• १६ चैत २०८०, शुक्रबार

पेट्रोलियम पदार्थको कृत्रिम अभाव रोक्न सूचनाको गोप्यता जरुरी

blog

काठमाडौँ, साउन १७ गते  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा दुई साताअघिदेखि स्वचालित मूल्य प्रणाली लागु गरेको छ । स्वचालित मूल्य प्रणाली अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने गर्छ ।

निगमले भारतबाट मूल्य बढेर आएको सूचना गोप्य राख्न नसक्दा पेट्रोल पम्पले इन्धनमा कृत्रिम अभाव देखाएर उपभोक्ता ठग्ने सम्भावना हुँदा यसतर्फ सजग बन्नुपर्ने देखिन्छ । मूल्य बढ्ने सङ्केत पाएपछि विगतमा व्यवसायीले पनि तेल सकिएको भनेर बिक्री बन्द गर्ने गरेको देखिन्थ्यो तर मङ्गलबार पनि उपत्यकामा रहेका अधिकांश पेट्रोल पम्पले नियमित रूपमा तेल बिक्री गरिहेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले जानकारी दिनुभयो ।  

व्यवसायीले इन्धनको मूल्य बढेका बेला कृत्रिम अभाव गराई तेलको बिक्री गर्ने सम्भावना भए पनि मङ्गलबार चार/पाँच वटा पम्पमा अनुगमन गर्दा पुरानै मूल्यमा पम्पले तेल बिक्री गरिरहेको उहाँले जानकारी दिनुभयो । “व्यवसायीले लोभ नगरी इन्धन घटेको बेला घटाउने र बढेको बेला बढाउने गर्नु पर्छ,” उहाँले भन्नुभयो, “निगम व्यवस्थापन जिम्मेवार र व्यवसायी इमानदारीपूर्वक स्वचालित मूल्य लागु गरी इन्धनमा पारदर्शी हुनु पर्छ ।” 

निगमका प्रवक्ता मनोज ठाकुरले स्वचालित अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य घटबढ हुने हुँदा निगमले मात्र सूचना गोप्य राख्न नसक्ने बताउनुभयो । “भारतबाट घटेर वा बढेर आउने इन्धनको मूल्य हामीलाई भन्दा पहिले इन्धन ढुवानी गर्ने व्यवसायीलाई जानकारी हुन्छ,” उहाँले भन्नुभयो, “भारतको डिपोबाट इन्धनको बिलमै मूल्य हुने हुँदा यो मूल्य बढ्ने सूचना निगमले गोप्य राख्न सक्दैन ।” मूल्य बढ्ने भए पनि उपत्यकाका अधिकांश पेट्रोल पम्पले नियमित रूपमा पुरानै मूल्यमा इन्धन बिक्री गरिरहेको ठाकुरले जानकारी दिनुभयो । 

निगमले गत ३१ असारमा पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली (अटो प्राइस) पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ । स्वचालित मूल्य प्रणाली कार्यविधि अनुसार डिजेल, पेट्रोल र मटितेलमा भारतबाट घटेर वा बढेर आएको मूल्यमा कर थपेर निगमले दुई प्रतिशत मात्रै नाफा राखेर नयाँ मूल्य तोक्न पाउँछ । जसका कारण भारतबाट इन्धनको खरिद मूल्य अग्रिम चुहियो भने बजारमा इन्धनको मूल्य घट्ने वा बढ्ने पहिल्यै जानकारी पुग्छ । 

निगमले परल मूल्यमा डिजेलमा दुई प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत राखेर स्वचालित बिक्री प्रणाली लागू गरेको हो । आइओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा भारतबाट प्राप्त हुने नयाँ मूल्य सूचीका आधारमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम हुने गरेको छ ।

भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर साढे आठ रुपियाँ र डिजेलमा सात रुपियाँ ६१ पैसा बढेर आएको छ । साथै मटितेलमा प्रतिलिटर साढे सात रुपियाँ र हवाई इन्धनमा आठ रुपियाँ मूल्य बढेर आएको छ । निगमले गत असार ३१ देखि पेट्रोलियम पदार्थमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागु गरेको हो । स्वचालित मूल्य प्रणाली अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिन्डर एक सय रुपियाँ मूल्य घटेर आएको छ ।