• १६ चैत २०८०, शुक्रबार

अझै बनेनन् स्वास्थ्य चौकी

blog

दोलखा समाचारदाता

दोलखा, साउन १८ गते । आठ वर्षअघिको भूकम्पका कारण भत्किएका दोलखाका १८ वटा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रभावित भएको छ । भारत सरकारको अनुदानमा निर्माण हुन लागेका स्वास्थ्य चौकी भवन निर्माण पहिलो चरणमै रहेका छन् । भीमेश्वर नगरपालिका–८, बोचमा निर्माणाधीन स्वास्थ्य चौकी भवनको एक ढलान मात्र भएको छ । काजी बुढाथोकीले भन्नुभयो, “सात वर्षदेखि अन्य विकल्प नहुँदा बाध्यताले जोखिमयुक्त पुरानै भवनबाट सेवा प्रदान गरिएको छ । बन्ला भन्ने आसैआसमा दिन बितिरहेका छन् । दाताले निकै ढिला गरेर निर्माण थालनी गरेका हुन् ।” 

स्वास्थ्य चौकी भवन निर्माणको जिम्मा एउटै ठेकेदारलाई दिएपछि निर्माण विलम्ब हुन गएको जानकारी दिँदै भीमेश्वर नगरपालिका–९ का वडाध्यक्ष हिमाल श्रेष्ठले भन्नुभयो, “अहिलेसम्म जस्ताको टहरोबाट स्वास्थ्य सेवा दिनु परेको अवस्था छ । भर्खरै भवन निर्माण सुरु भएको छ । कति वर्ष लाग्ने हो । अरू  स्वास्थ्य चौकीका भवन निर्माण भई नयाँ भवनबाट सेवा पाइरहेका छन् । हामी टुलु टुलु हेरेर बसेका छौँ ।” 

भारत सरकारको अनुदानमा निर्माण हुने जिल्लाका सबै स्वास्थ्य चौकी भवनको अवस्था उस्तै छ । सम्झौता अनुसार आगामी माघ महिनासम्म निर्माण भइसक्नु पर्ने हो तर निर्माण सम्पन्न होला जस्तो नलाग्ने सङ्केत देखिएको छ । गत २०७६ सालको असारपछि मात्र स्वास्थ्य चौकी भवन निर्माण गर्ने नीति नियम बनेकाले निर्माणमा ढिलाइ भएको हो । सहरी तथा भवन निर्माण आयोजना मन्थलीका सबइन्जिनियर रामशरण न्यौपानेले छोटै अवधिमा १५ वटा सम्पन्न, १८ वटा निर्माणाधीन अवस्थामा रहेको बताउनुभयो । 

करिब दुई वर्षको अवधिमा नेपाल सरकारको एक करोड ५५ लाख ६० रुपियाँ लगानीमा मालु स्वास्थ्य चौकी भवन र नौ करोड ३९ लाख ४६ हजार रुपियाँ लगानीमा हावा, च्यामा, फस्कु, सुस्पा, चङ्खु र खारेमा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ । मकैबारी र शैलुङमा एकै प्याकेजमा तीन करोड ३९ लाखमा, पवटीमा एक करोड ७६ लाख र ओराङमा एक करोड ७६ लाख रुपियाँ र गौरीशङ्करमा दुई करोड ६८ लाख ३६ हजार रुपियाँ लगानीमा यी भवन निर्माणाधीन रहेको इन्जिनियर न्यौपानेले बताउनुभयो । भारतीय दूतावासको १७ करोड तीन लाख २८ हजार रुपियाँ लगानीमा पहिलो चरणमा सात प्याकेज अन्तर्गत झुले, ठुलो पाताल, श्यामा, घ्याङ्सुकाठोकर, दुधपोखरी, भुसाफेदा र मागापौवा स्वास्थ्य चौकी भवन निर्माणाधीन छन् । 

दोस्रो चरण अन्तर्गत १० प्याकेजमा भारतीय दूतावासको २४ करोड ४९ लाख ६७ हजार रुपियाँ लगानीमा बोच, लाँकुरीडाँडा, लामीडाँडा, लापीलाङ चौकी र आयुर्वेद, झ्याकु, चिलङ्खा, बिगु, मार्बु र भेड्पु आयुर्वेद भवन र थप एक करोड ८२ लाख २१ हजार रुपियाँमा काटाकुटी स्वास्थ्य चौकी भवन निर्माणाधीन रहेको जानकारी उहाँले दिनुभयो । सदरमुकाम चरीकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रको पाँच करोड ४३ लाख रुपियाँमा आइसियु, इमर्जेन्सी र शल्यव्रिmया कक्ष निर्माणाधीन छ । यी भवन २०८० साल माघ मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी उहाँले दिनुभयो ।