• १३ वैशाख २०८१, बिहिबार

माओवादी केन्द्रीय समिति बैठक सुरु

सरकारले थालेको सुशासन अभियानबाट जनतामा आशा जागेको छ : प्रधानमन्त्री

blog

केन्द्रीय समिति बैठकको प्रारम्भमा सम्बोधन गर्नुहुँदै अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, साउन १७ गते । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । राजधानीको प्रज्ञा भवनमा बुधबार दिउँसोदेखि बैठक सुरु भएको हो ।

बैठकको प्रारम्भमा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा उहाँले सरकारले थालेको सुशासनको अभियानबाट जनतामा आशाको सञ्चार भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो,  “अहिले देशको राजनीतिक जुन विन्दुमा छ, जनताले हाम्रो पार्टी र आन्दोलनबाट जे–जस्ता आशा र अपेक्षा गरेका छन्, पछिल्लो चरणमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रम, लिएका पहलकदमी र गरिएका गतिविधिबाट जनतामा नयाँ आशा पलाएको छ ।”

 केन्द्रीय समितिको बैठकले सरकारले गरेको कामलाई अझ व्यवस्थित गर्ने, प्रभावकारी बनाउने, राष्ट्र र जनताको आवश्यकतानुसार अगाडि बढ्न सहज वातावरण बनाउने उहाँको विश्वास छ । “राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्नुपर्ने आवश्यकता छ । राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढीकरण गर्न केन्द्रीय समितिले छलफल र निष्कर्ष निकाल्ने छ”, उहाँले भन्नुभयो ।     

उहाँले देशको राजनीतिक समीकरण र राजनीतिक उतारढताव तथा पार्टीको आन्तरिक तयारीलाई पूर्णता दिन विलम्ब भएर बैठक बस्न ढिला भएको बताउनुभयो । नेता कार्यकर्ताको सङ्ख्या ठूलो भए पनि माओवादी पार्टीजस्तो नभएको उल्लेख गर्दै अध्यक्ष  प्रचण्डले  केन्द्रीय समिति बैठकबाट कम्युनिष्ट पार्टी पुनःनिर्माणको अभियान थाल्नुपर्ने बताउनुभयो ।     

उहाँले गम्भीर, जिम्मेवारीपूर्वक र अनुशासितरुपले बहस छलफल गरी यस बैठकलाई पार्टी पुनःनिर्माणको ऐतिहासिक थालनीको बैठक बनाउन केन्द्रीय सदस्यलाई निर्देशन दिनुभयो । सरकारले देश र जनताको पक्षमा सकारात्मक र रचनात्मक काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा नयाँ सङ्कल्पका साथ अगाडि बढ्ने पहल गरिरहेको बताउनुभयो ।     

 पछिल्लो चरणमा अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा धु्रवीकरणका नयाँ प्रक्रिया देखापरेको उल्लेख गर्दै उहाँले नेपालजस्तो भूराजनीतिक जटिलता भएको देशमा त्यसको प्रभाव परिरहेको बताउनुभयो । “आउने दिनमा अझ बढी प्रभाव पर्ने सङ्केत देखिएको छ । त्यस्तो स्थितिमा देशको स्वतन्त्रता, राष्ट्रियता, भौगोलिक अखण्डता र स्वाधिनतालाई सुदृढ गर्न बैठकले गहन छलफल गरेर समुचित निष्कर्ष निकाल्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो । 

बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । माओवादीले राजनीतिक र साङ्गठनिक प्रस्ताव तयार पार्न उपसमिति गठन गरेको थियो ।

सो उपसमितिले तयार पारेको प्रतिवेदनलाई  अध्यक्ष प्रचण्डले  अन्तिम रूप दिनुभएको हो । बैठकमा सरकारको समीक्षा तथा विभिन्न पार्टीसँगको एकताका विषयमा पनि छलफल हुनेछ । केन्द्रीय समिति बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पठाएको पार्टी एकतासम्बन्धी प्रस्ताव तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगको एकताका बारेमा पनि छलफल हुने माओवादीले जनाएको छ ।


सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, तीन केन्द्रीय आयोगका सदस्य ७५ जना र प्रदेश पदाधिकारीबाट एक सय जना गरी जम्मा ७५८ सहभागी रहने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

केन्द्रीय समिति बैठकमा अध्यक्ष  प्रचण्डले सरकारको कामकारबाही, पार्टीको स्थिति तथा आगामी दिनमा के गर्ने भन्ने दृष्टिकोणसहितको प्रतिवेदन अध्यक्षले पेस गर्ने कार्यसूची तय भएको प्रवक्ता महराले जानकारी दिनुभयो ।

यसअघि पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको थियो । यसअघि पदाधिकारी बैठकले केन्द्रीय समितिको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको थियो ।