• १३ वैशाख २०८१, बिहिबार

कर्णालीमा पशुपन्छी आयातभन्दा निर्यात बढी

blog

छिन्चु समाचारदाता

सुर्खेत, साउन १८ गते । कर्णालीमा कृषि उपज तथा पशुपन्छीको निर्यात बढेको छ। आर्थिक वर्ष २०७९/८० मा कृषि उपज तथा पशुपन्छीको आयातभन्दा निर्यात बढी भएको थियो। गत आवमा पाँच अर्ब ८५ करोड ३९ लाख ९१ हजार बराबरको कृषि तथा पशुपन्छीको निर्यात भएको थियो। २३ करोड ८८ लाख एक हजार बराबरको पशुपन्छी आयात भएको थियो। 

कर्णालीमा उत्पादन भएका कृषि उपज देशका ठुला सहरमा पुग्ने गरेका छन्। गत वर्ष एक अर्ब ७८ करोड २१ लाख २५ हजारको विभिन्न खाद्य तथा कृषि उपज निर्यात भएको थियो। त्यसमा पनि मकै, मार्सी, मास, कोदो, चिनो, कागुनो, फापर मात्रै १७ करोड ७० लाख ३५ हजारको निर्यात भएको जनाइएको छ। 

प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार खाद्यान्न शीर्षकमा कर्णालीबाट दुई हजार ८२३ मेट्रिक टन काठमाडौँ, पोखरा, चितवन, नेपालगन्ज, बुटवल, धनगढीलगायतका सहरमा लगिएको छ। मार्सीका लागि जुम्ला, चिनो, कागुनो र फापर लगायतका रैथाने खाद्यवस्तुका लागि कर्णालीका हिमाली जिल्लाहरू प्रख्यात मानिन्छन्। 

कर्णालीले तरकारी, अदुवा, बेसार, सिमी, मह, आलुदेखि विभिन्न प्रजातिका बिरुवा निर्यात गर्दै आएको छ। जसबाट अर्बौं रकम कर्णालीमा भित्रिने गरेको छ। गत आवमा तरकारी निर्यातबाट ७४ करोड ७० लाख १० हजार रकम कर्णालीमा भित्रिएको थियो। १८३ मेट्रिक टन बिउ बेचेर कर्णालीले नौ करोड ४७ लाखभन्दा बढी रकम आर्जन गरेको थियो। कर्णालीले ३३ करोड १५ लाख ४० हजारको सुन्तला र सात करोड १० लाख ६० हजारको स्याउ निर्यात गरेको थियो। एक वर्षमा पाँच हजार ७२८ मेट्रिक टन सुन्तला निर्यात हुँदा एक हजार १८१ मेट्रिक टन स्याउ निर्यात भएको छ। १८ करोड ७५ लाख ६२ हजारको छ हजार ५८७ मेट्रिक टन अदुवा कर्णालीबाट बाहिर गएको जनाइएको छ। एक वर्षको अवधिमा कर्णालीबाट बाहिर तीन करोड ३५ लाखभन्दा बढीको बेसार निर्यात भएको छ भने १४४ मेट्रिक टन सिमी बाहिरिएको छ। विशेष गरी जुम्ला सिमीका लागि प्रख्यात छ। 

सिमीबाट दुई करोड २९ लाख २५ हजार रकम कर्णालीमा भित्रिएको छ। १५ करोडभन्दा बढीको त कर्णालीबाट आलु मात्र निर्यात भएको कृषि मन्त्रालयले जनाएको छ। कर्णालीमा उत्पादन हुने मूल्यवान् कृषि उपजको बजार भने खासै नभएको कृषि कर्मचारी बताउँछन्। कर्णालीले चार अर्ब सात करोड १८ लाख ६६ हजार बराबरको रकम पशुपन्छीलगायतका वस्तुको निर्यातबाट भित्र्याएको छ। खसीबोकाबाट मात्रै एक अर्ब ९६ करोड १० लाख आठ हजार रकम कर्णालीमा भित्रिएको छ। पाँच हजार २६० मेट्रिक टन दुध निर्यातबाट ३० करोड ३३ लाख बढी रकम भित्रिएको छ। कर्णालीले स्थानीय कुखुरादेखि राडीपाखी, खरायोको टोपी, पाखो कोटको कपडा पनि प्रदेश बाहिर निर्यात गर्छ।

कर्णाली अन्डा, माछादेखि ब्रोइलरमा परनिर्भर छ। गत आवमा २३ करोड ८८ लाख एक हजार बराबरको पशुपन्छी आयात भएको थियो। जसमा सबैभन्दा बढी अन्डा आयात भएको जनाइएको छ। मन्त्रालय अन्तर्गतको पशुपन्छी विकास निर्देशनालयका अनुसार एक करोड ९४ लाख ६६ हजार रकम अन्डा आयातमा बाहिरिएको छ। निर्देशनालयका निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद पङ्गेनीका अनुसार सोही मात्रामा विभिन्न जातका माछा पनि कर्णालीमा आयात हुन्छन्। गत आर्थिक वर्षमा ८० मेट्रिक टन माछा बाँके र बर्दियाबाट कर्णालीमा आयात गरिएको थियो। जसबाट तीन करोड २१ लाख रकम प्रदेश बाहिरिएको र २९ लाख ५० हजार बराबरको भुरा जातको माछा कर्णालीमा आयात भएको जनाइएको छ। १२ लाख १५ हजार ८६७ वटा ब्रोइलरका चल्ला आयात हुँदा नौ करोड आठ लाख ४९ हजार रुपियाँ रकम प्रदेश बाहिर गएको बताइएको छ। 

कुखुराको मासु, प्रजननका लागि बोका/बाख्रा र भैँसीगाई पनि कर्णालीले आयात गर्छ। निर्देशनालयका अनुसार गत एक वर्षमा २७५ वटा भैँसी आयात भएका छन्। जसमा चार करोड १८ लाख बराबरको रकम बाहिर गएको छ। प्रजननका लागि बोका/बाख्रामा ५४ लाख ५६ हजार बाहिरिएको छ। गत आवमा ३४१ वटा बोका/बाख्रा बाँके, बर्दिया, दाङ, कपिलवस्तुलगायतका जिल्लाबाट आयात गरिएका थिए। गाई खरिदमा पनि कर्णालीबाट एक करोड ३५ लाख रकम बाहिरिएको छ। कर्णालीमा २०७ मेट्रिक टन दुध आयात भएको देखिन्छ। तर, योभन्दा ११ हजार ६७१.१ मेट्रिक टन दुध कर्णालीले बाहिर निर्यात गरेको छ। जसको बजार भनेको बाँके नै हो। दुधबाट कर्णालीमा ८४ करोड ५१ लाख ३६ हजार रुपियाँ भित्रिएको छ। कार्यालय प्रमुख पङ्गेनीका अनुसार आयात हुने दुध भनेको सुक्खा सिजनमा आउने दुध हो।