• १२ वैशाख २०८१, बुधबार

सेती पुलबाट खसे साइकल यात्री

blog

साइकल यात्री खसेको सेती पुल ।

फडिन्द्र अधिकारी

लेखनाथ, साउन २३ गते। पोखरा २९ को पटनेरीमा रहेको सेतीपुलबाट एक साइकल यात्री नदीमा खसेका छन्। ३४ वर्षीय भक्तबहादुर राना बिहान पौने १० बजेतिर नदीमा खसेको जानकारी आएपछि खोजी जारी रहेको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो।

रानाको चप्पलको आधारमा उनको परिवारले पहिचान गरेको प्रवक्ता विकले जनाउनुभयो। बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ३ घर भएका राना पोखरा–३३, बागमाराबाट पटनेरीतर्फ जाँदै हुनुहुन्थ्यो। प्रत्यक्षदर्शीले साइकलको ब्रेक फेल हुँदा राना नदीमा खसेको अनुमान गरेका छन्। 

रानाको परिवार अहिले पखरा महानगरपालिका ३३ बागमारामा बस्दै आएको छ। यो पुलमा पोखरा महानगरपालिका वडा न २९ पटनेरीतर्फ जाली लगाइएको छ भने वडा न ३३ तर्फ पुलको दुवै साइडमा जाली लगाइएको छैन। 

प्रहरी प्रवक्ता विकले राना आफैं हाम फालेका हुन् वा साइकलबाट खसेका हुन् भन्ने तथ्यबारे अनुसन्धान भइरहेको बताउनुभयो। मंगलबार साँझसम्म रानाको खोजी जारी छ।