• १२ वैशाख २०८१, बुधबार

अलपत्र खेलमैदान निर्माण गर्न नगरपालिकाको ध्यानाकर्षण

blog

निर्माण गर्दागर्दै छोडिएको फिदिम मावि खेल मैदान । तस्बिर : राधा लुइटेल

राधा लुइँटेल

फिदिम, साउन १७ गते । फिदिम माविकाे खेलमैदान निर्माणका लागि ठेक्का लिएर सम्पर्कविहीन भएको निर्माण कम्पनीलाई १५ दिनभित्र सम्पर्कमा आएर काम सुरु गर्न फिदिम नगरपालिकाले सचेत गराएको छ ।

निर्माण कम्पनीले ठेक्का लिएर निर्धारित मितिमा काम नसकी निर्माण व्यवसायीले गैर जिम्मेवारी प्रस्तुत गर्दा सदरमुकाममा खेलकुद र सांस्कृतिक गतिविधिसँगै मेला र महोत्सव जस्ता क्रियाकलाप सञ्चालनमा कठिनाइ भएको नगरपालिकाले जनाएको छ ।

फिदिम मा.वि.खेल मैदान निर्माणका लागि पि.एस.मैनाचुली किराँतेश्वर जे.भी.नामक निर्माण कम्पनीले सरकारसँग २०७७ साल माघ २ गते दश करोड,७९ लाख ८७ हजार ७ सय ८१ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।

२०७९ साल असार मसान्तभित्रै काम सक्ने सम्झौता भए पनि प्रगति नभएपछि २०८० साल असार मसान्तसम्म म्याद थप गरिए पनि काम सकिएको छैन । सम्झौतामा खेलमैदान दायाँबायाँ सटरसहितका संरचना, प्यारिफिट र मञ्च व्यवस्थापन आदि काम गर्नुपर्ने उल्लेख छ । थपिएको अवधिमा पनि काम नगरी निर्माण व्यवसायीले गैर जिम्मेवारी देखाएको नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले बताउनुभयो ।

“नगरपालिकामा रहेको एउटा मात्रै खेल मैदान स्तरोन्नतिका क्रममा लथालिङ्ग पारेर छोडिदा खेलकुद र सांस्कृतिक गतिविधिसँगै मेला महोत्सव आयोजना गर्न कठिनाइ भइरहेको छ, जस्ले जिल्लाको अर्थतन्त्रमा चलायमान हुन पनि प्रभाव परेको छ”, काफ्लेले भन्नुभयो ।

निर्माण व्यवसायीले जिम्मेवार व्यक्ति र पदाधिकारीले पटकपटक बोलाँउदा नआउने, फोन गर्दा नउठाउने व्यवहार देखाएकाले १५ दिनभित्र सम्पर्कमा आएर काम थाल्न ताकेता गरिएको पनि काफ्लेको भनाइ छ ।

निर्धारित समयमा सम्पर्कमा आएर काम सुरु नगरे स्थानीय सरकारले खेल मैदान मर्मत गरेर चलायमान गराउनका साथै ठेक्का सम्झौता भङ्ग गर्ने प्रक्रियाका लागि दबाब सिर्जना गर्ने नगरपालिकाको तयारी छ ।