• ४ वैशाख २०८१, मङ्गलबार

वर्षातका कारण हुने विपद् व्यवस्थापन गर्न भौतिक मन्त्रालय एक्लैले सक्दैन : मन्त्री ज्वाला

blog

पूर्वाधार विकास समितिको सिंहदरबारमा बसेको बैठकमा सहभागी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला । तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौं, साउन १६ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफ्नो मन्त्रालय एक्लैले काठमाडौंमा वर्षातका कारण हुने विपद् व्यवस्थापन गर्न नसक्ने बताउनुभएको छ । मङ्गलबार सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले बोल्नुहुँदै उहाँले सो स्पष्टीकरण दिनुभएको हो ।

बैठकमा सांसदहरूले यही साउन ७ गते सामाखुसी खोलामा बाढीमा परी एक बालक बेपत्ता भएको घटनाबाट पाठ सिकेर त्यस क्षेत्रमा फेरि त्यस्तो घटना हुन नदिने गरी ढलसहितका आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका थिए ।

जवाफमा मन्त्री ज्वालाले ती समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयहरुबीच छलफल गरेर मात्रै अघि बढ्न सकिने बताउनुभयो । उहाँले आफ्नो मन्त्रालयको क्षेत्राधिकार भित्र नपर्ने विषयमा एक्लै समस्याको समाधान गरेर अघि बढ्ने भन्ने कुरा हुनै नसक्ने जिकिर गर्नुभयो । मन्त्री ज्वालाले आफ्नो मन्त्रालयसँग सम्बन्धित पुल, सडकलगायतको समस्याबाट कुनैपनि खालको क्षति नहोस् भन्ने कुरामा भने आफ्नो मन्त्रालय सचेत रहेको बताउनुभयो ।

‘‘सडकसँग, पुलसँग अथवा हाम्रो मन्त्रालयसँग जोडिएका विपद्सँग सम्बन्धित विषयमा यो वर्षामा बाटोघाटो बन्द नहोस् । र मानवीय र अन्य क्षतिनहोस् भन्ने कुरामा हामी सचेत छौँ । अरू विषयमा चाहिँ सम्बन्धित मन्त्रालयसँग पनि बसेर साझा निष्कर्ष निकालौँ । हरेक कुरामा एउटैले मात्रै गर्ने देखिँदैन क्या । अब हामीले र्‍यापिड बस सेवा सुरु गर्ने भन्यौँ ।,’’ मन्त्री ज्वालाले भन्नुभयो, ‘‘अब त्यहाँ पनि एक्लै गरेर भएन । यातायात व्यवस्था विभागले के गर्ने, सडक विभागले अर्को गर्नुपर्ला । ट्राफिकले गर्नुपर्ला । ५/६ वटा निकायले काम बाँडफाँट गरेपछि काम अघि बढ्या छ । यो कुरामा एक्लै हाम्रो मन्त्रालय, जसको शुद्ध क्षेत्राधिकार पनि भएन । त्यसैले यही नै समाधान भनेर हामीले भन्ने अवस्था रहेन । त्यसैले समितिले यही रूपमा लिनुपर्छ भन्ने म आग्रह गर्न चाहन्छु ।’’

मन्त्री ज्वालाले वर्षातका कारण पूर्वका विभिन्न जिल्लामा ठुलो धनजनको क्षति भएपछि आफ्नो मन्त्रालयले त्यसो हुन नदिनका लागि सक्दो प्रयास गरिरहेको दाबी समेत गर्नुभयो । उहाँले मुग्लिङ–नारायणगढ सडक खण्डमा देखिएको समस्या फेरि नबल्झिने गरी समाधान गरिएको पनि बताउनु भयो ।