• ६ चैत २०८०, मङ्गलबार

स्वदेश फर्कियो क्रिकेट टोली

blog

फाइल तस्बिर ।

काठमाडौं, साउन १८ गते । श्रीलङ्कामा सम्पन्न एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिता सकेर केही समय प्रशिक्षण गरी नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । 

नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपको समूह चरणबाटै बाहिरिएको थियो । प्रतियोगितामा समूह ‘बी’ बाट प्रतिस्पर्धा गरेको नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग नौ विकेटले पराजित भएको थियो । 

नेपालले समूहको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ‘ए’ लाई तीन विकेटले हराएको थियो । स्वदेश फर्किएपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले नेपालले यसपटक राम्रो खेल्न नसकेपनि आगामी दिनमा सुधार हुने बताउनुभयो । 

‘‘छिट्टै सोचेको जस्तो केही परिवर्तन हुँदैन । एक महिनामा कोही पनि विराट कोहली र बाबर आजम बन्दैनन् । त्यसको लागि बिस्तारै समय लाग्छ । जित्दा मात्तिनु र हार्दा आत्तिनु हुँदैन । हामी सबैले धैर्यता राख्न सक्नुपर्छ,’’ रोहितले भन्नुभयो । 

नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपलाई एसिया कपको तयारीको रूपमा लिएको थियो । यस प्रतियोगितामा सिनियर राष्ट्रिय टोली खेलाउने नेपाल एक्लो देश हो । अन्य देशले युवा खेलाडीलाई मौका दिएका थिए । 

एसिया कप आगामी अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्ममा पाकिस्तान र श्रीलङ्कामा हुने एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । नेपालले अगस्ट ३० मा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग खेल्नेछ । 

समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।