• ७ वैशाख २०८१, शुक्रबार

बुङ्मतीको इँटाले बजार पाएन

blog

ललितपुर,  साउन  २१ गते । ललितपुरको बुङ्मती क्षेत्रमा सात ठूला इँटा उद्योग सञ्चालनमा छन् । ती  उद्योग छ महिना सञ्चालनमा हुन्छन् भने छ महिना वर्षातका कारण बन्द हुन्छन् । अहिले वर्षातका कारण बुङ्मती क्षेत्रका सबै इँटा उद्योग बन्द अवस्थामा छन् । तीन वर्षअघिको इँटा अझै मौज्दात छ, बिक्री भएको छैन ।

बुङमती ट्रायल उद्योगद्वारा सञ्चालित युके इँटाभट्टाका व्यवस्थापक अजय  बुढाथोकीका अनुसार तीन वर्षदेखिको ५० लाख बढी इँटा बिक्री नभएर मौज्दात छ । कोभिडभन्दा पहिले दिनमा ५० गाडी इँटा बिक्री हुन्थ्यो भने अहिले दिनमा एकदेखि आठ गाडीमात्र बल्लबल्ल बिक्री हुने गरेको छ ।

 करोडौँ रकम खर्च गरेर उत्पादन गरेको इँटा बिक्री नभएर मौज्दात रहेपछि उद्योग सञ्चालक वर्षातकाे समयपछि हिउँदमा उद्योग सञ्चालन गर्ने÷नगर्ने भन्ने  विषयमा दोधारमा छन् । 

वर्षाका कारण बन्द भएको उद्योग कात्तिकमा सञ्चालनमा ल्याउने हो भने दुई सय ५० कामदारका लागि करिब रु. एक करोड पेश्की अग्रिम दिनुपर्ने हुन्छ ।  अहिले नै कामदार खोज्ने ठेकेदारलाई पेश्की दिएन भने पछि कामदार पाउन समस्या हुने जनाइएको छ  । इँटा बिक्री नहुँदा अहिले पेश्की पनि दिन नसकेको व्यवस्थापक बुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो, “देशमा आर्थिक मन्दीका कारण मान्छेले घर निर्माण गरेका छैनन् । आर्थिक मन्दीका कारण मान्छेले घर कम बनाएपछि त इँटा बिक्री हुने कुरै भएन । घाटामा उद्योग चलाउने कुरा भएन सकभर आउने वर्षदेखि उद्योग बन्द हुन्छ होला ।”

त्यसैगरी अर्को क्यापिटल ब्रिक इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित इँटा उद्योगको पनि २० लाख इँटा बिक्री नभएर मौज्दात छ । बिक्री नभएर यति धेरै इँटा मौज्दात रहेको क्यापिटलको पहिलो अनुभव हो । वर्षातकाे समयमा बन्द भएको इँटा उद्योग अब हिउँदमा कसरी सञ्चालन गर्ने विषयमा चिन्ता छ । 

क्यापिटल ब्रिक इन्डस्ट्रिजका व्यवस्थापक हरिचन्द्र बिडारीका अनुसार ५० रोपनी जग्गा भाडामा लिएर उद्योग सञ्चालन गरिएको छ । जग्गाको भाडामात्र वार्षिक रु. २० लाख तिर्नुपर्ने हुन्छ । उहाँले भन्नुभयो, “करोडौँ खर्च गरेर भट्टा सञ्चालन गरेर इँटा उत्पादन गरे पनि बिक्री नहुँदा अब उद्योग कसरी सञ्चालन गर्ने भन्ने चिन्ता छ ।”

 व्यवस्थापक बिडारीका अनुसार हाल ढुवानीसहित एक केजी कोइलालाई रु. ५० पर्न जान्छ । छ लाख इँटा तयार गर्नका लागि २५ टन कोइला प्रयोग गर्नुपर्ने हुन्छ । उहाँले भन्नुभयो,“कोइलाको महँगी र कामदारको ज्यालालगायत सबै जोड्दा इँटा उद्योग सञ्चालन गर्न जटिल र खर्चिलो छ । उत्पादन भएको इँटा बिक्री भए त ठीकै हुन्थ्यो तर इँटा नै बिक्री हुँदैन ।” 

बुङ्मती क्षेत्रमा सञ्चालित इँटाभट्टामा ‘सिजन’अनुसार करिब दुई हजारले रोजगार पाएका छन् । अहिले वर्षातका कारण उद्योग बन्द भएकाले सबै कामदार घर फर्केका छन् । आर्थिक अभावका कारण उद्योग बन्द भएमा सयौँले रोजगार गुमाउनेछन् । रासस