• ६ चैत २०८०, मङ्गलबार

स्वर्गद्वारीमा भारतीय तीर्थालुकाे भीड

blog

सुजल श्रेष्ठ

प्युठान, साउन १८ गते । जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीमा भारतीय तीर्थालु बढेका छन् । साउन महिना सुरु भएसँगै भारतबाट आउने तीर्थयात्री बढेको आश्रमले जनाएको छ । 

भारतबाट तिर्थालुहरु साउन महिनामा बढी आउने गरेको आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले बताउनुभयो । उहाँका अनुसार विशेष गरी सोमबारको दिन बढी भीड लाग्ने गर्छ ।

“सोमबारको दिन २ हजारसम्म तिर्थालु हुन्छन्,” उहाँले भन्नुहुन्छ, “साउनमा पनि सोमबार अलि बढी भीड हुन्छ ।’ 

भारतसँगै कपिलवस्तु र रुपन्देहीबाट समेत तीर्थयात्री स्वर्गद्वारी आएका छन् । भारत तथा नेपालका विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेर तीर्थयात्री आउने गरेको भिंगृका होटल व्यवसायी दुर्गा बोहोराले जानकारी दिनुभयो ।

सोमबार मात्र नभएर अरू बेलामा पनि तीर्थयात्री आउने क्रम बढेको उहाँले जानकारी दिनुभयो । स्वर्गद्वारीमा वैशाखे पूर्णिमा, तिहारको औँसी, दसैँको फूलपाती, माघे सङ्क्रान्तिमा विशेष पूजा तथा मेला लाग्ने गर्दछ । 

स्वर्गद्वारीमा नेपाल लगायत भारतका विभिन्न ठाउँबाट पर्यटक आउने आश्रमको तथ्याङ्क छ । वि.सं. १९९६ सालमा रोल्पाको सखी गाविसको रुम्टी गाउँमा महाप्रभुको जन्म भएको थियो । १९५२ सालमा प्रभुले स्वर्गद्वारी आश्रममा बौद्धिक मन्त्रबाट दीप प्रज्वलन गरी स्थापना गर्नुभएका अखण्ड महायज्ञ अहिले पनि निरन्तर बलिरहेको छ । प्रभुको १९९७ मार्ग शुक्ल चौथीका दिन निधन भएको थियो ।