• ११ वैशाख २०८१, मङ्गलबार

मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपण सुस्त

blog

काठमाडौँ, साउन १४ गते । मस्तिष्क मृत्युसम्बन्धी कानुन बनेको सात वर्ष बितिसक्दा पनि मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपण उल्लेख्य रूपमा हुन सकेको छैन । नेपालमा मस्तिष्क मृत्युबाट हालसम्म १० जनाको मिर्गौला प्रत्यारोपण र तीन जनाको कलेजो प्रत्यारोपण भएको छ । विदेशमा भने ८० प्रतिशत अङ्ग प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हुने गरेको छ । 

शनिबार सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले तयार गरेको मस्तिष्क मृत्यु तथा अङ्गदानसम्बन्धी वृत्तचित्र ‘पुनर्जन्म’ प्रदर्शनी कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मस्तिष्क मृत्युपछि हुने अङ्ग प्रत्यारोपणका लागि जनचेतनाको खाँचो रहेको बताउनुभयो । उहाँले कानुन बनेर मात्र नहुने भन्दै त्यसलाई कार्यान्वयनका लागि सबै पक्षको समन्वय हुनुपर्ने बताउनुभयो । स्वास्थ्यमा दरबन्दी थप गर्नुपर्ने अवस्था रहेको भन्दै मन्त्री बस्नेतले २२ वर्षअगाडि ३३ हजार दरबन्दी रहेकामा अहिले घटेर ३१ हजारमा झरेको जानकारी दिनुभयो ।  

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपालमा वार्षिक एक हजार जनाको ‘ब्रेन डेथ’ हुने गरेको जानकारी दिँदै त्यस अनुसार अङ्ग प्रत्यारोपण हुन नसकेको बताउनुभयो । दैनिक तीन जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको उल्लेख गर्दै उहाँले मस्तिष्क मृत्युबाट हुने अङ्ग प्रत्यारोपणलाई बढाउन जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा वर्षमा तीन हजार जनाको मिर्गौला र एक हजार जनाको कलेजो काम नलाग्ने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । 

प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले मिर्गौला रोगमा क्रसम्याच नमिलेर छट्पटिएका बिरामी धेरै रहेको बताउनुभयो । उहाँले भक्तपुरमा एउटै प्राङ्गणमा तीन अस्पताल रहेको भन्दै तीन वटा अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गरिने बताउनुभयो । मिर्गौला प्रत्यारोपित मिलन श्रेष्ठले आफू सानै हुँदा मिर्गौलाले काम नगर्ने भएपछि विद्यालयसमेत जान नसकेको भन्दै उहाँले १५ वर्षको हुँदा प्रत्यारोपण गरेको मिर्गौला हाल २१ वर्ष हुँदासम्म स्वस्थ रहेको बताउनुभयो ।