• १३ वैशाख २०८१, बिहिबार

दक्षिण कोरियाली पानीजहाज कम्पनीमा श्रमिकलाई अवसर

blog

काठमाडौँ, साउन १६ गते  । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ का लागि भाषा परीक्षाको आवेदन खुलेको छ । सो शाखाका अनुसार इच्छुक नेपाली श्रमिकले यही साउन २० देखि २४ सम्म अनलाइनमार्फत आवेदन दर्ता गर्न सकिने छ । 

नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको मानव संसाधन रोजगार मन्त्रालयबिच भएको समझदारी अनुसार इपिएस अन्तर्गत नेपाली श्रमिक पठाउन छनोटका लागि भाषा परीक्षा आवेदन खुलेको हो । 

सिप बिल्डिङको क्षेत्रमा पनि श्रमिक छनोटको प्रक्रिया अन्य क्षेत्रमा जाने श्रमिकको जस्तै हुने छ । इपिएस प्रणालीमार्फत दक्षिण कोरियामा रोजगारीका लागि जाँदा भाषा परीक्षा र सिप परीक्षण दुवैमा उत्तीर्ण हुनु पर्छ । 

इपिएस कोरिया शाखाले आइतबार सार्वजनिक गरेको सूचनामा सिप बिल्डिङका लागि आवेदन दिएकाहरूको भाषा परीक्षा असोज १ गतेदेखि हुने जनाएको छ । भाषा परीक्षाबाट झन्डै दुई हजार पाँच सय जनाको अन्तिम नतिजा प्रकाशन हुने छ तर श्रमिकको माग अनुसार उत्तीर्ण सङ्ख्या थपघट हुन सक्ने छ । भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीले दोस्रो चरणको सिप परीक्षणमा सहभागी भई उत्तीर्ण भएपछि मात्र रोजगार आवेदन फाराम भर्न सक्ने छन् । 

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नै दक्षिण कोरियाले सिप बिल्डिङको काममा नेपाली श्रमिक लैजान लागेको हो । यसअघि कृषि तथा पशुपालन र उत्पादन क्षेत्रमा श्रमिकहरू इपिएस प्रणालीमार्फत दक्षिण कोरिया गइरहेका छन् । आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, नेपाली नागरिक हुनुपर्ने शाखाद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।