• १३ वैशाख २०८१, बिहिबार

बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी पालिकाको सुविधाबाट वञ्चित

blog

कोहलपुर नगरपालिका कार्यालय ।

सिराज खान 

नेपालगञ्ज, साउन १८ गते । कोहलपुर नगरपालिकाले सहकारीबाट ऋण लिएर भाखा नाघी सक्दा समेत ऋण नतिर्ने र बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीहरूलाई पालिकाबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित गरिने भएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै सहकारीबाट ऋण लिएर भाखा नाघी सक्दा समेत ऋण नतिर्नेहरू तथा बचतकर्ताको रकम हिनामिना गर्ने सहकारीका सञ्चालक र कर्मचारीलाई पालिकाबाट प्रदान गर्ने सेवा सुविधा बाट वञ्चित गर्ने जानकारी दिएको हो । 

नगरपालिद्वारा प्रकाशित गरिएको सूचनामा भनिएको छ, “सहकारीबाट ऋण लिएर भाखा नाघी सक्दा समेत पटक-पटक ऋण तिर्न ताकेता गर्दा पनि सम्पर्कमा नआउने, नटेर्ने र केही सहकारी संस्थाले पनि बचतकर्ताले बचत गरेको रकम फिर्ता नगरी सम्पर्कविहीन हुने, गैर जिम्मेवार बन्ने प्रवृत्ति बढिरहेको सूचना पालिकालाई प्राप्त भएको छ ।” 

यस्ता गैर जिम्मेवारीपूर्ण कार्य नगर्नु नगराउनु हुन र ऋण लिएका शेयर सदस्यहरूले ऋणको साँवा र व्याज भुक्तानी गर्नुहुन, बचतकर्ताको बचत रकम फिर्ता गरी कार्यालय सञ्चालनको व्यवस्था मिलाउन नगरपालिकाले सम्बन्धित सबैलाई निर्देशन जारी गरेको छ । 

साथै सूचनामा गरिएको अनुरोधलाई बेवास्ता गरी ऋण नतिर्ने ऋणी सदस्य र कार्यालय सुचारु नगर्ने सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरूको नाम सार्वजनिक गर्नुका साथै नगरपालिकाले प्रदान गर्ने सेवा सुविधाबाट वञ्चित गरी प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने जानकारी गराइएको छ । 

कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले कोहलपुर भित्र सहकारीको ऋण लिएर लामो समयसम्म नतिर्ने र सर्वसाधारणले सहकारीमा बचत गरेको रकम पटक-पटक माग्दा पनि फिर्ता नगर्ने दुवै प्रकारको काम भइरहेकोले सो रोक्नका लागि सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय गरिएको बताउनुभयो । उहाँले नगरपालिकाले प्रकाशित गरेको सूचनालाई हल्का रूपमा नलिन आग्रह गर्दै त्यस्ता सबैलाई कडाइ गरिने चेतावनी पनि दिनुभयो ।