• १६ चैत २०८०, शुक्रबार

ढङढङ्गे झरनामा आन्तरिक पर्यटक

blog

ढङढङ्गे झरनामा पुगेर सेल्फी लिँदै आन्तरिक पर्यटक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १८ गते । ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकामा रहेको ढङढङ्गे झरनाप्रति पर्यटक आकर्षित बन्दै गएका छन् । भारतको सिक्किम र पाँचथर जिल्लासँग सीमा जोडिएको सिदिङ्वा गाउँपालिकाको उक्त झरनामा पछिल्लो समय आन्तरिक पर्यटक आकर्षित बन्दै गएका हुन् । सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिन र वडा ६ मेहेलेको सिमानामा रहेको ढङढङ्गे झरना नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै (स्थापित) गएको छ । निकै मनमोहक, आकर्षक र सुन्दर ढङढङ्गे झरनामा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको स्थानीयले बताएका छन् । 

पर्यटकको उपस्थिति बढ्न थालेसँगै विभिन्न सामाजिक सञ्जालमा ढङढङ्गे झरनाको तस्बिर र भिडियोहरू भाइरल बनिरहेका छन् । सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममार्फत झरनासम्बन्धी प्रचार हुन थालेपछि आन्तरिक पर्यटकको उपस्थिति बाक्लिँदै गएको सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनका वडाध्यक्ष अमर लिम्बूको भनाइ छ । 

वडाध्यक्ष लिम्बूका अनुसार ताप्लेजुङसहित छिमेकी जिल्ला पाँचथर लगायतबाट ढङढङ्गे झरनाको भ्रमण तथा अवलोकन गर्न पर्यटक जाने गरेका छन् । ढङढङ्गे झरनाको भ्रमणमा जाने पर्यटकहरू झरनाको सुन्दरतामा भुल्दै रमाउने गरेका लिम्बूले बताउनुभयो । भर्खरै भ्रमण गर्नुभएका स्थानीय राजकुमार बानियाले ढङढङ्गे झरनामा पुगेर रमाउन पाउँदा आनन्द महसुस गर्न पाएको बताउनुभयो ।

आन्तरिक पर्यटक ओमेन्सा राईले पनि ढङढङ्गे झरनाको मनमोहक दृश्यले जो कोहीलाई आनन्द दिलाउने बताउनुभयो । ढङढङ्गे झरना वरिपरि हरियाली जङ्गलसँगै आकर्षक देखिने भीर तथा पहराको बिचबाट झर्ने भएकाले पनि सुन्दर रहेको राईले बताउनुभयो । उहाँका अनुसार झरना निकै अग्लो रहेको र छुट्टै खालको ढङढङ् आवाज सुनिने हुँदा पर्यटक थप आकर्षित हुने गरेका छन् । 

यता पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको ढङढङ्गे झरनाको प्रवर्द्धन र विकासमा भने पहल नपुगिरहेको बताइएको छ । झरनाको आवश्यक प्रचारप्रसारमा अपुग रहेको छ भने सडक लगायतका पूर्वाधारहरू निर्माण हुन सकिरहेको छैन । सिदिङ्वा गाउँपालिकाले पर्यटकीय गन्तव्यका रूपमा स्थापित तिम्बुङपोखरी क्षेत्रसहित ढङढङ्गे झरना, सिदिङ्मा धाम र चमेरे गुफालाई पर्यटकीय गन्तव्य बनाउनका लागि पहल भने सुरु गरेको छ । 

ढङढङ्गे झरनालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि सङ्घ र प्रदेश सरकारसँग योजना माग गरिएको गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरियाले बताउनुभयो । पालिकाको तर्फबाट प्रस्ताव गरिएको योजनाअनुसार चालू आर्थिक वर्षका लागि सङ्घीय सरकारले १५ लाख रुपियाँ बजेट विनियोजन गरेको उपाध्यक्ष कडरियाले जानकारी दिनुभयो । प्रदेश सरकारको योजना भने आफूलाई थाहा नभएको उहाँले बताउनुभयो । 

गाउँपालिकाको तर्फबाट पनि ढङढङ्गे झरनाको विकासका लागि चालू आवमा केही बजेट विनियोजन गरेको जनाएको छ । ढङढङ्गे झरना हुँदै तेर्छे, सिदिङ्मा धाम र तिम्बुङपोखरीलाई जोड्नेगरी बृहत् पर्यटन योजना गाउँपालिकाले बनाए पनि बजेटको अभाव रहेको छ । स्थानीय तहको पर्यटन योजनाका लागि सङ्घ र प्रदेश सरकारसँग नै आवश्यक बजेटका लागि पहल हुँदै आएको गाउँपालिकाका अध्यक्ष मानबहादुर राईको भनाइ छ ।