• १३ वैशाख २०८१, बिहिबार

प्राकृतिक चिकित्साको उपयोगिता

blog

प्राकृतिक चिकित्साले मनुष्यको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सन्तुलित बनाउन प्राकृतिक तत्वलाई उपचारको साधन बनाउँछ । यो विधाको उपचारले शरीर, मन र आत्माको त्रिमानसिक सन्तुलन कायम गर्छ । रोगको प्रभावको हैन, कारणको उपचार गर्छ । शरीरको स्वाभाविक गुण र शक्तिलाई पुनर्ताजगी गर्छ । मानवलाई प्रकृतिसँग जोड्दै उच्चस्तरीय स्वास्थ्य स्तर कायम गर्नु नै प्राकृतिक चिकित्साको मुख्य लक्ष्य हो । स्वस्थ एक सम्पूर्ण शारीरिक, मानसिक, आध्यात्मिक एवं सामाजिक कल्याणको स्थिति हो । जसले व्यक्ति र समाजलाई सुख, समृद्धि र सन्तुलित जीवनको अनुभूति गर्ने क्षमता र आत्मविश्वास प्रदान गर्छ । मन चिन्तामुक्त र स्थिर हुँदा मात्र मानिस सन्तुष्ट हुन्छ । शरीर स्वस्थ नभई मन र आत्मा स्वस्थ हुँदैन । 

स्वास्थ्य एक सन्तुलित जीवनशैली, उचित आहार, प्रकृतिसँग सम्बन्धित गतिविधिबाट प्राप्त आनन्द, योग, ध्यान, नियमित व्यायाम, समयमा निद्रा र स्वस्थप्रद रहने ध्यान, चिन्तन र स्वभावमा निर्भर हुन्छ । स्वास्थ्य एक सकारात्मक भावना र सामान्य कार्यक्षमताको प्रतीक हो । स्वास्थ्यले पूर्णताको गन्तव्य निर्धारण गर्छ । जीवनमा खुसी र सफल हुन सहयोग गर्छ । स्वास्थ्य व्यक्तिको चौतर्फी विकास गर्ने आधार हो । स्वस्थ शरीरले नै शारीरिक, मानसिक र आध्यात्मिक श्रम गर्न सक्छ । मानिसले श्रम गर्ने क्षमतालाई सदुपयोग गर्दा सुखका दिन सजिलै निम्तन्छन् । स्वास्थ्य मानिसको समृद्धि र सुखको मुख्य स्रोत हो । 

स्वास्थ्य व्यक्तिको महत्वपूर्ण धन हो । किनकि स्वस्थ व्यक्तिलाई मात्रै अवसर प्राप्त हुन्छन् । स्वास्थ्य अनमोल छ । धन सम्पत्ति नष्ट भए पुनप्र्राप्ति हुन्छ तर स्वास्थ्य नष्ट भयो भने पुनप्र्राप्ति हुन्न । स्वास्थ्यले सबै क्षेत्रमा सफलता प्राप्त गर्न ऊर्जा, समर्पण र क्षमता प्रदान गर्छ । परिणामस्वरूप सामरिक, मानसिक, शैक्षिक, व्यावसायिक तथा व्यक्तिगत लक्ष्य प्राप्तिको एक मात्र भरपर्दो स्रोत स्वास्थ्य हो । नागरिकलाई निरोगी राख्ने अपूर्व क्षमता प्राकृतिक चिकित्सामा भएकाले देशले यो विधाको आवश्यकतालाई आत्मसात् गर्नु पर्छ । स्वास्थ्य नै धन हो भन्ने भनाइलाई मन, वचन र व्यवहारबाट बुझ्ने सचेतनाको अभिवृद्धिमा प्राकृतिक चिकित्सा विधाको महìवपूर्ण योगदान छ ।

मुख्यतः अशुद्ध साथै प्रदूषित आहार नै रोग उत्पत्तिका कारण हुन् । जल तथा वायु प्रदूषण र खाद्यान्नमा प्रयोग हुने किटनाशक रसायनका कारणबाट नै रोगको उत्पत्ति हुन्छ । अस्वस्थ साथै अनुयायी जीवनशैली एवं अप्राकृतिक आहार, नियमित व्यायामको कमी, धूमपान, अत्यधिक मद्यपान, नियमित निद्राको कमी, तनाव साथै स्नायु प्रणालीमा उत्पन्न नकारात्मक प्रभावले मानिसमा स्वास्थ्य समस्या उत्पन्न हुन्छ । अपचका कारण पेटमा रुग्णकारक तत्व जम्मा हुन थाल्छ । परिणामस्वरूप शरीरमा रोगको उत्पत्तिले मानिस अस्वस्थ हुन्छ । त्यसका अतिरिक्त आनुवांशिक प्रभावले पनि रोगको उत्पत्ति गर्भावस्थाबाटै पनि हुन सक्छ । यसका साथै पर्यावरणीय प्रदूषण साथै जल, वायु प्रदूषणका अतिरिक्त पृथ्वीको तापक्रममा भएको वृद्धि एवं अन्य वातावरणीय कारणले पनि मानिस रोगी हुन्छ । सबै प्रकारका रोगले व्यक्तिको सिर्जनशीलता र कार्यक्षमतालाई नष्ट गर्छ । त्यसैले रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने शिक्षा र विचार उत्पन्न गर्ने दिशामा प्राकृतिक चिकित्सा विज्ञानको भूमिका महत्वपूर्ण मानिन्छ ।

प्राकृतिक चिकित्सा पाश्र्व प्रभाव नभएको संसारका विभिन्न संस्कृति र परम्पराबाट विकसित संसारकै प्राचीन र भरपर्दो साथै सस्तो चिकित्सा पद्धति हो । यो भारत वर्षको सबैभन्दा पुरानो चिकित्सा पद्धतिको प्रमुख हिस्सा पनि हो । प्राकृतिक चिकित्सा औषधी विज्ञानको यस्तो विधा हो; जसले उपचारका क्रममा प्राकृतिक वस्तु मात्रै प्रयोग गर्छ । यो चिकित्सा पद्धतिमा वनस्पति, पात, फल, फूल, बिउ साथै अन्य माटो, पानी, मालिस जस्ता प्राकृतिक वस्तु प्रयोग हुन्छन् । यो विधामा स्वास्थ्यलाई सुधार्न र संरक्षण गर्न शरीर, मन र आत्मालाई सन्तुलनमा राखिन्छ । 

प्राकृतिक चिकित्सा विज्ञानले आधुनिक चिकित्सा विज्ञानले जस्तो अप्राकृतिक दबाई प्रयोगको विकल्पमा प्राकृतिक अर्थात् वनस्पतिजन्य औषधी, आहार, व्यायाम, प्राणायाम, ध्यान आदिका माध्यमले उपचार गर्छ । प्राकृतिक चिकित्सा विधाले स्वास्थ्यसम्बन्धी सचेतना र ज्ञानको विस्तार गर्छ । व्यक्ति र समाजलाई स्वस्थ, स्थिर, सन्तुष्ट र प्राकृतिक जीवनशैली अनुसरण गर्न प्रोत्साहित गर्छ । शारीरिक गुणवत्ता प्राकृतिक चिकित्साको मुख्य विशेषता हो । यसले शरीरको ऊर्जाको स्तर, रोग प्रतिरोधात्मक क्षमता साथै कार्यक्षमतालाई दर्शाउँछ । शारीरिक गुणवत्ताले शरीरमा ऊर्जाको सञ्चार र उपयोगलाई सन्तुलित राख्छ भने यसले व्यक्तिलाई ऊर्जावान् बनाउनुका साथ सक्रिय बनाउन मद्दत गर्छ । शारीरिक गुणवत्ताको अर्थ सङ्क्रमणबाट बच्ने क्षमता हो । त्यसैले स्वस्थ, सुरक्षित र क्रियाशील जीवनका लागि शारीरिक गुणवत्ता प्रथम सर्त हो । 

प्राकृतिक चिकित्साले व्यक्ति र समाजलाई स्वस्थ रहन विवेक एवं चेतनाको विकास र विस्तार गर्छ । शारीरिक स्वास्थ्यको सम्बन्ध मानसिक स्वास्थ्यसँग हुन्छ । प्राकृतिक चिकित्सा विधाले तनाव, चिन्तालाई कम गर्न ध्यान, योग, प्राणायाम जस्ता उपायद्वारा मानिसक शान्तिलाई प्रोत्साहित र प्रवर्धन गर्छ । खानपिन, खराब जीवनशैली र पर्यावरणीय कारणले मानव शरीरमा उत्पन्न हुने विषाक्त वस्तुलाई कम गर्न र नष्ट गर्न प्राकृतिक चिकित्साले प्राकृतिक तत्वको उपयोग गर्छ । शरीरमा उत्पन्न हुने र विकसित हुने विषाक्त बस्तुबाट मुक्ति भनेको नै शरीरमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नु हो । त्यसैले प्राकृतिक चिकित्सालयमा रोगीले मात्रै उपचार गर्दैनन् । निरोगीसमेत अस्पताल भर्ना हुन्छन् र खानपिन र खराब जीवनशैलीका कारण उत्पन्न हुने विषाक्त वस्तुलाई शरीरमा नियमित सर्भिसिङका माध्यमले निष्कासन गरिन्छ । यस्तो नियमित निष्कासनले मानिसलाई निरोगी र तन्दुरुस्त राख्छ । 

हाम्रो शरीर पनि एक प्रकारको ईश्वरनिर्मित इन्जिन हो । हाम्रा सवारीसाधनको आयु लम्ब्याउन र सशक्त सेवा लिनका लागि नियमित सर्भिसिङ आवश्यक हुन्छ । त्यस्तै आधुनिक चिकित्सा विधामा नभएको शरीरको सर्भिसिङको काम प्राकृतिक चिकित्साले गर्ने भएकाले यो उपचार पद्धति मानव मात्रका लागि वरदान हो । आधुनिक औषधी विज्ञानमा कुनै एउटा रोगको उपचारका लागि सेवन गर्ने औषधीले केही समयलाई थामथुम मात्र गर्छ । प्राकृतिक उपचारले रोगका कारणको उपचार गर्ने भएकाले रोगलाई जरैदेखि उखेल्छ । न यो उपचारमा पाश्र्व प्रभाव हुन्छ, न रोग फेरि दोहोरिन्छ ।

जुन व्यक्ति प्राकृतिक उपचारको विधाप्रति आकर्षित हुन्छ, त्यो व्यक्ति वा समाज अनुशासित, लगनशील मात्रै हुँदैन, नैतिकता र सदाचारप्रति सधैँ सचेत हुन्छ । ताजा, स्वस्थ र प्राकृतिक आहारलाई जहाँ व्यक्तिले जीवनशैली बनाउँछ, त्यहाँ सदाचार र नैतिकता जस्ता विषय प्रवर्धन मात्रै हुँदैनन् कि उसका स्वास्थ्य समस्यासमेत स्वतः समाधानको दिशातिर अग्रसर हुन्छन् । परिणामस्वरूप व्यक्ति र समाज स्वतः निरोगी, क्रियाशील र चिन्तनशील बन्छ । प्राकृतिक चिकित्सा विधाले व्यक्तिलाई आफ्नो शरीरका अवस्थाको अध्ययन, अनुसन्धान, व्याख्या र विश्लेषण गर्न उत्प्रेरित गर्छ । स्वास्थ्य सचेतनाका दृष्टिकोणले यस्तो उत्प्रेरणा एक प्रकारको स्वास्थ्य क्षेत्रको क्रान्ति हो । जब व्यक्तिले आफ्नो शारीरिक अवस्थाको सूक्ष्म अध्ययन प्रारम्भ गर्छ, उसले आफ्नो स्वास्थ्य रक्षा गर्ने धेरै विधि र प्रविधिसम्बन्धी जानकारी राख्छ । 

स्वास्थ्यमा हुने उतारचढावलाई जाँच्ने विषय नै दिसा र पिसाब हुन् । दिसा र पिसाब गरेपछि त्यसलाई हेर्ने र त्यसको आकार, प्रकार, मात्रा र रङको अध्ययनले व्यक्तिलाई आफ्नो विषयमा अब के गर्ने भन्ने ज्ञान दिन्छ । उदाहरणका लागि पिसाबमा पहेँलोपन बढी देखियो भने आफूले सेवन गरेको पानीको मात्रालाई बढाउनुपर्ने सङ्केत गर्छ । अब सम्बन्धित व्यक्तिले पानीको मात्रालाई बढाउँदा सम्भावित रोगको उपचार समयमा नै हुन्छ । त्यस्तै पानीमा हाम्रो दिसा कहिले डुब्छ त कहिले उत्रन्छ । यो किन हुन्छ ? यस्तो अध्ययन र अनुसन्धानमा प्राकृतिक चिकित्सा विधाले उत्प्रेरित गर्छ । यसको सामान्य कारण भनेको शरीरमा चिल्लोको मात्रात्मक सङ्केत हो । शरीरमा चिल्लोको मात्रा बढी भयो भने दिसा उत्रन्छ । शरीरमा भएको चिल्लोको मात्राले उत्पन्न हुन सक्ने कोलेस्ट्रोलका कारण सम्भावित हृदयाघात जस्तो घातक रोगबाट बच्न समयमा नै सतर्क बनाउँछ । सामान्य सतर्कताले व्यक्तिलाई ठुलाठुला रोगबाट बच्न मद्दत गर्छ । यी र यस्ता विषय उदाहरण हुन् । मूल विषय त के हो भने व्यक्तिले आफ्नो शरीरको अध्ययन र अनुसन्धान तथा विश्लेषण विभिन्न कोणबाट गर्ने क्षमता र तत्परता मुख्य विषय हुन् । यो तत्परता, उत्सुकताको विकास र प्रवर्धनका कोणबाट हेर्दा पनि प्राकृतिक चिकित्सा प्रणाली उत्तम मानिन्छ । 

प्राकृतिक चिकित्सा विधाले व्यक्ति स्वयंलाई आफ्नो शरीरको अध्ययन र अनुसन्धान गर्न उत्प्रेरित गर्छ । व्यक्ति स्वास्थ्यका प्रति सदैव सचेत हुनु भनेको ऊभित्र रोगबाट कसरी बच्ने भन्ने ज्ञानको अभिवृद्धि हुनु हो । खानपिन र जीवनशैलीमा सुधार गर्ने चेतनाको विस्तारले व्यक्तिले रोग प्रतिरोधात्मक क्षमता विकास गर्दैगर्दा व्यक्ति र समाज स्वतः निरोगी हुने प्रयत्नमा जुट्छ । समाज निरोगी कसरी हुने भन्ने विषयको अन्तव्रिर्mया र छलफलमा प्रवेश गर्छ । यस्ता छलफलबाट समाजमा निरोगी कसरी हुने भन्ने दृष्टिकोणको विकास हुन्छ । प्राकृतिक चिकित्साको प्रचारप्रसार भनेको व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमतालाई अभिवृद्धि गर्न प्रोत्साहित गर्नु हो । अहिले हामी दुई जना भेट भयौँ भने हाम्रो छलफल र अन्तव्रिर्mयाको विषयवस्तु राजनीति हुन्छ । यस्ता छलफलले राजनीतिलाई न निकास दिन्छ न त्यसको कुनै अर्थ र उपयोगिता छ । यो समयको दुरुपयोगभन्दा अत्युक्ति हुन्न ।

आधुनिक औषधी विज्ञानका अस्पताल जति धेरै खुलेका छन्, त्यति नै रोगी बढेका छन् किन ? जुन अस्पतालमा गए पनि रोगीको चाप बढेको छ । डाक्टरको सङ्ख्या बढेको छ । अनुसन्धानबाट नयाँ नयाँ औषधी पत्ता लागेका छन् । रोग र रोगीको सङ्ख्या दिनहुँ बढ्दो छ । एउटा रोगको औषधी सेवन गर्दैगर्दा केही दिनपछि अर्को रोग थपिन्छ । रोग र रोगी घटनुको सट्टा बढ्दै जान्छ । किनभने एउटा रोग लाग्नेबित्तिकै त्यसको उपचार नभएर त्यसलाई दबाउने औषधीको नाम हो दबाई । दबाईको काम रोगलाई केही समय दबाउने हुन्छ । त्यसैले जति डाक्टर र अस्पतालको सङ्ख्या बढे पनि रोग र रोगीको सङ्ख्या घटेको छैन, उल्टै बढेको छ । आधुनिक औषधी विज्ञानले रोगी बढाएको छ । समाजमा पराश्रितको सङ्ख्या बढाएको छ । 

प्राकृतिक चिकित्सा विज्ञानमा एउटा रोगको उपचारमा जाँदा एउटै मात्र रोगको उपचार नभएर ‘रोग अनेक उपचार एक’ भन्ने सिद्धान्त लागु हुन्छ । एउटै उपचारबाट शरीरभित्र भएका सम्पूर्ण रोगको उपचार एकैसाथ हुन्छ । समाजलाई निरोगी राख्ने प्राकृतिक उपचार पद्धतिमा रोगीका रूपमा परिवारमा आश्रित हुँदैनन् । नागरिकको कार्यक्षमतामा ह्रास हुन्न । कोरोनाकालमा आधुनिक अस्पतालमा हजारौँ मानिसले जीवन गुमाए तर ७८९ बिरामीको उपचार गर्दा एउटा बिरामी पनि सिकिस्त नभई कुनै औषधी सेवनबिना प्राकृतिक उपचार पद्धतिबाट निको भएको ज्वलन्त उदाहरण हो – नवलपुर जिल्लाको रजहरस्थित प्राकृतिक चिकित्सालय । दिगो, भरपर्दाे स्वास्थ्य सेवा दिन सक्षम प्राकृतिक चिकित्सा विधाका अस्पताल आमनागरिकको पहुँचमा हुने वातावरण बनाउन सरकार किन लाग्दैन ? 

प्राकृतिक चिकित्सा कम खर्चिलो, भरपर्दो र रोगका कारणको उपचार हुने र देशभित्रका प्राकृतिक साधनबाट नै उपचार हुने हुँदा यो विधा दुर्लभ विदेशी मु्द्राको बचतका दृष्टिकोणले पनि महत्वपूर्ण छ । प्राकृतिक चिकित्साले व्यक्तिको सम्पूर्ण स्वास्थ्यप्रति सचेतना र जागरण ल्याउँछ । सम्पूर्ण स्वास्थ्य नै खुसी, शान्ति र समृद्धिको भरपर्दाे आधारशीला हो । प्राकृतिक चिकित्सालयको विस्तार र विकास गरेर हामी निरोगी र आत्मनिर्भर किन नबन्ने ?

 


Author

डा. मायाकुमारी शर्मा