• ११ वैशाख २०८१, मङ्गलबार

गाउँपालिकाले निजी विद्यालयसँग माग्यो छात्रवृत्ति वितरणको अभिलेख

blog

विष्णुप्रसाद पोखरेल

दमक, साउन १८ गते । झापाको कमल गाउँपालिकाका संस्थागत (निजी) विद्यालयहरूले तोकिए अनुसार बिद्यार्थीहरुलाई छात्रवृत्ति नदिएको गुनासो बढेपछि गाउँपालिकाले संस्थागत विद्यालयसँग यसको विवरण माग गरेको छ । 

कमल गाउँपालिका शिक्षा समितिको निर्णय अनुसार शिक्षा नियमावली २०५९ को नियम १२१ को उपनियम १ मा व्यवस्था भएको संस्थागत विद्यालयमा अध्ययन गर्ने प्रत्येक कक्षामा प्रथम, द्वितीय हुने विद्यार्थीलाई ५० देखि शत प्रतिशतसम्म जेहेन्दार छात्रवृत्ति उपलब्ध गराउने पर्ने व्यवस्था कार्यान्वयन गराइने गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।

यसै गरी उपनियम २ बमोजिम संस्थागत विद्यालयहरूले सम्बन्धित विद्यालयहरूमा अध्ययन गर्ने कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशतमा नघटाई गरिब, फरक क्षमता भएका, महिला, दलित र जनजाति विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था रहेकोमा यो पनि कार्यान्वयन नभएको गुनासो आएको छ, राईले भन्नुभयो ।

पालिकाले गाउँपालिकालाई परिपत्र गर्दै विद्यालयको जम्मा विद्यार्थीले हुन आउने १० प्रतिशत छात्रवृत्ति के के को आधारमा कुन कुन विद्यार्थीहरूलाई उपलब्ध गराएको छ सो को सम्पूर्ण अभिलेख पठाउन निर्देशन दिएको छ । यसरी अभिलेख पटाउँदा सम्बन्धित विद्यार्थीको अभिभावकहरूको नामावलीसाथै सम्पर्क मोबाइल नम्बर समेत पठाउनु पर्ने गाउँपालिकाले जनाएको छ ।

आफन्त तथा नजिककाहरुलाई मात्र छात्रवृत्ति उपलब्ध गराएको हुनसक्ने, छात्रवृत्ति उपलब्ध गराएको भनेर अभिलेख राख्ने तर उपलब्ध नगराएको हुनसक्ने भएकाले अभिभावकहरूको समेत नाम र नम्बर उपलब्ध भएपछि यस विषयमा समेत छानबिन गरिने गाउँपालिकाका अध्यक्ष राईले बताउनु भएको छ । शिक्षा नियमावली अनुसार छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयहरूलाई कारबाही गरिने उहाँको भनाई रहेको छ ।