• १३ वैशाख २०८१, बिहिबार

क्यान्सर रोगीलाई सकस, रेडियोथेरापीको पालो पाउन मुस्किल

blog

काठमाडौँ, साउन १८ गते । ओखलढुङ्गा पोकलीका बलबहादुर परियारलाई भक्तपुर क्यान्सर अस्पतालमा ठुलो आन्द्रा र मलाशय जोडिने भागमा क्यान्सर भएको पत्ता लाग्यो। रेक्टम क्यान्सर भनिने रोगको उपचारका लागि उहाँलाई तत्काल रेडियोथेरापी गरेर शल्यक्रिया गर्न चिकित्सकले सल्लाह दिए। बलबहादुरले चिकित्सकको सल्लाह अनुसार रेडियोथेरापी गर्न चार महिना कुर्नुपर्ने भयो भने यो अवधिसम्म क्यान्सर अन्यत्र फैलिइसक्ने सम्भावना थियो। 

चार महिनासम्मको पालो कुर्नुभन्दा अन्य क्यान्सरका बिरामीको सल्लाहमा बलबहादुर तत्काल भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल जानुभयो। अहिले त्यहीँ उहाँको उपचार हुँदै छ। नेपालमै तत्काल रेडियोथेरापीको पालो पाएको भए उहाँ भारतमा गएर उपचार गर्नुहुन्नथ्यो। 

बलबहादुर एक उदाहरण मात्र हुनुहुन्छ। उहाँजस्ता धेरै क्यान्सरका बिरामी नेपालमा पालो कुर्न नसकेर भारतमा गई उपचार गराउन बाध्य छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरका बिरामीलाई रेडियोथेरापी गर्न चार महिना पालो कुर्नुपर्ने बाध्यता छ। 

बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरबाहेक रेडियोथेरापी मेसिन अन्य सरकारी अस्पतालमा उपलब्ध छैन। अन्य अस्पतालबाट भक्तपुरमै रिफर गर्ने गरिन्छ। भक्तपुर क्यान्सर अस्पतालमा बहिरङ्ग उपचार सेवा (ओपिडी) को समयमा बिरामीको भिडले पाइला राख्ने ठाउँ हुँदैन। उक्त अस्पतालको ओपिडीमा मात्र दैनिक पाँच सय जना उपचारका लागि आउँछन्। तीमध्ये कतिपय पछिल्लो जाँचका लागि आएका हुन्छन्। तीमध्ये बलबहादुरको जस्तै धेरैको रेडियोथेरापीबाट उपचार गर्नुपर्ने हुन्छ तर एउटा मात्र रेडिएसन मेसिन हुँदा बिरामीलाई समस्या परेको छ। 

हाल भक्तपुर क्यान्सर अस्पतालमा एउटा मात्र रेडियोथेरापी मेसिन छ। उपत्यकाका सरकारी अस्पतालमा भक्तपुरमा मात्र रेडियोथेरापी मेसिन छ। अन्यत्रबाट पनि रेडियोथेरापीका लागि भक्तपुर रिफर गर्दा झन् गाह्रो हुने गरेको छ। उपत्यकाबाहिर भरतपुर क्यान्सर अस्पतालमा मात्र यसको सुविधा छ। भक्तपुरको मेसिनबाट दैनिक ८० देखि एक सय जनाको रेडियोथेरापी हुने गर्छ तर आज नाम लेखाउनेले बलबहादुरकै जस्तो पालो पाउन चार महिना कुर्नु पर्छ। चार महिनासम्म पहिलो चरण (स्टेज) को क्यान्सर छ भने फैलिएर तेस्रो चरणसम्म पुगिसक्ने खतरा हुन्छ। 

बिरामीको समस्या यस्तो भए पनि अस्पतालको दुखेसो भने अर्कै छ। भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विष्णुदत्त पौडेलले हाल एउटा मात्र रेडियोथेरापी मेसिनले पनि क्षमताभन्दा बढी बिरामीको उपचार गरिरहेको बताउनुभयो। उहाँले भारत सरकारले अनुदानमा उपलब्ध गराएको अर्को रेडियोथेरापी मेसिन आइसके पनि प्रयोग हुन नसकेको जानकारी दिनुभयो। 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भक्तपुर अस्पताललाई अत्याधुनिक रेडियोथेरापी मेसिन उपलब्ध गराउने घोषणा गरे अनुसार भारत सरकारले डेढ वर्षअघि मेसिन दिए पनि सोर्स नदिँदा सञ्चालनमा आउन सकेको छैन। कार्यकारी निर्देशक डा. विष्णुदत्त पौडेलले रेडियोथेरापी मेसिन जडान भइसकेको तर त्यसका लागि सहयोगी सोर्स कोबाल्ट आइसोटोप आउन बाँकी रहेको जानकारी दिनुभयो। त्यो ल्याउन भारतसँग निरन्तर छलफल भइरहेको र जुलाईसम्म पठाउने प्रतिबद्धता जनाइए पनि अगस्ट लाग्दा पनि आएको छैन। 

प्रमुख मेडिकल फिजिसिस्ट विद्यापति झाका अनुसार हाल सञ्चालनमा रहेको मेसिनमा पुराना बिरामीकै बढी उपचार हुन्छ। उहाँले एक सय जनामा तीन/चार जना मात्र नयाँ र बाँकी पुरानै बिरामी हुने गरेको जानकारी दिनुभयो। एक जना बिरामीको रेडियोथेरापी १० देखि ३७ दिनसम्म लाग्ने गरेको उहाँले बताउनुभयो। झाका अनुसार ३७ जनाको रेडियोथेरापी एकैदिन परेको अवस्थामा नयाँ बिरामीले पालो पाउने सम्भावना न्यून हुन्छ। 

भक्तपुर क्यान्सर अस्पतालका एक चिकित्सकले सोर्सका लागि व्यवस्थापन पक्ष लाग्नुपर्ने जानकारी दिनुभयो। उहाँले क्यान्सरका बिरामीले रेडियोथेरापीका लागि कुर्दाकुर्दै बिरामीको मृत्यु हुनु दुःखद भएको बताउनुभयो। कम्तीमा दुई वटा मेसिन भइदिए बिरामीलाई राहत हुने भन्दै उहाँले सोर्स ल्याउन पहल गर्नुपर्ने बताउनुभयो। हाल जडान भएको मेसिन पनि एक वर्ष थन्किएर आठ महिनाअघि मात्र जडान भएको हो। अर्को पुरानो मेसिन रहेकोमा त्यो पनि तीन वर्षदेखि बन्द छ। प्रमुख मेडिकल फिजिसिस्ट झाले धेरै पुरानो मेसिन भएकाले सञ्चालन गर्न छाडेको जानकारी दिनुभयो।

क्यान्सर अस्पतालका एक चिकित्सकले सरकारीमा समयमा सेवा नपाउँदा र निजी अस्पतालमा महँगो तर भारतमा पनि उस्तै उस्तै खर्च हुने भए पनि बिरामीले बाँच्नकै लागि भारत जान बाध्य हुनुपरेको जानकारी दिनुभयो।  

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।