• ८ वैशाख २०८१, शनिबार

एक सयभन्दा बढी घरमा बिजुली

blog

शेरबहादुर राई

ओखलढुङ्गा, साउन १४ गते । सुनकोशी गाउँपालिका–९ ककनीका एक सय ९१ घरधुरीमा सौर्य मिनिग्रिडमार्फत विद्युतीकरण गरिएको छ । नेपाल विुद्युत प्राधिकरण, सुनकोशी गाउँपालिका र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको सहकार्यमा सौर्य मिनिग्रिड स्थापना गरी ककनीमा विद्युत् सेवा विस्तार गरिएको हो । 

उर्जा मन्त्रालय, वैकल्पिक उर्जा प्रवर्धन केन्द्र र नेपाल विद्युत प्राधिकरणको सहकार्यमा देशका विकट क्षेत्रमा विद्युत् सेवा विस्तार गर्ने अभियानमा सरकार लागि परेको उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बताउनुभयो । सौर्य मिनिग्रिड आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै सचिव घिमिरेले यस्तो बताउनुभएको हो । 

सुनकाशीको ककनी गाउँ धार्मिक एवम् पर्यटकीय क्षेत्र भएकाले यहाँ विद्युतीकरणको अति आवश्यकता रहेको सचिव घिमिरेको भनाइ छ । ककनीका नागरिकले उर्जाको उच्चतम खपत गरेर आर्थिकस्तर वृद्धि गर्न वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका सहायक निर्देशक डा. लक्ष्मणप्रसाद घिमिरेले बताउनुभयो । 

ककनी गाउँमा विद्युतीकरण गरेर एउटा महत्वपूर्ण अभिभारा पूरा गरिएको वडा अध्यक्ष हितराज कार्कीले बताउनुभयो । उज्यालो सुनकोशी अभियान थालेको स्थानीय सरकारले अघिल्लो कार्यकालमा रुद्रप्रसाद अधिकारीको नेतृत्वमा सुनकोशीमा विद्युतीकरणको काम थालिएको थियो । भौगोलिक विकटताका कारण केन्द्रीय विद्युत् विस्तार गर्न खर्चिलो हुने र तत्काल विद्युतीकरणको सम्भावना नहुने भएपछि सुनकोशी–९ ककनीमा सौर्य मिनिग्रिड स्थापनाको योजना बनाएको थियो । 

६ करोड ४२ लाख ८८ हजार ९३३ को लागतमा सौर्य मिनिग्रिड स्थापना गरिएको हो । वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको ९० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत लागत गरी कुल ६ करोड ४२ लाख लाख ८८ हजार ९३३ को लागतमा सौर्य मिनिग्रिड स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । मिनिग्रिडबाट ककनीका १९१ घरधुरी लाभान्वित भएका छन् । 

ककनीका स्थानीयको घर साथै विद्यालय र स्वास्थ्य संस्थामा समेत विद्युत् जडान गरिएको छ । सौर्य मिनिग्रीटको सुविधा नपुगेको ककनीकै १७ घरलाई भने ५० वाटको सोलार वितरण गरिएको छ । धार्मिक, प्राकृतिक हिसाबले सुन्दर र पर्यटकीय प्रचुर सम्भावना भए पनि भौगोलिक हिसाबले जिल्लाकै विकट मानिने ककनीमा विद्युत् विस्तार भएपछि खुशी लागेको स्थानीय नरबहादुर सुनुवारले बताउनुभयो ।