• ७ वैशाख २०८१, शुक्रबार

सागर जबराको ‘किङ्डम लस्ट’ पुस्तक लोकार्पण

blog

साहित्यकार तथा राजनीतिज्ञ सागर जङ्गबहादुर राणाद्वारा लिखित ‘किङ्डम लस्ट्’ पुस्तक लोकार्पण गरिँदै । तस्बिर : केशब गुरुङ

काठमाडौं, साउन १७ गते । साहित्यकार तथा राजनीतिज्ञ सागर जङ्गबहादुर राणाद्वारा लिखित ‘किङ्डम लस्ट्’ पुस्तक लोकार्पण भएको छ । 

बिहीबार काठमाडौँमा एक समारोह आयोजना गरी पूर्व सभामुख दमननाथ ढुङ्गाना, सांसद रघुजी पन्त, इतिहासकार जोन ह्वेल्प्टन र लेखक सागर जबराले संयुक्तरुपमा सो पुस्तक सार्वजनिक गर्नुभएको हो । 

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले लिखित सन्देशमार्फत लोकतान्त्रिक आन्दोलन र राजनीतिक भोगाइ एवम् अनुभवलाई पुस्तकमा व्यक्त गरिएकोप्रति खुसी व्यक्त गर्नुभयो ।

२००७ सालदेखि गणतन्त्र स्थापनासम्मका राजनीति, प्रशासनिक व्यक्तित्व, राजदरबारका व्यक्तिसँग भएको प्रत्यक्ष संवाद पुस्तकमा रोचक ढङ्गले प्रस्तुत गरिएको राष्ट्रपतिको लिखित सन्देशमा उल्लेख गरिएको छ । 

यस्तै, पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि पुस्तक लोकार्पण सन्दर्भमा लिखित सन्देशमार्फत बधाई एवम् शुभकामना व्यक्त गर्नुभयो ।

पुस्तकमा नेपालको राजनीतिक इतिहास तथा विभिन्न कालखण्डका गतिविधि समेटिएको छ । उक्त पुस्तकमा राणाकालदेखि विभिन्न राजनीतिक दलका नेताहरूसँग गरिएको संवाद एवम् अन्तरसंवादमा आधारित रहेर पुस्तक तयार गरिएको जानकारी लेखक राणाले दिनुभयो । 

उहाँले पुस्तक लेखनमा सबैभन्दा बढी प्रेरणा आफ्नो परिवारबाट प्राप्त भएको बताउनु भयो । पुस्तक लोकार्पण कार्यक्रममा परराष्ट्रमन्त्री एन.पी. साउद, पूर्वमन्त्री, राजनीतिक दलका नेता, पत्रकार, साहित्यकारको बाक्लो उपस्थिति थियो । 


पुस्तकमाथि टिप्पणी गर्नुहुँदै पूर्व सभामुख दमननाथ ढुङ्गानाले यसमा २००७ सालको नेपालको राजनीतिक अवस्थादेखि तत्कालीन राजा ज्ञानेन्द्र शाहको बिदाइसम्मको इतिहास उल्लेख रहेको बताउनुभयो । 

यस्तै, नेकपा (एमाले) सांसद रघुजी पन्तले  नेपालमा राणाकालमा अँध्यारो मात्रै नभएको उज्यालो पक्ष पनि थियो भन्ने विषय उल्लेख भएको टिप्पणी गर्नुभयो ।

बिपी कोइराला, शाहवंशीय राजतन्त्र, प्रजातन्त्र, राजदरबारका गतिविधि र सिंहदरबारमा परेको प्रभावका विषय पुस्तकमा समेटिएको उहाँको भनाइ छ ।

उहाँले त्यसयता २०४७ को संविधान र पछिल्लो कालखण्डलाई समेट्नुपर्ने सुझावसमेत राख्नुभयो ।

उहाँ १९६३ सालमा भरत शमशेर, जगदीश शमशेरलगायतका नेता कोही जेलमा त कोही भारतमा निर्वासित जीवन बिताइरहेका थिए । तत्कालीन समयमा बिपी कोइरालाले मेलमिलापको नीति लिएर नेपाल आउनु भएपछि राणा पनि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो ।

उहाँसँग कांग्रेसमा केन्द्रीय सदस्य हुँदै विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको लामो राजनीतिक जीवन अनुभव छ । जबरा ८५ वर्षीय हुनुहुन्छ र हाल नेपाल आर्ट काउन्सिलको अध्यक्ष हुनुहुन्छ ।