• १६ चैत २०८०, शुक्रबार

राजमार्गमा सार्वजनिक शौचालय र विश्रामस्थल

blog

हेटौँडा–१९ मा निर्माण गरिएको पार्क, विश्रामस्थल र सार्वजनिक शौचालय । तस्बिर : अनिल पराजुली

हेटौँडा समाचारदाता

हेटौँडा, साउन १४ गते । पूर्व–पश्चिम राजमार्गमा पर्ने हेटौँडा उपमहानगरपालिका–१९, रहेको चनौटा सामुदायिक वन क्षेत्रमा यात्रुका लागि सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण गरिएको छ। 

पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्ने हजारौँ यात्रुका लागि हेटौँडा–१९ को नेवारपानी र सान्नानटार बस्तीको मध्यभागतिर निःशुल्क सार्वजनिक शौचालय र हरियाली पार्कसहितको विश्रामस्थल निर्माण गरिएको हो। हेटौँडा उपमहानगरपालिका, डिभिजन वन कार्यालय राप्ती मनहरी, वन समूहलगायतका निकायको सहयोग र स्थानीयको सक्रियतामा पार्क निर्माण गरिएको हो।

सार्वजनिक शौचालय प्रयोगमा आइसकेको छ भने यहाँ सवारीसाधन रोकेर चिया, कफी खाने प्रवन्धका लागि संरचना निर्माण भइरहेको चनौटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिशरण पौडेलले जानकारी दिनुभयो। 

“गत वर्षदेखि सार्वजनिक शौचालय बनाउने योजना अगाडि बढाएका थियौँ, अहिले सार्वजनिक शौचालय मात्र होइन, पर्यटकीय स्थलसमेत बन्न पुगेको छ,” उहाँले भन्नुभयो। त्यससँगै बिरामी र अशक्त अवस्थामा फेला पारिएका जङ्गली पन्छीको उपचार कक्ष पनि स्थापना गरिएको अध्यक्ष पौडेलले बताउनुभयो। पार्क निर्माण हुनुअघि लागुऔषध प्रयोग गर्ने अखडा बनेको यो स्थानमा अहिले पार्कसहित विश्रामस्थल बनेको हो। समूहले राजमार्गको दक्षिणतर्फ कम्पाउन्ड गरी पार्क निर्माण गरेसँगै भगवान् गौतम बुद्धको मूर्ति, हात्तीको मूर्ति, बाघको मूर्ति र सालक पार्क नै स्थापना गरेको छ। 

अहिले हेटौँडा उपमहानगरपालिकाको सहयोगमा नौवटा शौचालय बनिसकेका छन् भने १८ वटा थप्ने योजना रहेको बताइएको छ। पार्कमा कफीबार भवन निर्माणाधीन छ भने थकाइ मार्न विश्राम गृह निर्माण गरिएका छन्। आगामी दिनमा छुट्टै स्मोकिङ जोन, व्यवस्थित कफी र खाजा पसल, चटपटेलगायत फास्ट फुडका साना घुम्ती ठेलालाई समेत व्यवस्थित गर्ने लक्ष्य रहेको छ। हेटौँडा–१९ का वडाध्यक्ष नवराज सुवेदी भन्नुभयो, “अबको योजना त झन् पर्यटक लक्षित छ, पार्कभन्दा दक्षिणतर्फको राप्ती नदीको उकास जमिनमा पोखरी बनाएर पौडी खेल्ने सुविधा दिने हो भने यहाँ पर्यटकको घुइँचो नै लाग्छ।” 

डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख विष्णुप्रसाद आचार्यले यो पार्कलाई ‘ट्वाइलेट टुरिजम’ का रूपमा स्थापित गर्न चाहेको बताउनुभयो। हेटौँडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने बताउँदै शौचालयको सरसफाइका लागि हेटौँडा उपमहानगरपालिकाबाट एक जना सरसफाइ कर्मचारी उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो। सामुदायिक वनभित्र २३ कट्ठा क्षेत्रफलमा रहेको राजमार्ग हरित पार्क निर्माण गर्नका लागि हालसम्म करिब ४२ लाख रुपियाँ खर्च भइसकेको चनौटा सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष राजन सुवेदीले जानकारी दिनुभयो।