• १६ चैत २०८०, शुक्रबार

एमाले पार्टी कार्यालयमा तालाबन्दी

blog

नेपालगञ्जस्थित नेकपा (एमाले)को पार्टी कार्यालय । तस्विर : गोविन्द शर्मा ।

गोविन्द शर्मा 

बाँके, साउन १७ गते । नेकपा (एमाले) बाँकेको नेपालगञ्जस्थित जिल्ला पार्टी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी बुधबार दोस्राे दिन पनि जारी छ । पार्टी सदस्यहरुको नवीकरण नगरिदिएको भन्दै पार्टीको बैजनाथ गाउँपालिका कमिटीको आयोजनामा मङ्गलबार तालाबन्दी गरिएको हो । 

बुधबार बिहानैदेखि बैजनाथ गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने प्रदेश, जिल्ला र पालिका कमिटीका पदाधिकारी र अगुवा कार्यकर्ता पार्टी कार्यालयमा जम्मा भएका छन् । कमिटीका सचिव प्रेम सुवेदीले जिल्ला कार्यालयमा नवीकरणका लागि विवरणसहित पठाइएको भए पनि नवीकरण नगरिदिएपछि तालाबन्दी गर्न बाध्य भएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “पार्टी सदस्यको नवीकरण र रुजुका लागि समय उपलब्ध नगराउँदा सम्म अनिश्चितकालीन तालाबन्दी जस्तो अप्रिय निर्णय गरिएको छ ।” कमिटीका अध्यक्ष इन्द्रबहादुर थापाको अगुवाइमा भएको तालाबन्दीमा प्रदेश कमिटीका सदस्यहरु घननाथ खनाल, मानबहादुर रुचाल, नन्द विश्वकर्मा लगायतका अगुवा नेता कार्यकर्ताको सहभागिता थियो ।

बैजनाथ गाउँपालिका कमिटीका तर्फबाट २०७९ को एक हजार १४ जना र २०८० को ७१४ जनाको पार्टी सदस्यता नवीकरण गरी जिल्ला पार्टी कार्यालयमा सम्पूर्ण विवरणसहित  बुझाउँदा समेत पार्टी सदस्यता नवीकरण नगरिदिएको दाबी पालिका कमिटीको छ । जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिले पार्टीलाई प्रालिको सदस्यता रोक लगाएजस्तो गरी पार्टी सदस्यता नवीकरणमा रोक लगाएको दाबी कमिटीले गरेको हो । 

पालिका कमिटीले पार्टी सदस्यता नवीकरण गर्न पाउने अधिकारमाथि पार्टी जिल्ला अध्यक्ष कक्षपतिले वञ्चित गरेकोमा सो कार्यको निन्दा गरेको छ । आसन्न जिल्ला अधिवेशनमा आफूलाई समर्थन नहुने देखेपछि बैजनाथ पालिकाका अधिकांश पार्टी सदस्यहरुको नवीकरण रोकिएको एकजना जिल्ला कमिटी सदस्यले बताउनुभयो । अध्यक्ष कक्षपति जिल्ला अधिवेशनमा अध्यक्षको दाबेदारको रुपमा रहनुभएको छ ।