बढ्दो जनसाङ्ख्यिक चुनौती

Binod nepalविनोद नेपाल

वर्तमान विश्व जनसङ्ख्याको चुनौती सामना गरिरहेको छ । जनसङ्ख्या वृद्धि विश्वको साझा समस्या हो । जनसङ्ख्या वृद्धिसँगै आवश्यक खाद्यान्न, आवास, शिक्षा, स्वास्थ्य, रोजगारी आदि उपलब्ध गराउनु चुनौतीपूर्ण हुँ्दै गएको छ । संयुक्त राष्ट्रसङ्घद्वारा हालै सार्वजनिक एक प्रतिवेदनका अनुसार विश्वको जनसङ्ख्या तीव्र गतिमा बढिरहेको छ । प्रतिवेदनमा सन् २०५० सम्म विश्वको जनसङ्ख्या दुई अर्ब बढेर हालको सात अर्ब ७० करोडबाट नौ अर्ब ७० करोड पुग्ने उल्लेख छ । विश्वको जनसाङ्ख्यिक प्रवृत्ति तथा सम्भावनाको एक व्यापक एवं विस्तृत चित्र प्रस्तुत गरेको सो प्रतिवेदनका अनुसार यस शताब्दीको अन्त्यसम्म विश्वको जनसङ्ख्या करिब ११ अर्ब पुग्नेछ । यस शताब्दीको अन्त्यसम्म भारतको जनसङ्ख्या एक अर्ब ५० करोड पुग्ने उल्लेख छ भने चीनको जनसङ्ख्या एक अर्ब १० करोडमा सीमित हुने जनाइएको छ । सन् २०२७ सम्म भारतको जनसङ्ख्या विश्वमा सबैभन्दा बढी हुनेछ भने चीनको जनसङ्ख्यामा २ दशमलव २ प्रतिशत या करिब तीन करोड १४ लाखको कमी आउनेछ । चीनको जनसङ्ख्या नियन्त्रण गर्ने पछिल्लो नीतिको कारण यस्तो हुने भएको हो ।
राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्अन्तर्गत जनसङ्ख्या सम्बन्धित एकाइको तर्फबाट हालै सार्वजनिक विश्व जनसङ्ख्याको स्थिति र सम्भावना सम्बन्धित सो प्रतिवेदनमा उल्लेख गरिए अनुसार २०५० सम्म विश्वको आधाभन्दा बढी जनसङ्ख्या वृद्धि नौ देशमा हुनेछ । यी देश भारत, नाइजेरिया, पाकिस्तान, कङ्गो, इथियोपिया, तान्जानिया, इन्डोनेसिया, इजिप्ट र अमेरिका हुनेछन् । कतिपय देशलाई बुढो हुँदै गएको जनसङ्ख्याले चुनौती सिर्जना गर्न सक्ने अनुमान पनि गरिएको छ । केही मुलुक भने जन्मदरमा आएको ह्रासबाट चिन्तित हुन थालेका छन् । प्रतिवेदनका अनुसार सन् २०१० पछि २७ देश र क्षेत्रले आफ्नो जनसङ्ख्याको आकारमा एक प्रतिशत या सोभन्दा बढीको गिरावट ल्याएको पाइएको छ । यो ह्रास प्रजनन क्षमतामा भएको ह्रासका कारण आएको हो । सन् २०१९ र २०५० का बीच ५५ मुलुक तथा क्षेत्रमा जनसङ्ख्यामा एक प्रतिशत वा सोभन्दा बढीका दरले कमीको अनुमान गरिएको छ । यसमध्ये २६ मुलुकमा १० प्रतिशतसम्मको कमी आउन सक्छ । प्रतिवेदनमा बसाइँसराइ केही देशमा जनसङ्ख्यामा परिवर्तनको एक प्रमुख कारण बनेको पनि उल्लेख छ । सन् २०१० देखि २०२० का बीच चौध देश या क्षेत्रमा १० लाखभन्दा बढी प्रवासी जाने अनुमान प्रतिवेदनमा गरिएको छ ।
सर्वाधिक जनसङ्ख्या भएका मुलुक
हाल चीनमा विश्वको १९ प्रतिशत र भारतमा १८ प्रतिशत जनसङ्ख्या छ । सन् २०१९ देखि ५० सम्ममा भारतमा २७ करोड ३० लाख जनसङ्ख्या बढ्ने अनुमान छ । भारतमा प्रति महिला प्रजनन दर २.२ छ । भारतमा सन् २०५० पछि बालबालिकाको भन्दा ज्येष्ठ नागरिकको सङ्ख्या अधिक हुनेछ र त्यहाँको हरेक पाँचौँ व्यक्ति ज्येष्ठ नागरिक हुनेछ । आज भारत ठूलो युवा जनशक्ति भएको मुलुकको रूपमा परिचित छ तर अब भने यो चीनपछिको सबैभन्दा बढी ज्येष्ठ नागरिक भएको मुलुकमा परिणत हुनेछ । भारतमा सन् २०५० मा साठी वर्षभन्दा बढी उमेरको जनसङ्ख्या ३० करोड अर्थात् कुल जनसङ्ख्याको झण्डै २० प्रतिशत हुनेछ । जब कि सन् २०११ को जनगणना अनुसार यो केवल ८ दशमलव ६ प्रतिशत छ । सङ्ख्याको हिसाबले यो १० करोड ४० लाख हो । २०११ मा २९ दशमलव ५ प्रतिशत रहेको बालबालिकाको सङ्ख्या सन् २०५० मा पुग्दा केवल १९ प्रतिशत रहनेछ । त्यसपछि पनि यसमा ह्रास आउने क्रम जारी रहनेछ । अहिले विश्वको कुल जनसङ्ख्यामध्ये १२ प्रतिशत ज्येष्ठ नागरिक छन् ।
सन् २०५० मा विश्वको जनसङ्ख्या नौ अर्ब नाघ्ने र यसमा ६० वर्षमाथिको उमेरको जनसङ्ख्याको हिस्सा २२ प्रतिशत हुनेछ । स्वास्थ्यसम्बन्धी चेतना तथा स्वास्थ्य सुविधामा भएको वृद्धिसँगै विश्वमा ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै गएको छ । राष्ट्रसङ्घका अनुसार विश्वमा ६५ वर्षभन्दा माथिका मानिसको सङ्ख्या अहिले पनि पाँच वर्षभन्दा कम उमेरका शिशुको भन्दा अधिक छ । सन् २०१९ मा प्रत्येक ११ मध्ये एक व्यक्तिको उमेर ६५ वर्षभन्दा बढी छ ।
जनसङ्ख्या वृद्धिका चुनौती
जनसङ्ख्याको वृद्धिले विभिन्न किसिमका चुनौती उत्पन्न गरिरहेको छ । जस्तो कि, गरिबी, भोकमरी, कुपोषण, असमानता, शिक्षा र स्वास्थ्यसम्म पहुँचको अभाव आदि । जनसङ्ख्या बढ्दै जाँदा यस्ता चुनौतीमा वृद्धि हुँदै जान्छ । यसले गर्दा सामाजिक असन्तोष र हिंसा तथा अपराध आदिमा पनि वृद्धि हुन सक्छ । यसका अतिरिक्त पछिल्लो समय विश्वले भोगिरहेको समस्या हो जलवायु परिवर्तन, बढ्दो तापक्रम र पर्यावरणीय समस्या । यसो हुनुको कारण हो प्राकृतिक स्रोत साधन र संसाधनहरूको अनियन्त्रित दोहन, जसले प्राकृतिक सन्तुलन खल्बल्याएको छ । पारिस्थितिकीय प्रणाली प्रभावित गरेको छ । यसैको असर अतिवृष्टि, अनावृष्टि, आँधी, हुरीलगायत विभिन्न किसिमका मौसमी समस्या र सँगसँगै रोगव्याधी आदि पनि देखा परिरहेका छन् । यसले कृषि उत्पादन, पशुपक्षी र वनस्पति एवं समुद्र र समुद्री जीवलाई समेत प्रभावित पारेको छ । जनसङ्ख्याको व्यवस्थापनमा चुक्दा वा उचित व्यवस्थापनको अभावमा समस्या उत्पन्न हुन्छ । यस सन्दर्भमा चीनलाई उदाहरणका रूपमा हेर्नुपर्छ । विगत केही समयमा चीनले गरिबी तथा बेरोजगारी जस्ता समस्यासँग जुध्न र समस्याको सामना गर्न निकै ठूलो प्रयास गरेको तथा राम्रै सफलता पनि पाएको मानिन्छ । यतिमात्र होइन, चीन यसप्रति पनि सजग छ कि जनसङ्ख्या अझ बढ्यो भने त्यो मुलुकका लागि निकै ठूलो बाधा पनि बन्नेछ । यसैले उसले जनसङ्ख्या नियन्त्रणका लागि पनि सक्दो प्रयास गरिरहेको छ, सँगसँगै जनसङ्ख्या व्यवस्थापनप्रति ऊ गम्भीर छ ।
गरिब मुलुकमा जनसङ्ख्या तीव्र गतिमा बढिरहेको छ । यसो हुनुको कारण गरिबी, अशिक्षा एवं चेतनाको अभाव हो । अब वातावरणीय असन्तुलन, विश्वव्यापी तापमान वृद्धि र बढ्दो जनसङ्ख्याबीच तालमेल एवं भावी पुस्ताका लागि समेत सुरक्षित राख्नका लागि नयाँ ढङ्गबाट सोच्न विश्वकै अग्रसरता आवश्यक छ ।

(लेखक राष्ट्रिय वाणिज्य बैङ्कका  पूर्वकर्मचारी हुनुहुन्छ । )

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds