाख ८६ हजार रुपियाँ पेस्की लिएको बताउनुभयो। यस विषयमा उजुरी परेपछि आयोगले आवश्यक कागजात पठाउन अस्पताललाई पत्र पठाएको छ।  अख्तियारले अस्पताललाई पत्र पठाउँदै शिविर सञ्चालनका लागि अध्यक्षका नाममा लिइएको पेस्की सम्बन्धमा लागत अनुमान स्वीकृत कार्यक्रम, प्रतिवेदन, बिल भौचरलगायतका कागजात १५ दिनभित्र पठाउन ताकिता गरेको छ।