• १६ चैत २०८०, शुक्रबार

आठ वर्षपछि तातोपानी नाका नागरिकका लागि खुला

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, साउन १६ गते । आठ वर्षपछि नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच आउजाउका लागि तातोपानी नाका खुल्ने भएको छ । विसं २०७२ वैशाख १२ को भूकम्पपछि नागरिकलाई आवतजावतमा पूर्ण रूपमा बन्द रहेको तातोपानी नाका दुई महिनापछि खुला हुने भएको हो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको ११ औँ बैठकमा नेपाल र चीन सरकारका प्रतिनिधिबिच उक्त निर्णय भएको जानकारी दिनुभयो । चीनले सेप्टेम्बरभित्र तातोपानी नाका मानिसका लागि समेत खुला गर्ने सहमति जनाएको छ । उक्त बैठकमा दुईतर्फी व्यापारसँगै नागरिकलाई आवतजावतका लागि समेत नाका खोल्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै उक्त बैठकबाट काठमाडौँ–ल्हासा सिधा हवाई उडान सन् २०२३ को अन्तिमसम्म पुनः सुरु गर्ने निर्णय भएको छ । थप नाका सञ्चालनमा ल्याउने, नाकामा पूर्वाधार बनाउने, व्यापार सहजीकरण गर्नेलगायतका महत्त्वपूर्ण निर्णय भएको उहाँले जानकारी दिनुभयो । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले तातोपानी नाका आंशिक रूपमा आयात निर्यातका लागि खुल्दै आए पनि अहिलेसम्म मानिस आवतजावतका लागि नखुलेका कारण समस्या भएको उहाँले बताउनुभयो । 

भूकम्पपछि उक्त नाका चार वर्ष पूर्ण बन्द रहेकामा २०७६ जेठ १६ गते नाका आंशिक रूपमा आयात मात्रै खुलेको थियो । बाढीपहिरो, सडक, कोरोना भाइरस महामारीलगायतका कारण कहिले आंशिक रूपमा खुल्ने र बन्द हुने सो नाका गत वैशाख १८ बाट आयात निर्यातका लागि दुईतर्फी सञ्चालनमा आएको थियो ।