• ७ वैशाख २०८१, शुक्रबार

सङ्घीयता जोगाउन सबै लाग्नुपर्छ : मुख्यमन्त्री यादव

blog

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहित अतिथिहरु । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा

धनुषा, साउन १८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले देशमा आएको सङ्घीय व्यवस्थालाई सफल हुन नदिन विभिन्नखालका षडयन्त्र भइरहेको भन्दै त्यसलाई जोगाउन हामी सबैको सहयोगको खाँचो रहेको बताउनुभएको छ । 

शिक्षा तथा समाज कल्याण मन्त्रालय तथा निकायको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई बिहीबार जनकपुरधाममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले भन्नुभयो, “जनताको छिटोछरितो काम हुनका लागि सङ्घीयता आएको हो, यदि सङ्घीयतामा पनि जनताले दुःख पायो भने सङ्घीयताको अर्थ हुँदैन । त्यसैले यस्तो अवस्था आउन नदिनका लागि कर्मचारी गम्भीर हुनु आवश्यक छ । उहाँले शिक्षा क्षेत्रमा सुधारका लागि प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयबाट छुटाएर छुट्टै शिक्षा तथा समाज कल्याण मन्त्रालय बनाएको बताउनुभयो । 

सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी अनुसारको उपलब्धि प्राप्त नगरेको भन्दै उपलब्धि दिने किसिमले अगामी दिनमा कामकाज गर्न शिक्षा क्षेत्रका कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले काम गर्नेलाई सम्मान र नगर्नेलाई सजाय भन्ने अवधारणाका साथ सरकारकारले अगामी दिनमा कदम चाल्ने प्रस्ट पार्नुभयो । 

मधेश प्रदेशलाई शिक्षाको हब बनाउनु पर्ने भन्दै मधेशको शिक्षाको अवस्थामा सुधारका लागि देखिएका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले शिक्षाको साथै खेलकुदलाई प्रदेश सरकारले प्राथमिकताका साथ अगाडि बढाइरहेको भन्दै प्रदेशको आठ वटै जिल्लामा रङ्गशाला निमार्णका लागि कामकाज अघि बढेको जानकारी दिनुभयो । 

उहाँले ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाका लागि प्रदेश सरकारले कामकाजलाई अगाडि बढाएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामका लागि घोषणा गरेको एक सय करोड जनकपुरधाममा निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा खर्चिने उहाँको भनाइ छ । 

कार्यक्रममा शिक्षा तथा समाज कल्याणमन्त्री महेश यादवले शिक्षा क्षेत्रको सुधारका लागि सरकार प्रतिबद्ध रहेको भन्दै शिक्षामा सुधारका लागि सबैले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो दायित्व निर्वाह नगर्नेलाई छुट नहुने भन्दै शिक्षा कार्यक्रम कार्यान्वयनको क्रममा देखिएका समस्या समाधानका लागि मन्त्रालय तयार भएको बताउनुभयो । 

कार्यक्रममा मधेश प्रदेशका प्रमुख सचिव किशोर चौधरीले यस प्रकारको समीक्षाले समस्या र चुनौतीको पहिचान हुने र अगामी दिनमा यसको समाधान गरी अघि बढ्न कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले योजना बनाएर वार्षिक कार्यक्रमको कार्यान्वयन गर्न आग्रह गर्दै कार्यान्वयनको क्रममा नीतिगतरुपमा कुनै समस्या आएमा समयमै जानकारी गराउन कर्मचारीलाई निर्देशन दिनुभयो । 

शिक्षा तथा समाज कल्याण मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा कृषि विश्वविद्यालय मधेश प्रदेशका उपकुलपति डा. वैद्यनाथ महतो, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, मधेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति रामभरोस कापरीसहितकाले आफ्नो धारणा राख्नुभएको थियो ।