• १६ चैत २०८०, शुक्रबार

टिमुर खेतीबाट मनग्य आम्दानी

blog

पाल्पाका किसानले लगाएको टिमुर । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, साउन १४ गते । खाली जग्गामा लगाएको टिमुर खेतीले पाल्पाका दुई हजार किसान लाभान्वित भएका छन् । बारीको छेउ, ढिक, खोरिया तथा वनमा लगाएको टिमुर खेतीले पाल्पाका दुई हजार बढी किसानलाई फाइदा पुगेको हो ।  

असारको अन्तिम सातादेखि असोज-कात्तिक महिनासम्म टिमुर विक्री गरेर पाल्पाका किसानले वार्षिक तीन लाख रुपियाँसम्म आम्दानी गर्ने गरेका छन् । खेर गइरहेको जग्गामा टिमुर खेती गरेर यहाँका किसानले ५० हजारदेखि तीन लाखसम्म आम्दानी गरेको उनीहरूको भनाइ छ । घरको बारी, ढिक तथा वनमा लगाएको टिमुरबाट वार्षिक दुई लाख आम्दानी गरेको रिव्दीकोट–६, ठिमुरेका किसान शिवबहादुर जिसीले बताउनुभयो । चार वर्षअघि खेर गएको जग्गामा लगाएको टिमुरका बोटले अहिले राम्रो फाइदा दिएको उहाँले बताउनुभयो । 

पछिल्लो समय अर्गानिक र औषधिजन्य जडीबुटीको प्रयोगकर्ता बढेका कारण शहरी क्षेत्रमा टिमुरको माग अत्यधिक छ । बजारमा अचार बनाउन, तरकारी झान्न, मसला बनाउन, सुप बनाउन तथा अन्य परिकार र औषधि बनाउन टिमुरको प्रयोग हुँदै आएको छ । ग्रामीण क्षेत्रमा भन्दा बजारमा बस्ने मानिसहरूले टिमुरको प्रयोग बढाएकाले टिमुरले राम्रो मूल्य पाएको किसानको भनाइ छ। 

टिमुर किन्न बजारका मानिसले खोसाखोस गरेको माथागढी–३, सिलङ्गीका किसान दुर्गासिंह ढेगामगरले बताउनुभयो । टिमुरलाई बजारसम्म लैजाँदा प्रतिकिलो एक हजार रुपियाँसम्ममा बिक्री भएको उहाँले बताउनुभयो । 

अग्लो र ओसिलो स्थानमा यसको खेती गर्न सकिने भएकाले पाल्पाको अधिकांश स्थानमा टिमुरको खेती गर्न सकिन्छ । बाँदरले अन्य खेतीमा आक्रमण गरिरहेका बेला टिमुर खेती किसानका लागि फाइदाजनक र सुरक्षित खेती हुने गरेको डिभिजन वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य खेतीमा बाँदरको आक्रमण हुन्छ तर टिमुर खेतीबाट किसानलाई सुरक्षित र दीर्घकालीन फाइदा हुन्छ ।” एक पटक टिमुरको बोट हुर्काएपछि वर्षौसम्म फाइदा लिन सकिने पोखरेलको भनाइ छ । 

डिभिजन वन कार्यालयले यो वर्ष टिमुरको पकेट क्षेत्र बनाउन बिरुवा वितरण गरेको कार्यालयका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिनुभयो । जिल्लाको माथागढी, तिनाउ, निस्दी र तानसेनका नर्सरीमा उत्पादन भएका १५ हजार बढी टिमुरका बिरुवा वितण गरिएको उहाँले बताउनुभयो । जिल्लाको रिव्दीकोट, तिनाउ, माथागढी, रैनादेवी छहरा, पूर्वखोला र निस्दी गाउँपालिकाको विभिन्न स्थानमा टिमुर खेती हुने गरेको छ । वन कार्यालय र स्थानीय तहहरूले समेत टिमुर खेतीलाई प्राथमिकता दिँदै आएका छन् ।