• ८ वैशाख २०८१, शनिबार

कृषि मन्त्री भुसाल र भारतीय राजदूत श्रीवास्तबिच भेटवार्ता

blog

कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालसँग भेटवार्ता गर्नुहुँदै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव । तस्बिर : मन्त्री भुसालको निजी सचिवालय

काठमाडौं, साउन १८ गते । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबिच भेटवार्ता भएको छ । बिहीबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा कृषि मन्त्री भुसाल र राजदूत श्रीवास्तवबिच भेटवार्ता भएको हो ।

भेटमा मन्त्री भुसालले भारतले चामल निर्यातमा रोक लगाएको बारेमा चासो व्यक्त गर्नुभएको छ । उहाँले यसअघि जस्तै भारतले चामल निर्यातलाई सहज बनाउनुपर्ने बताउनुभयो ।

यसबारे राजदूत श्रीवस्तवले चामल विदेश निर्यातमा रोक लगाएको निर्णय भारतले गरे पनि सो निर्णय नेपालको हकमा लागू नहुने जानकारी दिनुभयो ।

‘‘विदेशमा चामल निर्यात गर्ने निर्णय नेपालको हकमा लागू हुँदैन । यस अघि पनि भारतले गहुँ निर्यातमा रोक लगाएको भए पनि नेपाललाई असर नगरेको र गत वर्ष पनि तीन लाख ५० हजार मेट्रिकटन गहुँ उपलब्ध गराएको थियो । अहिले पनि भारतले नेपाललाई आवश्यक चामल उपलब्ध गराउन तयार रहेको छ,’’ भारतीय राजदूत श्रीवास्तवले भन्नुभयो ।

भारतले विदेशमा चामल निर्यातमा रोक लगाउने निर्णय सार्वजनिक भएपछि नेपालमा चामलको भाउ बढेको बताउनुहुँदै मन्त्री भुसालले यसलाई सहज बनाउन पहल गरिदिन राजदूत श्रीवास्तवसँग छलफल गर्नुभएको हो ।