• १६ चैत २०८०, शुक्रबार

आठ हजार बढी राष्ट्रिय परिचयपत्र प्रशासनको खातमा

blog

तिलाचन पाण्डे

तम्घास, साउन १४ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीमा आठ हजार ७४ राष्ट्रिय परिचयपत्र बनेर आएपनि परिचयपत्र लिन आउनेको सङ्ख्या भने न्यून रहेको पाइएको छ । २०७६ साल असार ३२ गते तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता गराएर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

ज्ञवालीले विवरण दर्ता गरेर शुभारम्भ भएपश्चात् जिल्लाका १२ वटै स्थानीय तहमा अभियानमार्फत विवरण दर्ता भएको थियो । सोही अभियान र जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता भएकामध्ये दुई पटक गरी गत वैशाखसम्म आठ हजार ७४ जनाको परिचयपत्र बनेर आएपनि ७५१ जनाले मात्र परिचयपत्र लिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।

परिचयपत्र बनेर आएको र लिन आउनुहोस् भन्ने म्यासेज सम्बन्धित व्यक्तिको मोबाइल नम्बरमा गएपनि लिन आउनेको सङ्ख्या भने न्यून रहेको उहाँको भनाइ छ । विवरण दर्ता गर्दा राखिएको मोबाइल नम्बरमा म्यासेज गएको बताउँदै गैरेले यसको महत्त्व नबुझेर पनि लिन नआएको हुन सक्ने बताउनुभयो ।

कतिपयको तत्कालीन समयमा दिइएको मोबाइल नम्बर नभएको, सम्बन्धित व्यक्तिको मृत्यु भएको, देशभन्दा बाहिर रहेको र म्यासेज नहेरेका कारणले पनि समस्या भएको हुन सक्ने गैरेको भनाइ छ । परिचयपत्र लिनका लागि सम्बन्धित ब्यक्तिनै आउनुपर्ने र फिङगर प्रिन्ट दिनुपर्ने भएकाले एकै घरका भएपनि अरू कसैलाई दिन नमिल्ने प्रशासनले जनाएको छ ।

जिल्लामा हालसम्म एक लाख ७९ हजार ६४८ जनाले विवरण दर्ता गराएका छन् । राष्ट्रिय परिचय पत्र लागु भइसकेपछि विभिन्न सरकारी एवम् अन्य सेवा सुविधासँग आबद्ध गरी नागरिकलाई ई-सर्भिस गराउन सकिनेछ । 

सार्वजनिक सेवा सुविधा ई-सर्भिससँग आबद्ध भई पेपरलेस सेवा सुविधा उपलब्ध हुने अपेक्षा  गरिएको छ । सुरक्षित, आधिकारिक तथ्याङ्क र विवरण सहितका सेवाहरू सहजरुपमा पाउन सकिने छ । जसबाट कर, राजश्व छली लगाएतका आर्थिक अनियमितमा नियन्त्रण हुने, तथा वैदेशिक रोजगारको क्षेत्रलाई समेत सुशासित तुल्याउन टेवा पुग्ने, मुलुकमा सुशासन कायम हुने विश्वास लिइएको छ ।