• १३ वैशाख २०८१, बिहिबार

सरकारी विद्यालयमा बढ्न थाले विद्यार्थी

blog

कालिकोटको दोस्रो वडिमालिका मावि रास्कोटमा विद्यार्थी । तस्बिर: प्रेमराज

प्रेमराज सिम्खडा

कालिकोट साउन १४ गते । कालिकोट जिल्लामा पछिल्लो समय सामुदायिक विद्यालय प्रति विद्यार्थीको आकर्षण बढेको छ । कुनै बेला सरकारी विद्यालयमा भन्दा संस्थागत विद्यालयमा बढ्दै गएको आकर्षण पछिल्लो घट्दै जाँदा यता सरकारी विद्यालयमा वढेको पाइएको हो । 

स्थानीय सरकारको नीति र गैरसरकारी सङ्घसंस्थाले विभिन्न सचेतना मूलक अभियान सञ्चालनसँगै सहयोग गर्न थालेपछि विद्यार्थीको आकर्षण सरकारी विद्यालयमा बढेको छ । जिल्लाको बडिमालिका माध्यमिक विद्यालय स्युनामा यस शैक्षिक सत्रमा तीन सय ८४ जना थप विद्यार्थी भर्ना भएको पाइएको छ । गत शैक्षिक सत्र २०७९ मा ८१५ जना विद्यार्थी सङ्ख्या रहेको बडिमालीका माध्यमिक विद्यालयमा यस शैक्षिक सत्रमा एक हजार १९९ जना विद्यार्थी अध्ययनरत छन् । 

मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा लागु गरेको बाल प्रारम्भिक र जबरजस्ती विवाह परियोजनाले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गर्ने काम गरेको छ । यसको प्रभावले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धि भएको विद्यालयको बुझाई छ । बडिमालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज बरालले सरकारी विद्यालयमा विद्यार्थी भर्नामा गैर सरकारी संस्थाको सहयोग राम्रो रहेको बताउनुभयो । बरालले विद्यालय बाहिर रहेका बालबालिकालाई विभिन्न सहयोग मार्फत विद्यालयमा भर्ना गर्न थालेपछि सरकारी विद्यालयमा विद्यार्थी बढ्न थालेका सुनाउनुभयो ।  

जिल्लाको नरहरिनाथ गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिका भित्रका विद्यालयमा विद्यार्थी भर्ना गर्न परियोजनाले सहयोग गरेपछि सरकारी विद्यालयमा विद्यार्थी अनुपात बढेको छ । नरहरिनाथ गाउँपालिका वडा नं ३ को रमा माविमा पनि गत शैक्षिक सत्र भन्दा यस वर्ष ८७ जना थप विद्यार्थी भर्ना भएका छन् ।  परियोजनाले विद्यालयमा परम्परागत सामाजिक हानिकारक मानव दण्डहरू जस्तै बाल, बाल्यकाल र जबरजस्ती विवाह, छाउपडी प्रथा, लैङ्गिक हिंसा, जातीय विभेद र विद्यालय छाड्ने दरलाई न्यूनीकरण गर्न सचेतीकरणका काम गरिरहेको छ । साथै, परियोजनाले विभिन्न हस्तक्षेपहरू मार्फत शान्तिपूर्ण, तीर्थस्थल र समावेशी बालमैत्री वातावरण सिर्जना गर्न थालेपछि विद्यालयमा विद्यार्थीहरूको आकर्षण बढेको बताइन्छ । 

शिक्षा विकास तथा समन्वय इकाई कालिकोटका प्रमुख प्रकाशचन्द्र धितालले जिल्लाका नौ स्थानीय तहका ३ सय सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धि भइरहेको बताउनुभयो । उहाँले कुनैमा धेरै र कुनैमा अलि कम सङ्ख्यामा भर्ना दर बढेको आफूले पाएको बताउनुभयो । कालिकोटमा आधारभूत विद्यालय २२५ वटा, माध्यमिक विद्यालय ७५, बाल विकास केन्द्र ४२ वटा रहेका छन् भने जिल्लामा तीन वटा क्याम्पस, सामुदायिक सिकाई केन्द्र ३० वटा र खुला विद्यालय १ गरी जम्मा ३७६ शिक्षालय रहेका छन् । विद्यालय सङ्ख्या सरकारले सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्न निःशुल्क भर्नादेखि निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति र दिवा खाजा उपलब्ध गराउँदै आएको छ ।

सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ कार्यान्वयन गरी माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने र सबैका लागि शिक्षामा पहुँच सुनिश्चित गर्ने नीतिले पनि विद्यार्थीको सरकारी विद्यालयमा रुचि बढेको देखिन्छ  । कालिकोटका बडिमालीका मावि रास्कोट लगायतका केही विद्यालयमा छिमेकी जिल्ला दैलेख र सुर्खेतबाट विद्यार्थी पढ्न आउने गरेका छन् ।