• ७ वैशाख २०८१, शुक्रबार

सार्वजनिक जग्गामा बनेको घरटहरा हटाइएको खुुलासा

blog

बझाङको केदारस्युँ गाउँपालिका–७, स्यालढुङ्गाको गाउँलेले हटाएको घर ।

शैलेन्द्र रोकाया 

बझाङ, साउन १४ गते । बझाङको बित्थडचिर गाउँपालिका–७, स्यालढुङ्गाको सार्वजनिक खाल्सा गौचरण जमिन अतिक्रमण हुन थालेपछि त्यहाँका गाउँलेहरूले संरक्षण गर्न थालेका छन्। स्थानीय  पुड्को ओखेडा र कृष्ण उखेडाको परिवारले सार्वजनिक जग्गा भोग गर्ने गरी घेरबार र घरटहरा निर्माण गरेपछि गाउँलेहरूले बिहीबार पुड्को उखेडाको निर्माणाधीन घर भत्काइदिएको हो। 

सो जमिनमा बनेको घरटहरा भत्काएको विषयमा विवाद भएको छ। धामी गाउँ निवासी दलित दुई परिवार २५ वर्ष अगाडिदेखि स्यालढुङ्गामा बसोबास गर्दै आएका थिए। दलित परिवारको एउटा कित्ता दर्ता भएर घर आवास बनाएको र बाँकी रहेको दर्ता जग्गासँगै सार्वजनिक जग्गा जोडिएकाले अतिक्रमणमा परेको भनाइ स्थानीयवासीको छ। 

सो सार्वजनिक जग्गामाथिको अतिक्रमण रोक्न गाउँलेहरूले पुड्को आखेडाको निर्माणाधीन घर र केही खेतबारी हटाएको दाबी गरेका छन्। जातीय विभेदका कारण घरटहरा हटाएको भन्दै आलोचना भएपछि गाउँलेहरूले सो घटना जातीय छुवाछुतका कारण नभएर सार्वजनिक जग्गा अतिक्रमण हुन थालेकाले रोकेको दाबी गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय चैनपुरमा भेटिएका सोही वडाका कार्यवाहक वडाध्यक्ष मुकुन्द जोशीका अनुसार पुड्को आखेडाको घर भएको स्यालढुङ्गाबाट गैरदलित बस्ती झन्डै दुई किलोमिटर टाढा छ। 

यो जातीय विभेद र कुनै पनि आग्रह पूर्वाग्रहले गरिएको घटना होइन। यस अगाडि पनि पुड्को उखेडाका भतिज कृष्ण उखेडाले पनि त्यही ठाउँमा खाली खाल्सा जमिन मिचेको गुनासो आएपछि छोडेको हो तर पुड्को उखेडाले घरभन्दा माथि खाली खल्सा जमिनमा घर बनाएर सार्वजनिक जग्गा अतिक्रमण गर्न खोजेपछि गाउँलेहरूले बल प्रयोग गरेको उहाँले स्पष्ट पार्नुभयो। 

स्यालढुङ्गा भन्ने ठाउँ खाली खाल्सा आबादी र बस्तीका लागि उपयुक्त जमिन छ। गाउँलेहरू सबैको आँखा पनि त्यसै ठाउँमा भएकाले दलित परिवारले बर्सेनि घरबारी र घेरबार सार्दै गएपछि गएको चैत महिनामा वडा कार्यालयमा उजुरीसमेत परेको उहाँले बताउनुभयो। 

पुड्को उखेडाका भतिज कृष्ण उखेडाले पनि स्थानीय गाउँले दलित भएकै कारण आफ्नो घरटहरा नहटाएको बताउनुभयो। मेरो पनि केही जमिन खाली खोल्साभित्र थियो मैले स्वस्फूर्त रूपमा जग्गा खाली गरिदिएको हुँ तर काकाले घर लगाउँदा चलन भोग गरेको जग्गाभन्दा बाहिर लगाएपछि गाउँलेहरूले भत्काएको हो। 

स्यालढुङ्गाको जग्गाको विषयमा जनप्रतिनिधिको रोहबरमा गाउँले र दुई दलित परिवारका बिचमा छलफल भएर त्यहाँ घर नलगाउने सहमति भएको स्थानीय नवराज जोशीले बताउनुभयो। बाहिर भनिएको जस्तो जातीय विभेदका कारण घरटहरा भत्काएको भन्ने गलत हो उहाँले भन्नुभयो।  

पुड्को उखेडाका छोरा करन उखेडाले आफू बस्दै आएको पुरानो घरको जग्गा दर्ता छ तर त्यसको आसपास कति क्षेत्रफल छ थाहा नभएको र अहिले भत्काएको घर पनि आफ्नै लालपुर्जामा हुनुपर्ने जिकिर गर्नुभयो। गाउँलेहरूले दलित भएका कारण आफूमाथि  बलमिच्याइँ गरेपछि न्यायका लागि उजुरी दिएको बताउनुभयो।

सो घटनाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयमा दुव्र्यवहारसम्बन्धी मुद्दा दर्ता गरेर धामी गाउँका तीन जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताउनुभयो। 

सो गाउँमा ३२ घरधुरीको बसोबास छ। पुड्को उखेडाले अतिक्रमण गरेको भनिएको जग्गामा रहेका घरटहरा हटाउन २२ जोशी र अन्य १० दलित परिवार गएका थिए। १२ वर्षअगाडि स्यालढुङ्गा ठाउँमा अतिक्रमण गरेको भन्दै प्रहरी नियन्त्रणमा रहेका कृष्ण जोशी र धामी गाउँमै रहेका अम्भादत्त जोशीको घरटहरासमेत गाउँलेले हटाएका थिए।