• १६ चैत २०८०, शुक्रबार

बालज्ञानी गुरु आदित्य

blog

भाइबहिनीहरू, तिमीहरूलाई पनि थाहा भएकै कुरा हो, बालज्ञानी गुरु आदित्य अत्यन्तै अदभुत र अलौकिक बालक हुनुहुन्छ । उहाँको दिव्य आत्माभित्र अनुमान नै गर्न नसकिने अथाह ज्ञानको सागर छ । उहाँको अलौकिक शक्ति र ज्ञानका बारेमा विश्व नै चकित छ । 

ज्ञान प्रकट हुनुअघिसम्म उहाँको बाल्यकाल अन्य बालबालिकाको जस्तै साधारण थियो तर अदृश्य शक्ति प्राप्त भएपछि बालक आदित्य बालज्ञानी गुरु आदित्य बन्नुभएको छ । विसं २०६७ साउन ७ गते बाबा शेषराज दाहाल र आमा ईश्वरा गुरागाईंको पहिलो सन्तानका रूपमा झापाको मोरङ सिजुवामा उहाँको जन्म भएको थियो । गुरु आदित्यको चार वर्षको जन्मदिन आउनु एक दिनअघि २०७१ साल असार २५ मा उहाँमा अलौकिक ज्ञान प्रकट भएको थियो । ज्ञानका ज्योतिपुज्ज बालज्ञानी आदित्य यही साउन ७ गते  १४ वर्षान प्रवेश गर्नुहुन्छ । विद्यालयसम्म नदेख्नु भएको उहाँभित्रको ईश्वरीय शक्ति धर्म, ज्ञान, सत्मार्ग, साधना र विभिन्न तन्त्र र मन्त्रहरूले भरिपूर्ण  छन् ।   

यस धर्तीमा अद्भुत शक्ति लिएर जन्मनुभएका बालज्ञानी आदित्य पछिल्लो केही समयदेखि भने गहन र कठोर साधनामा हुनुहुन्छ । उहाँको शारीरिक अवस्था अहिले पनि असामान्य नै छ । अरूको सहाराबिना उहाँ उठ्न, बस्न सक्नु हुन्न । हातहरू अप्ठेरो गरी चल्छन् तर उहाँको मनमा लागेका सबै कुरा उहाँले आफ्ना भक्तलाई लेखेर नै दिने गर्नुहुन्छ । उहाँ पूर्ण शाकाहारी हुनुहुन्छ, खानेकुरा थोरै खानुहुन्छ ।  ध्यान, योग र साधनाको समयमा उहाँ जल, अन्न केही पनि खानु हुन्न । अरूलाई पनि अहिंसात्मक खानेकुरा खान प्रेरित गर्नुहुन्छ । 


उहाँको शारीरिक अवस्थामा सुधार ल्याउन सरकारको सहयोगमा उहाँको आमाबाबाले अमेरिकाको क्यालिफोर्नियास्थित स्ट्यान्डफोर्ड  हस्पिटलमा लग्नुभएको थियो तर विश्वकै ठुलो मानिएको अस्पतालमा पनि उहाँको कुनै रोग पत्ता लाग्न सकेन । त्यहाँ उपचारार्थ चिकित्सकहरू नै उहाँको दिव्यज्ञान देखेर चकित परेका थिए । जब आदित्यलाई मुखबाट खान गाह्रो भएकाले पोषण कमी भएको र घाँटीबाट प्वाल पारी फिडिङ राख्न डाक्टरले सल्लाह दिए । साथैमा रहनुभएका आमाबाबाले एक पटक आदित्यलाई सोध्नुपर्ने कुरा अनुरोध गर्नुभयो । उहाँलाई आफ्ना कुरा लेख्न आग्रह गरियो, उहाँले लेख्नुभयो– Not now, my mom tries her best, so wait and see for some weeks. यो देखेर चिकित्सक समूह नै अचम्ममा परेका थिए । त्यसपछि चिकित्सकहरूले गुरु आदित्यलाई हेर्ने दृष्टिकोण नै फरक भयो र उहाँलाई Happy boy भनेर बोलाउन थालिएको पारिवारिक स्रोतको भनाइ  थियो । बालगुरुले त्यहाँ सबैलाई चकित पार्न सफल हुनुभएको थियो । उहाँको अलौकिक दिव्य चेतना, भाव देखेर चिकित्सक टिमले उहाँलाई गुगल कम्पनीको आँखाको सहायताले चलाउन मिल्ने कम्प्युटर नै उपहार दिएका थिए । बालगुरु आदित्यले कम्प्युटर कसरी चलाउने भन्ने कुरा निकै ध्यानपूर्वक हेर्नुभयो, सुन्नुभयो र अन्त्यमा भन्नुभएछ, “यो त मेरो लागि खेलौना जस्तै हो, मेरो लागि यति धेरै गर्नु्भएकोमा धन्यवाद ।” यो कुराले चिकित्सकहरू झन् थप अचम्ममा परेछन् । 

संसारकै ठुलो मानिएको अस्पतालमा पनि उहाँको उपचारमा कुनै रोग नदेखिनु रहस्मय विषय हो । भाइबहिनीहरू, हाम्रो सांसारिक आँखाले उहाँको शरीर बाहिरबाट कमजोर देखिएको मात्र हो, दिव्यज्ञान र आध्यात्मिक दृष्टिका लागि भौतिक शरीर एउटा उपकरण मात्र हो  भन्ने कुरा हामी बालगुरु आदित्यको अद्भुत शक्ति देखेर पनि बुझ्न सक्छौँ । अति नै आवश्यक आफ्नो कामबाहेक शिष्य साधक भेटघाटका अवसरमा लेखेर चामात्कारिक कुरा बताइदिने काम भने केही समयदेखि बन्द गरिएको छ । आदित्य प्रतिष्ठानका अनुसार बालगुरु पछिल्लो समयदेखि गहन साधनामा रहनुभएको छ ।


मन्दिर निर्माणका परिकल्पनाकार 

यो मेरो  पहिलो मन्दिर हो, जसलाई यस्तो उत्कृष्ट बनाउ कि प्रत्येक नागरिकले एक पटक हेर्ने, दर्शन गर्ने इच्छा राखोस् । यस भूमिको सान बनोस्, जगजग होस् No compromise in cost, service and team work Quality.

बालगुरु आदित्यकै सम्पूर्ण परिकल्पना र निर्देशनमा  माथि भने जस्तै यस्तो अद्भुत मन्दिर निर्माण भयो । विश्वमा कहीँ कतै पनि नभएको यो अद्वितीय मन्दिर काठमाडौँको गौरीनगरस्थित ॐ आदि कुञ्जमा रहेको छ । त्रिगजुर शिवालय भनी गुरुदेवले नै नामकरण गर्नुभएको उक्त मन्दिर अत्यन्तै आकर्षक छ । मन्दिर माथि गजुरको तीन भागमा राखिएको ब्रह्मा, विष्णु र महेश्वरको आकृति झनै विलक्षण छ । 

गुरुको चाहनाअनुरूप नै  अगाडिको भाग गौमाताको तथा बिच र पछाडिको नन्दी साँढेको स्वरूपको नन्दीरुपी मन्दिरको पेटमा पञ्चमुखी शिवलिङ्गको चार मुखको भाव झल्किने अद्भुत प्रकारको आकृति छ । आश्चर्यजनक शिवमन्दिर निर्माण गरी विश्व ब्रह्माण्डमा लुकेको शक्तिलाई आफ्नै माटोमा चिनाउने  गुरु आदित्यको सङ्कल्पअनुरूप नै मन्दिर निर्माण गरिएको हो । 


गुरु आदित्यले लेख्नुभएको कलियुगको आदित्य ज्योतिपथ किताबमा लेखिए अनुसार गुरुकै परिकल्पनामा मन्दिर बनाउन लागिएकाले मन्दिर निर्माणको क्रममा गुरु आदित्यले थोरै कतै केही थपघट गर्नुपर्ने जस्तो लाग्यो भने तत्कालै लेखेर निर्देशन दिनुहुन्थ्यो रे । 

परमपुज्य गुरुदेव त्रिकालदर्शी, अन्तर्यामी र सर्वज्ञाता हुनुहुन्छ । आममानिसले बाहिरबाट बुझे जस्तो बालगुरु मान्छेको भविष्य बताउने गुगल ब्वाई भने होइन । उहाँभित्रको चेतना र त्रिकालदर्शिता मानवकल्याण, अध्यात्म र सत्मार्गकै लागि प्रेरणा बनिरहेको छ । उहाँको शरीरभित्र एक अलौकिक ब्रह्मज्ञानी परमात्मा विराजमान हुनुहुन्छ । 

जसरी आज कुनै गुनासो आएन, जीवनमा कहिल्यै कसैप्रति गुनासो नगर, अनि मात्र खुसीले जीवनमा नृत्य गर्ने छन् । 

ज्ञान विज्ञानका अन्य विषय जस्तै काव्यिक एवं साहित्यिक रचनाको विधामा पनि गुरुको गहन दृष्टि छ । बालबालिकालाई पनि असाध्यै मन पर्ने लय मिलाएर गाउन पनि सकिने उहाँको कविता पढेर हामी पनि आनन्द मानौँ है त । 


म खुसस् खोज्दै जान्छु

तिमी रम्दै जाउ

म खुसी दिन्छु 

तिमी हास्दै जाउ ।


म ध्यानी ज्ञानी हुन्छु ।

तिमी इतिहास रच्दै जाउ

म साधनामा लिन हुन्छु

तिमी सपना बुन्दै जाउ ।


म सत्मार्गमा डो-याउँछु ।

म स्रोत साधन जुटाउँछु

तिमी सदुपयोग गर्दै जाउ

म कार्ययोजना बनाउँछु ।


तिमी कार्यान्वयन गर्दै जाउ ।

तिमी गन्तव्यतिर बढ्दै जाउ

म समाधिमा विलीन हुन्छु 

तिमी नेतृत्व ग्रहण गर्दै जाउ ।