• १३ वैशाख २०८१, बिहिबार

धुलियाविट–भेडाबारी सडक

एक हजार रुख काट्न वनको अनुमति

blog

बुलबुले समाचारदाता

सुर्खेत, साउन १७ गते । मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको धुलियाविटदेखि भेडाबारी जोड्ने सडकखण्डमा पर्ने रुख कटान गर्न डिभिजन वन कार्यालय सुर्खेतले स्वीकृति दिएको छ। रुख कटानको अनुमति नपाउँदा ३५ किलोमिटर सडक निर्माणमा अवरोध भएको थियो। कटान अनुमति नपाए पनि सडक क्षेत्रका रुखमा चिनो लगाउने काम यसअघि नै सुरु गरिएको थियो। चिनो लगाउन थालिएको लामो समयपछि कटानका लागि स्वीकृति पाएको हो।

धुलियाविट–भेडाबारी सडकखण्ड अन्तर्गत १८ किलोमिटर वन क्षेत्र पर्छ। हालसम्म सात किलोमिटर क्षेत्रभित्रका रुखमा चिनो लगाइएको छ। एक हजार ११४ वटा रूख कटानका लागि राजमार्गले वनसँग स्वीकृति मागेको थियो। वन कार्यालयका अनुसार स्थलगत अनुगमनपछि कटान गर्नुपर्ने रुखको सङ्ख्या घटाइएको छ। अनुगमनबाट एक हजार १०३ वटा रुख मात्र काट्नुपर्ने बताइन्छ। डिभिजन वन कार्यालय सुर्खेतका डिभिजन वन अधिकृत मुनबहादुर रावतका अनुसार अनुगमनपछि रुखको सङ्ख्या यकिन गरेर कटान अनुमति दिइएको हो। एक हजार ११४ रुख कटानका लागि माग गरिएको थियो। एक हजार १०३ वटा रुख कटानका लागि अनुमति दिएको रावतले जानकारी दिनुभयो।

आयोजनाले अब सम्बन्धित क्षेत्रको सामुदायिक वन उपभोक्ता समिति र सब डिभिजन वन कार्यालयसँग साझेदारी गरेर मात्र रुख काट्न पाउनेछ। काटिएका काठ पुनः राजमार्गले डिभिजन वन कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने छ।

वन कार्यालयबाट स्वीकृति पाएसँगै सडक निर्माणको कामले पनि गति लिने भएको छ। मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका इन्जिनियर रामसागर हरिजनले रुख कटानको बाटो खुलेसँगै सडक निर्माणको कामले गति लिने बताउनुभयो। उहाँका अनुसार जग्गा विवाद र वनको कुरा सुल्झिएकाले अब रफ्तारमा काम अघि बढने छ। धेरै काम गर्न बाँकी रहेको र वनले त्यसको बाटो खोलिदिएको छ। 

सन्तोषजनक छैन काम

सडक निर्माणमा हालसम्मको प्रगति भने सन्तोषजनक छैन। सम्झौता गरिएको अवधि सकिनै लाग्दासमेत धुलियाविट–भेडाबारी सडकखण्डको कामले गति लिन सकेको छैन। राजमार्गको स्तरोन्नतिका लागि २०७८ असार २८ गते ठेक्का सम्झौता गरिएको थियो। २०८० पुस २७ सम्ममा स्तरोन्नतिको काम सक्ने गरी कालिका (केएस) वेदान्सी जेभी कैलालीले ठेक्का पाएको हो। निर्माण सम्झौता सकिन केही महिना मात्र बाँकी रहँदा आधाभन्दा कम मात्र काम भएको छ। हालसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ।

पछिल्लो समय कामको गति पनि सुस्त भएको छ। बर्खाको समयमा कामदार खेतीपातीमा व्यस्त हुँदा काम हुन नसकेको आयोजनाले जनाएको छ। यद्यपि निर्माणको काम रोकिएको छैन। ३५ किलोमिटरमध्ये पाँच किलोमिटर सडक कालोपत्रे भइसकेको छ। म्याद थप गरेर काम अघि बढाउने तयारी राजमार्गको छ। सम्झौता अनुसार सडक स्तरोन्नति र कालोपत्रेसँगै १२ वटा पक्की पुल निर्माणको जिम्मा पनि सोही जेभीले पाएको छ। तीमध्ये तीन वटा पुल निर्माणको काम सकिएको छ। अन्य निर्माणाधीन अवस्थामा छन्। राजमार्ग स्तरोन्नति समयमै नहुँदा नागरिकले भने सास्ती बेहोर्दै आएका छन्। वर्षामा हिलाम्मे र हिउँदभर धुलाम्मे हुने सडकले नागरिकलाई सास्ती दिएको हो।

यस सडकले वीरेन्द्रनगरस्थित धुलियाविटबाट भेरीपारिका बस्ती लेकबेँसी हुँदै गुर्भाकोट नगरपालिकाको भेडाबारीसम्म जोड्नेछ। हालसम्म राजमार्गको पाँच किलोमिटर कालोपत्रे हुनुका साथै १५ किलोमिटर सडक ग्राबेल भइसकेको छ।