• ४ वैशाख २०८१, मङ्गलबार

विज्ञ चिकित्सकको उपस्थिति शून्य, कार्यालय सहयोगी तीन गुणा बढी

blog

पुष्कर भण्डारी 

डडेलधुरा, साउन १६ गते । सुदूरपश्चिम प्रदेशको विशिष्ट विशेषज्ञ सेवासहितको अस्पताल डडेलधुरा अस्पतालमा एक जना पनि विशेषज्ञ चिकित्सक छैनन् । तर, कार्यालय सहयोगी भने दरबन्दीभन्दा तीन गुणा बढी छन् । 

विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले राम्रो उपचार सेवा पाएका छैनन् । दरबन्दीका चिकित्सकको तुलनामा कार्यालय सहयोगी ४२ जना भए पनि अस्पतालको सरसफाइ हुन सकेको छैन । 

डडेलधुरा अस्पताल उपक्षेत्रीयबाट विशिष्ट विशेषज्ञ अस्पताल बनेको पाँच वर्ष बितेको छ । तर, उपक्षेत्रीय अस्पताल हुँदाको दरबन्दी पनि खाली छ । ११ औँ तहको मेडिकल सुपरिन्टेन्डेन्ट एक जना दरबन्दी रहेको यस अस्पतालमा पाँच/छ तहका 

एक जना एनेस्थेसिया सहायक छन् । त्यस्तै ९/१० तहका १९ जना कन्सल्टेन्ड चिकित्सकको दरबन्दी भए पनि हेल्थ असिस्टेन्ट र सिनियर हेल्थ असिस्टेन्ट गरेर दुई जना मात्रै चिकित्सक रहेको अस्पतालका सूचना अधिकारी टङ्कप्रसाद पन्तले जानकारी दिनुभएको छ ।

आठौँ तहका १९ जना मेडिकल अधिकृतको दरबन्दी भए पनि हाल अस्पतालमा पाँच/छ तहका दुई जना मात्रै मेडिकल अधिकृत रहेको उहाँले बताउनुभयो । नेपाल सरकारले छात्रवृत्तिमा पढाउने चिकित्सक यस अस्पतालमा आउने र दुई वर्ष नपुग्दै जाने भएकाले चिकित्सकको दरबन्दी रिक्त रहेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. चेतराज भट्टले बताउनुभयो ।

कोभिड–१९ का कारण बीचमा पढाइ बन्द भएकाले यस वर्ष छात्रवृत्तिका विद्यार्थी पासआउट हुन सकेनन्, त्यसैले चिकित्सकको अभाव भएको उहाँको भनाइ छ । सङ्घीय सरकार मातहत सञ्चालनमा रहेको यस अस्पताललाई विशिष्ट सेवा दिने अस्पतालका रूपमा स्तरोन्नति गरिएको हो ।

सुदूरपश्चिमका पहाडी जिल्लाका बासिन्दालाई सेवा प्रवाह गर्न यो अस्पताललाई प्रदेशकै ठूलो र विशिष्ठ सेवा दिने अस्पतालका रूपमा स्तरोन्नति गरिएको थियो । तर, अहिले जनशक्तिको अभावमा सामान्य ज्वरो आएका बिरामीलाई पनि धनगढी रेफर गर्नुपर्ने बाध्यता रहेको छ । 

उपक्षेत्रीय अस्पताल सञ्चालनका लागि १०९ जनाको दरबन्दी स्वीकृत भएको थियो । तर, त्यसबेला स्वीकृत दरबन्दी अनुसार एक जना ११ औँ तहको मेडिकल सुपरिन्टेन्डेन्ट, नवौँ र १०औँ तहका थप १९ जना कन्सल्टेन्ट चिकित्सक हुनुपर्ने हो । तर, आठौँ तहका मेसुले अस्पताल सञ्चालन गरिरहेको अस्पतालका सूचना अधिकारी पन्तले बताउनुभयो ।

विशिष्ट विशेषज्ञ अस्पताल पाँच सय शय्याको हुनुपर्छ । तर, यो अस्पतालमा एक सय शøया पनि मुस्किलले सञ्चालन भइरहेको छ । प्रदेशको सबैभन्दा ठूलो अस्पताल भए पनि धनगढी प्रादेशिक अस्पतालमा बिरामी रेफर गर्नुपर्ने अवस्था रहेको सूचना अधिकारी पन्तले बताउनुभयो । 

एक जना पनि विशेषज्ञ चिकित्सक नभएको यस अस्पतालको तल्ला तहका कर्मचारीका लागि भने कार्यकर्ता तथा आफन्त भर्ती केन्द्रजस्तै बनेको छ । अस्पतालमा कार्यालय सहयोगीको स्वीकृत दरबन्दी १५ जनाको छ । तर, ४२ जना कार्यालय सहयोगी कार्यरत छन् ।

तीमध्ये ३३ जना करार, सात जना विकास समिति, एक जना ज्यालादारी र एक जना स्थायी गरेर ४२ जना कार्यालय सहयोगी कार्यरत रहेको सूचना अधिकारी पन्तले जानकारी दिनुभयो । २०१८ देखि विभिन्न नामले सेवा प्रवाह गर्दै आएको यस अस्पताल अमेरिकी नागरिक डा. मेनार्ड सिमनले १२ शय्याबाट सुरुवात गर्नुभएको थियो । 

त्यो समयमा टिबी, लेप्रोसी वार्ड स्थापना गर्दै सेवा सञ्चालन गरिएको थियो । २०४५ सालमा मा टिम अस्पतालका नाममा २५ शøयामार्फत स्वास्थ्य सेवा प्रवाह भएको हो । २०७० मा जिल्ला अस्पताल र टिम अस्पताललाई मिलाएर उपक्षेत्रीय बनाइएको हो ।