उद्धारका लागि व्यापक तयारी

चाँदनी हमाल

bipadकाठमाडौँ, असार २८ गते । बिहीबारबाट सुरु भएको अविरल वर्षाका कारण नेपालको मध्य तथा पूर्वी भेगका ठूला, मझौला तथा स्थानीय नदीको सतहले सतर्कताको विन्दु पार गरेका छन् । भोजपुर–धरान, बीपी राजमार्ग, बुटवल–पाल्पा सडक, लमजुङ–मनाङ सडकखण्ड बन्द भएको गृह मन्त्रालयले जनाएको छ ।
लगातारको वर्षाले माटो गलाएर पहाडी भेगमा पहिरोको जोखिम पनि बढाएको छ । देशका विभिन्न स्थानमा बाढी आउँदा जनधनको क्षति बढ्दै छ । मध्य र पूर्वी क्षेत्रका ठूला नदीको जलसतह बढेर मानव बस्तीमा पस्न थालेपछि मौसम पूर्वानुमान महाशाखाले पूरै शक्ति बाढीको व्यवस्थापनमा लगाउन शुक्रबार बिहानै आह्वान गरेको छ ।
मझौला नदीहरू पनि उर्लिएका छन् । कमला, कन्काई र तिनाउमा बाढीको सतहले खतराको सङ्केत नाघिसकेको छ । उपबेसिनअन्तर्गत रहेको सप्तकोसीका सातवटा तथा बाग्मती, विष्णुमती, महनोहरा, नख्खु, गण्डकीको त्रिशूली, मस्र्याङ्दी, सेती, मादी, कालीगण्डकीमा बाढीको सतह सतर्कता तह माथि उक्लेकाले विपद्को ठूलै सङ्कट आउन सक्ने अनुमान महाशाखाले गर्दै सतर्कताका लागि आग्रह गरेको छ ।
जलविज्ञ विनोद पराजुलीले भन्नुभयो, “बाग्मतीको सतर्कता तह छ दशमलव आठ मिटर हो तर यो तह पार गरेर आठ मिटरमाथि उक्लिसकेको छ, यसले काठमाडौँ उपत्यका र तराईको भूभाग डुबानमा पारेको छ । ” कर्णालीको सानो भेरी, सानो कर्णाली, पश्चिम सेती, बूढीगङ्गा तथा महाकालीको चमेलिया सहितका उपबेसिनका नदीमा बाढीको जोखिम छ ।
लगातारको वर्षाका कारण बिहीबार आधा रातमै कपिलवस्तु, रुपन्देही, चितवन, पर्सा, मकवानपुर, सिन्धुली, सिराहा, रौतहट आसपासका अधिकांश जिल्लामा भारी वर्षा भएको रेकर्ड महाशाखामा आयोे । बहाव खतराको सङ्केतभन्दा माथि उक्लेकाले तटीय मानवीय सुरक्षामा ध्यान दिन महाशाखाले सम्बन्धित निकायलाई अपिल गरेको छ । “कमला नदीले आफ्नो खतराको तह पार गरिसकेको छ,” पराजुलीले थप्नुभयो, “कन्काई र कोसीको सतह उच्च तहमा पुगिसकेको छ । ”
प्रदेश १, २ र ३ का चुरेका नदीमा उच्च बाढी रहेकाले तराई क्षेत्रमा उच्च खतरा बढेको छ । पूर्वको मेची, विरिङ, निन्दा, पथरी, मोरङ, सुनसरी र इलामबाट बहने मावा, नुनखोला, बूढीखोला, खेसिलिया, सुनसरी खोला, उदयपुरको त्रियुगा, वालन, खुट्टीखोला, सप्तरीको खाडो, माहुली, रातु, हर्दी, महोत्तरीको रतुवा, रौतहटको लालबकैयामा बाढी उच्च भएको छ । होचा भूभाग बढी डुबानमा परेकाले बस्ती सार्नुपर्ने अवस्थामा छ ।

मध्य र पूर्वमा चर्को प्रहार
मनसुनी न्यूनचापीय रेखाको बढ्दो घनत्वले नेपालको मध्य र पूर्वमा अधिक वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । भारी वर्षाको अनुमान महाशाखाले गरे पनि त्योभन्दा अत्यधिक वर्षा भइरहेको मौसमविद्हरूले जानकारी दिएका छन् । यस क्षेत्रमा अझै तीन दिन निरन्तर वर्षा जारी रहने छ ।
मौसमविद् समिर श्रेष्ठले भन्नुभयो, “गत २४ घन्टामा मध्य क्षेत्रमा दुई सय मिलिलिटर बढी पानी परिसकेको छ, पूर्वी भेगमा एक सय मिलिलिटर बढी पानी परिसक्यो । ” मनसुनी वर्षा गराउने न्यूनचापीय रेखाको घनत्व तराई र मध्य पहाडी आकाशमा तेर्सिएकाले अत्यधिक वर्षा भएको हो । उहाँले थप्नुभयो, “काठमाडौँको आकाशमा छुट्टै न्यूनचापीय रेखाको घनत्व बसेको छ, यसकै कारण चिसो हावासँगै अधिक वर्षा भइरहेको हो । ”
काठमाडौँमा शुक्रबार रातभरि वर्षा जारी रही शनिबार केही कम हुने अनुमान छ । यतिबेला मनसुनी न्यूनचापीय रेखाको ठूलो हिस्सा बङ्गालको खाडीदेखि पाकिस्तानसम्म फैलिएको छ । जसको उत्तरी बीच भाग नेपालमा परेको छ । मनसुनी हावाले वरपरबाट तानेको जलवाष्प समेटेर बनेको गुजुल्टिएको बादलले ठूलो वर्षा, हावाहुरीसँगै आँधी ल्याउने गर्छ तर नेपालमा आँधी भने नआउने श्रेष्ठ बताउनुहुन्छ ।
जमिनबाट २०० मिलिबार अर्थात् १४ किलोमिटर आकाशसम्म फैलिएको न्यूनचापीय रेखा जति माथि गयो, उति कडा वर्षा गराउँछ । पश्चिम पहाडमा समेत फैलँदै गएको उक्त रेखाले पश्चिम भेगमा शुक्रबारदेखि मनसुन सक्रिय गराउने छ ।

उद्धारको सुरुआत
महाशाखाले बाढीका कारण नदीको बहाव, वर्षाको खतरा, पहिरो र डुबान हुनसक्ने उच्च जोखिम रहेका २२४ क्षेत्रको लगातार निगरानी गरिरहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको बाढी पूर्वानुमान महाशाखाका अनुसार पहाडका करिब ५०, हिमालका चार र तराईका करिब ५० वटा नदी बाढीको हिसाबले जोखिमपूर्ण छन् । महाशाखाले सातवटा कर्णाली, महाकाली, पश्चिम राप्ती, नारायणी, बाग्मती र सप्तकोसी बेसिनका आधारमा बाढीको उतारचढावको अवलोकन गरिरहेको जलविज्ञ पराजुलीले बताउनुभयो ।
जोखिम क्षेत्रलाई प्राथमिकतामा राख्दै सम्भावित प्राकृतिक प्रकोपबाट जनधनको क्षति रोक्न अविराम पूर्वसूचना दिइरहेको जलविज्ञ सुनिल पोखरेलले जानकारी दिनुभयो । “बिहान ३, ४ र ५ बजे सुरक्षित स्थानमा सर्न तराईका दुई स्थानका स्थानीयलाई मोबाइलमा म्यासेज पठायौँ,” उहाँले भन्नुभयो, “बेलुकासम्म फेरि थप जनसङ्ख्यालाई म्यासेज पठाइसक्यौँ । ”
उहाँका अनुसार कमला नदीले असर पार्ने सिराहा, धनुषा, सिन्धुली क्षेत्र र बाग्मतीले बढी क्षति गर्नसक्ने पँधेरा दोभान गाउँका बासिन्दालाई सुरक्षित स्थानमा सर्न म्यासेजबाट सूचना प्रवाह गरिएको हो । करिब एक लाख जनसङ्ख्यालाई पालैसँग सुरक्षित रहन सन्देश (म्यासेज) पठाइएको हो । तटीय क्षेत्रका बासिन्दाको मोबाइल नम्बर नेपाल टेलिकम र एनसेलले सङ्कलन गरी बाढी पूर्वानुमान महाशाखालाई हरेक राति उपलब्ध गराउँछ । तराईका २३ वटा जिल्ला बाढीको सम्भावित जोखिमयुक्त जिल्लाका रूपमा पहिचान गरी तयारी उद्धार सुरु भएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले बताउनुभयो । उहाँका अनुसार स्थानीय, प्रदेशदेखि केन्द्रसम्मका निकायहरू रेडक्रस, गैरसरकारी निकाय, अन्तर्राष्ट्रिय संस्था, मानवअधिकारकर्मी र नागरिकको फरक सञ्जाललाई सक्रिय बनाइएको छ ।
“जिल्लामै क्विक रेस्पोन्स टिमले उद्धारको पहल गरिरहेको छ,” उहाँले भन्नुभयो, “आत्तिइसक्नुपर्ने अवस्था नआए पनि केन्द्रले निश्चित स्थानमा राखेका सुरक्षाकर्मी, उद्धार सामग्री र राहत सामग्री परिचालन गर्न तयार छौँ । ” खनालले प्रदेशमा नेपाली सेना, सशस्त्र प्रहरीको डफ्फा तयार छ । काठमाडौँ, इटहरी र सुर्खेतमा आपत्कालीन उद्धारका लागि हेलिकोप्टर तयार छ ।

सेना र सशस्त्रको उद्धार टोली
नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयले बाढी, पहिरोलगायत प्राकृतिक विपत्तिमा परेकाको उद्धार गर्न जनशक्ति र साधनस्रोत परिचालन गरेकोे छ । पहिरो र बाढीमा परेकाको उद्धार गर्न सेनाको टोली खटिएको छ ।
विपद् व्यवस्थापन एक नम्बर गण काठमाडौँ र पूर्वी नेपालको विपत्मा परेकाको उद्धारका लागि तयारी गरेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो । नम्बर २ विपद् व्यवस्थापनले चितवनदेखि पश्चिमका क्षेत्र हेर्नेछ । तालिमप्राप्त जनशक्ति सातै प्रदेशको आठवटा पृतनामा आपत्कालीन उद्धार टोली तयारी अवस्थामा छ । जिल्लास्तरमा गण रहेका स्थानमा १०४ र गुल्म रहेको स्थानमा ३० जनाको उद्धार टोली तयार छ ।
सेनाको १४ नम्बर इन्जिनियर बाहिनी विपद्का लागि काम गरिरहेको छ । राजमार्ग भत्किएमा तुरुन्तै उद्धार गर्न र बाटो खुलाउन पाँचवटा एक्रोब्रिज तयार रहेको पाण्डेले बताउनुभयो । “जुरेको तातोपानीमा बाटो बिग्रिएपछि एउटा एक्रोब्रिज प्रयोग भइरहेको छ,” उहाँले भन्नुभयो, “बाँकीमध्ये थानकोटमा एउटा, बाराको जितपुर, चितवनको भरतपुर र धादिङको बैरेनीमा आवश्यक पर्दाका लागि तैनाथ छ । ” राजमार्गमा अवरोध आउनासाथै एक्रोब्रिज प्रयोगमा ल्याइन्छ । अलपत्रमा परेकाको तत्काल उद्धार सहज बनाउँछ ।
बाढीमा परेकाको उद्धार गर्न रिभरबोट, ओभरबोट मोटर र आईबीबोट सबै पृतनामा पठाइसकिएको छ । पूर्वको मोरङको याङसिला, झापाको चारआली, कोसीटप्पु, थलाहा र इटहरीमा गरी आठवटा बोट, धनुषा, राजविराज, सुनसरी र रौतहटका लागि १२, मध्यको बाग्मती, ठाडोखोला, सुपारीटार, भैँसे, कसरा, भरतपुर र दियालो बङ्गलामा गरी १०, पश्चिमको पोखरा र विजयपुरका लागि नौ, मध्य पश्चिमको सुर्खेत आसपासका लागि नौ, दाङ, ठाकुरद्वारा, नेपालगन्ज र नवलपरासीका लागि पाँच, सुदूरपश्चिमको कैलाली, धनगढी, कञ्चनपुरका लागि ११ वटा बोट गरी जम्मा ६४ वटा बोट बाँडिएको छ ।
काठमाडौँ तथा विशेष आवश्यकताका लागि ओभरबोट मोटर १३, आईबी मोटर पाँच र ११ वटा रिभरबोट तथा सेनाको इन्जिनियर टोलीसँग ३६ वटा बोट थप तैनाथ रहेको पाण्डेले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले पनि उद्धारका लागि आफ्नो जनशक्ति तयार राखेको जनाएको छ ।

हवाई उडान बन्द
चर्को वर्षात्ले भिजिबिलिटी कमजोर बनेपछि देशका सबै क्षेत्रको हवाई उडान शुक्रबार ठप्प बन्यो । मध्यदिनमा वर्षात्कै बीच मौसम थोरै खुलेर ४५०० भिजिबिलिटी देखिए पनि अधिकांश समय २५०० भिजिबिलिटी कायम रह्यो । अधिक धमिलिएको मौसममा हवाई उडान नगर्न महाशाखाले सुझाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds