• १२ वैशाख २०८१, बुधबार

अनुशासन

blog

किशोर फुयाँल

कक्षाः ८, सरस्वती मावि

टोखा, काठमाडौँ


भाइबहिनीहरू, अनुशासनले हामीलाई चल्न सिकाउँछ । कुनै कुरा राम्रो र व्यवस्थित ढङ्गले चल्न नियम चाहिन्छ । आफूले नै आफूलाई बाँध्नु र अरूमा मन, वचन र कर्मले सकारात्मक प्रभाव पार्ने कार्य अनुशासन हो । अनुशासन  हाम्रो जीवन पद्धतिसँग गाँसिएर आउँछ । त्यसैले पनि जीवनमा अनुशासनको विशेष महत्व हुन्छ । अनुशासनबिनाको जीवनको के अर्थ हुन्छ र ? साना ठुला सबैले अनुशासनको पालना गर्नु पर्छ । अनुशासनमा बस्नु हामी सबैको कर्तव्य हो । अनुशासनमा नबस्दा हामी पशु समान हुन्छौँ । मानव जीवनमा अनुशासनको महत्व बयान गरेर साध्यै छैन । 

जन्मदेखि मृत्युसम्म हरेक व्यक्तिको जीवनमा अनुशासनले गहन भूमिका खेलेको हुन्छ । अनुशासनमा बस्दा जो कोहीले पनि मन पराउँछन् । विद्यार्थीका लागि त अनुशासन प्राण वायु अक्सिजन जस्तै महत्वपूर्ण र आवश्यक हुन्छ । विद्यार्थी अनुशासनमा नबस्ने हो भने उसको जीवन निरर्थक बन्न जान्छ ।

हामी सबैको जीवन अमूल्य गहना हो अनुशासन । जीवनलाई सफल बनाउने साधन हो अनुशासन । अनुशासनमा बस्ने मानिस समयको महत्व बुझेर अगाडि बढ्दछन् र सजिलै लक्ष्य हासिल गर्दछन् । जीवनलाई मर्यादित र सफल बनाउने साधन पनि अनुशासन नै हो ।

प्रकृतिमा हेर्ने हो भने पनि जीवजन्तुले कसरी अनुशासनको पालना गरिरहेका छन् भन्ने कुरा देख्न र सजिलै बुझ्न सकिन्छ । उदाहरणका लागि पानीको अनुशासन, हावाको अनुशासन, प्रकाशको अनुशासन, सूर्य, चन्द्र र अन्य तारा, ग्रहको अनुशासनबाट महत्वपूर्ण पाठ सिक्न सक्दछौँ । रुख, बिरुवा र किरादेखि चरासम्म र मुसादेखि हात्तीसम्मका जनावरलाई हेरौँ र बुझौँ त ! यी वस्तुहरू अनुशासनमा नबस्ने हो भने त्यसको असर कस्तो हुन सक्थ्यो होला ? यसबाट पनि अनुशासनको आवश्यकता कति छ भन्ने कुरा सजिलैसित बुझ्न सकिन्छ । विद्यार्थी जीवनमा त अनुशासनको महत्व झन् धेरै छ । सबैले कक्षाकोठा, विद्यालय, घरपरिवार, समुदाय जहाँ जहाँ हामी पुग्छौँ त्यहाँ त्यहाँ अनुशासनको पालना गर्नु पर्दछ । अनि सबैको माया, सम्मान र सहयोग पाउन सक्छौँ, यसैमा सफलता र खुसी अन्तरनिहित  रहेको देख्न सक्दछौँ ।