• १६ चैत २०८०, शुक्रबार

‘सुन तस्करीको फाइल रोकिए गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ’

blog

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलसहित नेताहरु । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, साउन १४ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुन काण्डको गहिराइमा पुगेर अनुसन्धान गर्न आग्रह गर्नुभएको छ । फाइल बीचैमा रोकिए गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ उहाँले भन्नुभयो ।

उहाँले भरियामात्रै नभएर योजनाकारसम्म पुग्नेगरी अनुसन्धान गर्न आग्रह गर्नुभयो । सामान्य मजदुरको टाउकोमा मात्रै दोष थोपर्ने काम नगर्न उहाँको आग्रह छ । नेपाल प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले सुन तस्करीमा संलग्न व्यक्ति पक्राउ परेपछि संसद् अवरोध गर्ने काम पनि राम्रो नभएको बताउनुभयो । 

सुन काण्डमा जरैसम्म पुगेर अनुसन्धान गर्न र मुख्य योजनाकारलाई समात्न आग्रह गर्दै अनुसन्धान गरेझैँ गर्ने, सामान्य मजदुरको टाउकोमा दोष थोपरेर दोषीलाई उम्काउने काम भयो भने गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउनसक्छ उहाँले भन्नुभयो ।  

मुलुकमा भ्रष्टाचार बढेको बताउँदै भ्रष्टाचार रोक्न दलहरू जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ । पुँजीगत खर्चभन्दा चालुखर्च चार गुणा बढी रहेको बताउँदै त्यो पनि पूरा खर्च गर्न नसकिएको बताउनुभयो । विगत १५ वर्षको तथ्याङ्कमा ८५ प्रतिशतभन्दा बढी पुँजीगत खर्च हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । भ्रष्टाचार, अनियमितता र बेरुजु यसको प्रमुख कारण रहेको उहाँको भनाइ छ । 

प्रतिनिधि सभामा सांसद सङ्ख्या खटाउनु पर्ने, मन्त्रीपरिषद्को आकार पनि सीमित सङ्ख्याको बनाउनु पर्ने बताउँदै त्यसलाई समावेशी प्रकृतिको बनाउन पनि सकिने चर्चा गर्नुभयो । हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकमा पनि यो कुरा उठाएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभाको सङ्ख्या घटाएर २०१ बनाउन सकिन्छ, त्यसैअनुसार प्रदेश सभाको पनि सङ्ख्या घटाउन सकिन्छ, त्यसमा समावेशी चरित्रको हुँदैनकि भन्ने चिन्ता होला, त्यो मिलाउन सकिन्छ ।’ नेता पौडेलले सङ्घीयतालाई बलियो बनाउन राजनीतिक तथा प्रशासनिक खर्च घटाउनु पर्ने बताउनुभयो । 

पार्टीको केन्द्रीय समितिको बैठक लाइभ गरेर पनि मासवेस्ड पार्टीको चरित्र प्रदर्शन गरेको बताउँदै अब हुने बैठकमा पनि लाइभ हुने बताउनुभयो । ‘अब हुने बैठकमा पनि लाइभ हुन्छ’ उहाँले भन्नुभयो, ‘अब पछाडि फर्किन मिल्दैन ।’ 

कांग्रेस मासबेस्ड चरित्रको पार्टी भएकाले मासवेस्ड पार्टीका मूल्य मान्यतालाई अवलम्बन गर्नुपर्ने बताउनुभयो । पार्टीमा एकै प्रकृतिको सदस्य संरचना, जनताको भावनाको तथा उनीहरूको समस्यामा सम्बोधनलगायतका कुरामा अझै सुधार गर्न खाँचो रहेको उहाँको भनाइ छ ।