• १६ चैत २०८०, शुक्रबार

पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत वितरण

blog

मृतकका हकदारलाई राहत प्रदान गरिँदै । तस्बिर : राजु लामिछाने

राजु लामिछाने 

रुकुमपश्चिम, साउन १८ गते । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–७ मा पहिरोमा परेर ज्यान गुमाएका दुई परिवारलाई जनही दुई लाखको दरले राहत रकम उपलब्ध गराइएको छ।

गत आइतबार बाँफिकोट गाउँपालिका वडा नम्बर ७ को पोखरापानी भन्ने स्थानमा घाँस काट्न जाँदा सुख्खा पहिरोमा परेर ज्यान गुमाएका मृतकका नजिकका हकदारलाई घरमै पुगेर राहत दिइएको हो । पहिरोमा परेर स्थानीय ४२ वर्षीय धनमाया खत्री र ४८ वर्षीय कालीबहादुर खड्काको मृत्यु भएको थियो । 

जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकको निर्णयपश्चात् बिहीबार पीडितको घरमै गएर पुगेर राहत रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो । प्रति मृतक दुई लाख रुपियाँको दरले दुवै परिवारका नजिकका कानुनी हकदारलाई राहत उपलब्ध गराइएको हो । प्रजिअ पन्तका अनुसार विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड, २०७७ बमोजिम पीडित परिवारलाई उक्त राहत उपलब्ध गराइएको छ । 

यसैबीच विपद् व्यवस्थापन समितिको बैठकले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, २०८० र विपद् व्यवस्थापनका लागि तर्जुमा गरिएको परिचालन योजना, २०८० लाई अनुमोदन समेत गरेको छ । बैठकले जिल्लामा भएका विपद्का घटना र भएको क्षतिको समीक्षा गर्नुका साथै वर्षाका कारण हुनसक्ने सडक अवरुद्धको अवस्थालाई सम्बन्धित निकायहरूसँग समन्वय गरेर अवरोध हटाउने निर्णय गरेको छ । 

त्यसैगरी, बैठकले आगलागीबाट पीडित भई तत्काल राहत पाएका दुई जना पीडितहरूको राहत विवरण अनुमोदन गरेको छ । आगलागीको घटनाबाट पीडित बाँफिकोट गाउँपालिका वडा नम्बर ६ का जनक बिक र मुसिकोट नगरपालिका वडा नम्बर ११ का कमल दमाईलाई उपलब्ध गराइएको राहत रकम अनुमोदन गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी एवम् विपद् व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद पन्तले विपद्का घटनाहरूलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिका सरोकारवाला निकाय बिचमा समन्वय गरेर पूर्व सतर्कता सहित तयारी अवस्थामा रहने निर्णय गरिएको बताउनुभयो ।