• ८ वैशाख २०८१, शनिबार

सल्यानमा अहिलेसम्मकै महँगाे गोलभेंडा

blog

हाटबजारबाट सबैभन्दा धेरै भाउ पाएको गोलभेंडा । तस्विर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा

सल्यान, साउन १७ गते । कपुरकोट हाटबजारमा गोलभेंडा (टमाटर) ले अहिले सम्मकै धेरै मूल्य पाएको छ । किसानले अहिलेसम्मकै धेरै मूल्य १४० रुपियाँ प्रतिकिलोमा बिक्री गरेका छन् । 

हाटबजारमा एकै दिन ६० लाख ४८ हजार रुपियाँ बराबरको तरकारी र फलफूल कपुरकोटबाट बिक्री भएको छ । मङ्गलबार मात्र कृषिउपज बजार केन्द्रका अनुसार ६८ हजार दुई सय ८९ किलो तरकारी फलफूल एकै दिन बिक्री भएको छ । 

कपुरकोट गाउँपालिका –३ का तुलसी केसीले तरकारी खेती गर्न थालेको १० वर्षको समयमा पहिलो पटक धेरै मूल्यमा गोलभेंडा बिक्री भएको बताउनुभयो । उहाँले भन्नुभयो “उचित मूल्य पाएपछि साह्रै खुसी लागेको छ ।”

हाटबजारबाट ४३ लाख बढी रकमको टमाटर बिक्रीबाट मात्र आम्दानी भएको छ । ३१ हजार ३०० किलो टमाटर विक्रीबाट ४३ लाख ३ हजार ७५० रुपियाँ, ४ हजार ५६५ किलो काउली बिक्रीबाट १ लाख ९४ हजार १२ रुपियाँ, ३ हजार ८९५ किलो भेडेखुर्सानी विक्रीबाट ३ लाख १ हजार ८६५ रुपियाँ र ११ हजार ७०० किलो बन्दा विक्रीबाट २ लाख ४ हजार ७५० रुपियाँ जिल्ला भित्रिएको बजार केन्द्रले जनाएको छ ।

कृषिउपज बजार केन्द्र कपुरकोटका अनुसार गोलभेँडा टमाटर प्रतिकिलो १३५ देखि १४० सम्म, पुरानो अदुवा १४० देखि १५० मा किनबेच भएको हो । यस्तै, किसानले अकबरे खुर्सानी १०० देखि १०५, भेडेखुर्सानी ७५ देखि ८०, काउली ४० देखि ४५, बन्दागोभी १० देखि १५ रुपियाँ प्रतिकिलो बिक्री भएको हो ।

केन्द्रका बजार प्रतिनिधि चन्द्रमणि खड्काले सिमी ४५ देखि ५० रुपियाँ प्रतिकिलो बिक्री गरेका किसानले लोकल काँक्रा ५० देखि ५५ र उन्नत काँक्रा १० देखि १२ रुपियाँ प्रतिकिलो बिक्री गरिएको बताउनुभयो ।

कपुरकोट गाउँपालिका भित्र र आसपासका क्षेत्रमा बैमौसमी तरकारी खेती हुँदैआएको छ । कपुरकोट क्षेत्रमा उत्पादन भएको तरकारी दाङ, नेपालगन्ज, बुटवल, नारायणगढ, पोखरा, कैलाली लगायत शहर बजारमा जानेगरेको छ । कपुरकोटमा हप्ताको मङ्गलबार र शुक्रबार तरकारी बजार लाग्ने गर्छ । 

अन्य दिनमा पनि कपुरकोट गाउँपालिकाका –६ वटै वडामा रहेको तरकारी सङ्कलन केन्द्रमा पनि किसानले आफ्नो उत्पादन विक्री गर्ने गर्छन् । यसैवीच यहाँबाट एक महिनाको अवधिमा ७ करोडभन्दा बढीको ताजा तरकारी तथा फलफूल निकासी भएको छ । गत असार १ गतेदेखि ३१ गतेसम्म १३ लाख १९ हजार ३३५ किलोग्राम तरकारी बिक्री हुँदा सल्यानका किसानले सात करोड २९ हजार १०६ रुपियाँ प्राप्त भएको छ ।

कृषिउपज बजार सञ्चालक समिति कपुरकोटका सचिव तिलक शर्माका अनुसार ४ लाख ९५ हजार २१४ किलोग्राम टमाटर बिक्रीबाट ३ करोड ७० लाख ३ हजार २६८ रुपियाँ, ३ लाख ४२ हजार ७७२ किलोग्राम बन्दागोबीबाट ३० लाख ८४ हजार ९४८ रुपियाँ, ८९ हजार ६ सय काउलीबाट ६२ लाख ७२ हजार रुपियाँ, ९७ हजार ६५४ किलोग्राम सिमीबाट १ करोड २२ लाख ७ हजार २५० रुपियाँ, १ लाख ८९ हजार ४२० किलोग्राम भेडेखुर्सानीबाट १ हजार ३६ लाख ३८ हजार २४० रुपियाँ र १० हजार ५५० किलो हरियो खुर्सानीबाट १३ लाख १८ हजार ७५० रुपियाँ भित्रिएको छ ।

यस्तै, १९ हजार ५ सय किलोग्राम माछे खुर्सानीबाट ५८ लाख ५० हजार रुपियाँ, ९ सय ५५ किलोग्राम अकबरे खुर्सानीबाट १५ लाख २८ हजार रुपैयाँ, ५३ हजार १३० किलोग्राम काँक्रो बिक्रीबाट १५ लाख ९३ हजार ९ सय रुपियाँ, ५ हजार ७३० किलोग्राम मुलाबाट ८५ हजार ९५० रुपियाँ, ५ हजार ७ सय किलोग्राम पुरानो अदुवा (बुर्नी) बाट १० लाख २६ हजार रुपियाँ, ५३० किलोग्राम सागबाट ५३ हजार रुपियाँ, ७ हजार किलोग्राम नास्पातीबाट १० लाख ५ हजार रुपियाँ र १ हजार ५८० किलोग्राम लसुनबाट १२ लाख ६४ हजार रुपियाँ किसानले आम्दानी गर्न सफल भएको कृषिउपज बजार सञ्चालक समितिका सचिव तिलक शर्माले जानकारी दिनुभयो ।

कपुरकोट गाउँपालिकाबाट ६ महिनाको अवधिमा वार्षिक ३० करोडभन्दा बढीको तरकारी जिल्ला बाहिर निर्यात हुनेगरेको छ । कपुरकोटमा उत्पादन भएको तरकारी, नेपालका ठूला शहर, काठमाडौ, नेपालगञ्ज, बुटुवल, धनगढी, दाङलगायत भारतसम्म निकासी हुनेगरेको छ ।