• ८ वैशाख २०८१, शनिबार

ललितपुरमा कौसी खेतीमार्फत सहरी कृषि प्रवर्द्धन परियोजना सुरु

blog

ललितपुर महानगरपालिकामा सुरु गरिएको कौसीखेती । तस्बिर : ललितपुर महानगर

ललितपुर, साउन १८ गते । ललितपुर महानगरपालिकामा कौसीखेती प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम (युएन ह्याबिट्याट) को संयोजनमा ललितपुर महानगर, हसेरा कृषि अनुसन्धान तथा तालिम केन्द्र र स्टोरी साइकलसँगको सहकार्यमा “कौसी खेतीमार्फत सहरी कृषि प्रवर्द्धन परियोजना” सुरु गरिएको छ ।

ललितपुरको नमुना मच्छिन्द्र माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा सहरी खेती प्रवर्द्धनका लागि तयार पारिएको करेसा एप डाउनलोड गरी ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जरी शाक्य बज्राचार्यले परियोजनाको शुभारम्भ गर्नुभयो ।


घरभित्रको फोहोरलाई घरभित्रै व्यवस्थापन गरी सहरलाई प्रदूषणमुक्त बनाउन, उद्यमशीलता विकास गर्न र सहरी सुन्दरता प्रवर्द्धन गर्न कौसी खेतीले महत्त्वपूर्ण योगदान दिनसक्ने बताउनुभयो ।

विपद्को अवस्थामा आइपर्ने सहरी खाद्य सङ्कटको जोखिमलाई कम गर्ने, सहरी कृषि र दिगो फोहोरमैला व्यवस्थाका लागि घरधुरी स्तरमा क्षमता अभिवृद्धिमा जोड दिने, उत्पादित उपजलाई उन्नत प्रविधिमार्फत बजारमा जोड्ने उद्देश्य परियोजनाको रहेको संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रमकी बसोबास कार्यक्रम प्रबन्धक प्रज्ञा प्रधानले बताउनुभयो ।

विद्यालय तहदेखि नै यस सम्बन्धी जनचेतना जगाउनु जरुरी रहेकोले नमुना मच्छिन्द्र माध्यमिक विद्यालयमा नमुना फार्म निर्माण गरिएको उहाँको भनाइ छ । हातहातमा कौसी खेतीको ज्ञान पुगोस् भन्ने उद्देश्यले करेसा एप निर्माण गरिएको पनि उहाँले बताउनुभयो । 

ललितपुर महानगरपालिका महिला विकास शाखाका अधिकृत शोभादेवी खरेलले कौसी खेतीलाई महिला उद्यमशीलतासँग जोड्ने नगरपालिकाको लक्ष्य रहेको बताउनुभयो ।


परियोजनाले ललितपुर महानगरभित्र सहरी खेती प्रवर्द्धनका लागि तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम समेत सम्पन्न गरेको छ । उक्त तालिममा ललितपुर महानगरभित्रका विभिन्न वडाका ४७ जना प्रशिक्षार्थीहरुले भाग लिनुभएको थियो । उक्त तालिममा कौसी खेतीमार्फत महिला उद्यमशीलता, सहरी कृषिबारे स्थानीय अभ्यास र अन्तर्राष्ट्रिय परिवेशको लेखाजोखा, फुड म्यापिङ, माटोविनै खेती गरिने प्रविधि हाइड्रोपोनिक्स, बाली पात्रो तयार गर्ने तरिका, नर्सरी व्यवस्थापन, घरभित्रको फोहोरमैला व्यवस्थापन गरी मल बनाउने तरिका, रोगकिरा नियन्त्रणका लागि प्रकाश जालको प्रयोग, मोहिनी पासो, मिश्रित खेती, तहगत खेती र करेसा एपको प्रयोगबारे गोविन्द शर्मा, विवेक धिताल, महेश्वरी विष्ट दीपिका ज्ञवाली, निश्चल पोखरेल र सौरभ ढकालले प्रशिक्षण दिनुभएको थियो ।

तालिममा सहभागी वडा नं २३ की रश्मि कँडेलले तीनआना, चारआनामा खुम्चिएको सहरी जीवनलाई जीवन्त बनाउन, विषादीयुक्त तरकारी खपत कम गर्न र घर बसाइँको समयलाई रचनात्मक बनाउन कौसी खेतीले महत्त्वपूर्ण योगदान पुर्‍याउन सकिने ज्ञान तालिमबाट पाएको बताउनुभयो ।

नमुना मच्छिन्द्र माध्यमिक विद्यालयका प्रज्ञ राधाकृष्ण महतले नमुना फार्मका लागि आफ्नो विद्यालय छनौट गरिएकोमा परियोजनाप्रति आभार व्यक्त गर्नुहुँदै फार्मको रेखदेखका लागि विद्यालयमा इको क्लब गठन गरिएको र कौसी खेतीबाट उत्पादित उपज छात्रावासमा प्रयोग हुने जानकारी दिनुभयो ।